डिज्नेविरुद्ध जोन्सनको मुद्दा

न्युयोर्क । ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट जोन्सनले आफू अभिनीत चलचित्रका वितरकविरुद्ध मुद्दा हालेकी छन् । उनले सम्झौताअनुसार चलचित्र प्रदर्शन नगरेको जिकिर गर्दै डिज्ने कोलाई मुद्दा दायर गरेकी हुन् । अभिनेत्री जोन्सनको चलचित्र हलसँगै डिज्नेको स्ट्रिमिङ साइट डिज्ने प्लसमा समेत प्रदर्शन भएको थियो । मार्भलको ‘ब्ल्याक विडो’ हलसँगै स्ट्रिमिङ साइटमा रिलिजमा कयौं चलचित्रमध्ये एक थियो ।

जोन्सनले स्ट्रिमिङ साइटको व्यापार बढाउन हल प्रदर्शनमा सम्झौता गरिएको भन्दै असन्तुष्टि भएकी हुन् । उनले दर्ता गरेको मुद्दामा भनिएको छ, ‘मार्भलसँगको सम्झौताका बखत चलचित्रलाई राम्रोसँग प्रदर्शन गर्ने भनिएको थियो तर, डिज्नेले हस्तक्षेप गरेर राम्ररी प्रदर्शन नै हुन पाएन ।’
अभिनेत्री जोन्सनले मुद्दामा डिज्नेले जानी जानी बजार पूरै नखुल्दै चलचित्र प्रदर्शन गरेको र यसो गर्नुको उद्देश्य डिज्ने प्लसको व्यापार बढाउने रहेको जिकिर गरेकी छन् ।

मुद्दाका बारेमा प्रतिक्रिया दिँदै डिज्नेका प्रवक्ताले जोन्सनले मुद्दा मामिला गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । डिज्नेका अनुसार जोन्सनसँगको सम्झौताअनुसार नै चलचित्र रिलिज गरिएको हो । साथै अभिनेत्री जोन्सनले सम्झौताअनुसार थप २० मिलियन अमेरिकी डलर बराबरको रकमसमेत लगिसकेको डिज्नेले जनाएको छन् । केही दिनअघि मात्रै जोन्सनले मार्भलको चलचित्रमा नदेखिने घोषणा गरेकी थिइन् । त्यसको केही दिनमै उनले डिज्नेविरुद्ध मुद्दा दायर गरेकी छन् ।

प्रतिक्रिया