भाषा परिक्षा उत्तिर्ण कामदार छिट्टै कोरिया तर्फ

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोग सुकीले भाषा परिक्षा उत्तिर्ण भई अहिलेसम्म जान नपाएर रोकिएको ईपीएसको काम अघि बढाउने आश्वासन दिएका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा उनले यस्तो आश्वासन दिएका हुन् । भेटको अवसरमा अर्थमन्त्री शर्माले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जान नपाएका प्रशिक्षार्थी कामदारलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउदै अर्थमन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरे ।

‘ईपीएस अन्तरगत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं नेपाली युवा बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’ मन्त्री शर्माले भने । अर्थमन्त्री शर्माको आग्रह पछि कोरियन राजदुत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने आश्वासन दिएका हुन् । नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियन रोजगारदाता खुशी रहेको प्रसंग उल्लेख गर्दै उनले कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टर सूचिको पालोमा बसेका प्रशिक्षार्थी कामदारलाई जतिसक्दो छिटो काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए।

सोही भेटको क्रममा अर्थमन्त्री शर्माले अहिले यहाँ कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियन सरकार र त्यहाँको नागरिकको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे ।

हालसम्म कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिटेक्निक कलेजको स्थापना गर्दैछ । अब सोे कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ । यसैगरि, मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोशिस गरिने बताए । कोरियन राजदुत पार्कले कोरियन लगानी रहेको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाइबारे समेत चासो राखे । यसैगरि, उनले सो आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको धारणा राखे ।

प्रतिक्रिया