भारतविरुद्ध श्रीलंकालाई सिरिज

कोलम्बो । श्रीलंकाले भारतसँगको तीन टि२० आई सिरिज २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिज जित्न सफल भएको हो । जितको लागि ८२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंका धनन्जय डि सिल्भा २० बलमा २ चौका सहित २३ रनमा अविजित रहे । वानिन्दु हसरंगा ९ बलमा १ चौका सहित १४ रनमा अविजित रहे । ओपनर अविष्का फ्रेनान्डोलाई स्पिनर राहुल चाहरले १२ रनमा कट एण्ड बोल्ड आउट गरे । मिनोद भानुकालाई चाहरले १८ रनमा एलबिडब्लू आउट गरे । मिनोदले २७ बलमा १ चौका प्रहार गरे । सदिरा समराविक्रमलाई चाहरलेनै ६ रनमा बोल्ड आउट गरे ।
भारतका स्पिनर राहुल चाहरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको भारत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८१ रन बनाएको थियो । भारतका कुलदीप यादवले सर्वाधिक २८ बलमा २३ र तीव्र गतिका बलर भुवनेश्वर कुमारले ३२ बलमा १६ रन जोडेका थिए । भारतको यो टि२० आई इतिहासको तेस्रो कम योगफल हो । भारतको टि२० आईमा सर्वाधिक कम योगफल सन् २००८ मा अष्ट्रेलियाविरुद्ध ७४ रन थियो । २०१६ मा न्युजिल्यान्डविरुद्ध ७९ अल आउट भएको थियो ।

पहिलो ओभरको चौथो बलमा कप्तान शिखर धवन शून्यमा क्याच आउट भएका थिए । धवन तीव्र गतिका बलर दुश्मन्था चामिरा बलमा धनन्जय डि सिल्भाबाट क्याच आउट हुन पुगे । चौथो ओभरको अन्तिम बलमा बायाँ हाते युवा ब्याट्सम्यान देवदत्त पाडिक्कललाई रमेश मेन्डिसले ९ रनमा एलबिडब्लू आउट गरे । पाडिक्कलले १५ बलमा १ चौका प्रहार गरे ।

चार बलपछि विकेटकिपर सन्जु स्यामसनलाई स्पिनर वानिन्दु हसरंगाले शून्यमा एलबिडब्लू आउट गरेपछि भारत संकटमा परेको थियो । वानिन्दुले एक बलपछि ओपनर ऋतुराज गायकवाडलाई १४ रनमा एलबिडब्लू आउट गरेका थिए । ऋतुराजले १० बलमा २ चौका प्रहार गरे ।
कप्तान दासुन शनाकाले नवौं ओभरको अन्तिम बलमा नितिश राणालाई ६ रनमा कट एण्ड बोल्ड आउट गरेपछि भारत ३६–५ को संकट अवस्थामा पुगेको थियो । पाँच ब्याट्सम्यानका साथ मैदान उत्रेको भारत एक समय आफ्नो टि२० आई इतिहासको कम योगफलमा समेटिने डर बढेको थियो । तर कुलदीप र भुवनेश्वर कुमारले त्यो संकट टारेका थिए ।

छैटौं विकेटका लागि भुवनेश्वर कुमार र कुलदीप यादवले ३५ बलमा सर्वाधिक १९ रनको साझेदारी गरेका थिए । राहुल चाहर पाँच र बरुणचक्रबर्ती शून्य मा आउट भए । चेतन सकारिया ५ रनमा अविजित रहे । भारतबाट बाउन्डीको रुपमा चार चौका मात्र प्रहार भएको थियो ।
श्रीलंका स्पिनर वानिन्दु हसरंगा ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । वानिन्दुको टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । दासुन शनाकाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दुश्मन्था चामिरा र रमेश मेन्डिसले एक एक विकेट लिए । भारत पहिलो खेलमा ३८ रनले विजयी हुँदा दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो । तीन ओडिआई सिरिज भारतले २–१ ले जितेको थियो । भारतको पहिलो रोजाईको टोली इंग्ल्यान्डमा छ । इंग्ल्यान्डसँगको पाँच टेस्ट सिरिज अन्तर्गत पहिलो खेल खेल चार अगष्टमा सुरु हुने छ ।

प्रतिक्रिया