कर नतिर्ने कम्पनीमा महानगरले ताला लगाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र रहेका ठूला करदातामध्ये कर नतिर्ने कम्पनीमा ताला लगाउने भएको छ । महानगरले ठूला कम्पनीलाई तीन दिनभित्रमा कर बुझाइसक्नु पर्ने म्याद थप गरेको थियो । उक्त म्यादमा पनि कर नबुझाए कम्पनीमा ताला लगाउने चेतावनीसहित पत्राचार गरेको थियो । महानगरले गत बुधबार पाँच वर्षदेखि कर नबुझाउने २० वटा करदाता कम्पनीको नाम सार्वजनिक गर्दै कर तिर्न पत्राचार गरेको थियो । कर नबुझाउने कम्पनीहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायु हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एन.आर टी क्लब, युनाइटेड वल्ड ट्रेड सेन्टर, वागमती च्याम्बर, बुद्धबारी कम्पलेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्प्लेक्स, नेपाल रेडक्रस सोसाइटी, कृषि सामग्री संस्थान, एलआर आई बोर्डिङ स्कुल, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, शुभश्रीको अपरेटिभ लिमिटेड, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, गोपालजी पोपर्टिज प्रालि र स्टार मल छन् ।

महानगर राजस्व विभागका अनुसार आज बेलुकीसम्म यी मध्ये केही कम्पनीले कर बुझाउछौँ भनेका छन् । विभागका प्रमुख डा. शिवराज अधिकारीले कर नबुझाउने करदाताहरुको कम्पनीमा आज बेलुका ताला लगाउने जानकारी दिए । ‘हामीले तीन दिन भित्रमा कर बुझाउन पत्रचार गरेका थियौँ तर अहिलेसम्म करदाताहरु बुझाउने तरखरमा देखिएका छैनन्,’ उनले भने, ‘कर नबुझाउने करदाता कम्पनीहरुमा आज साँझ ४ बजेतिर ताला लगाउँछौँ । कतिपय करदाताहरुले त झन् कम्पनी सञ्चालनमा ल्याएदेखि नै कर बुझाएका छैनन् ।’ अधिकारीका अनुसार पाँचवर्ष अवधिको करिब ७० करोड भन्दा बढी कर उठाउन बाँकी छ । ‘करदाताहरुलाई तीन दिनभित्र कर बुझाउन भन्दै माइकिङ पनि गरिसकेका छौँ । हामीले गरेको ताकेता अनुसार करदाताको कम्पनीमा ताल्चा लगाउने भएका हौँ । यस अघि हामीले चेतावनी मात्रै दिएका थियौँ । अब आज चाँहि ताल्चा नै लगाएर सिलबन्दी गर्दैछौँ,’ उनले भने ।

आफूहरुले कोरोना महामारीका कारण करदाताहरुलाई समस्यामा नपारेको उनको डा. अधिकारीको दाबी छ । ‘यी करदाताहरुले नटेरेर कर तिर्नै नमान्दा ताला लगाएर सिलबन्दी नै गर्नुपरेको हो । महानगरका नगरप्रहरी, नेपाल प्रहरी लगाएर आजै ताला लगाइदिन्छौँ,’ डा. अधिकारीले भने, ‘पटक पटक सूचना जारी गर्दा पनि करदाताहरुले कर तिर्नै मानेनन् ।’

प्रतिक्रिया