अलमुताइरीलाई प्रशिक्षण दिनबाट रोक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को निर्णय नभएसम्मका लागि मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण दिनबाट रोक लगाएको छ । एन्फाले राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायलाई आइतबार पत्र लेख्दै अर्को निर्णय नभएसम्म अलमुताइरीलाई प्रशिक्षण नगराउनका भनिएको एन्फा प्रवक्ता किरण राईले बताए । अलमुताइरी र एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङबीचको विवादपछि मात्रै एन्फाले अर्को निर्णय लिने बताएको छ ।

एन्फाको केन्द्रिय कार्यसमितिको शुक्रबार बसेको आपतकालीन बैठकले विवादका विषयमा छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । त्यहि अनुसार मन्त्रालयलाई पनि पत्र लेखिएको राईले जानकारी दिए । सोमबारदेखि नै राष्ट्रिय टोलीलाई प्रशिक्षण गराउन छाडेका अलमुताइरी शनिबार राष्ट्रिय टोली सम्मिलित खेलाडीको मैत्रीपूर्ण खेल खेल्नका लागि भने एन्फा पुगेका थिए । पुजन उपरकोटी प्रशिक्षक रहेको टोली विरुद्ध नितिन थापाको टोलीबाट अलमुताइरीले खेलेका थिए ।

एन्फाले प्रशिक्षण दिनबाट रोक लगाउने भनेपनि राष्ट्रिय टोलीको प्रशिक्षण केहि समय रोकिएको छ । अब टोलीले १० दिनपछि पोखरामा प्रशिक्षण गर्ने तयारी छ । यता अलमुताइरीेले भने एन्फामा दिएको निवेदनमा नै अगष्ट १० सम्म छानविन नभए एन्फाकै अनुरोधमा स्थगित राजीनामा प्रक्रिया पूरा गरेर देश छोड्ने जनाएका छन् ।

असार ७ गते दुई सञ्चारकर्मी र अलमुताइरीबीच विवाद भएको थियो । दुई सञ्चारकर्मीलाई आफू विरुद्ध लगाएको भन्ने आरोप अलमुताइरीले लगाएका छन् । अलमुताइरी असार १० गते फेसबुकमा समर्थकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए । उनले राजीनामा दिनुपर्ने कारण नेम्बाङ रहेको लेखेका थिए ।

तर, अलमुताइरीसँग व्यक्तिगत रुपमा भेटघाट समेत नभएको, म्यासेन्जरमा केहि पटक कुराकानी भएको उल्लेख गर्दै नेम्बाङले आफने चरित्र हत्या गरेको आरोप लगाएका थिए । सञ्चारकर्मी र नेम्बाङले अलमुतारीविरुद्ध छानबिनको माग गरेका छन् । अलमुताइरीले पनि नेम्बाङ र सञ्चारकर्मीविरुद्ध छानबिनको माग गर्दै एन्फामा निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया