राष्ट्रिय कीर्तिमान बनाएपछि खुसी गौरिका

टोकियो । ओलम्पिकका दौरान लङ कोर्स (५० मिटरको पौडी पोखरी) मा १ सय मिटर फ्रिस्टाइलको राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा बुधबार गौरिका सिंहले खुसी व्यक्त गरेकी छिन् । डेढ वर्ष अघि स्वदेशमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) ४ स्वर्णसहित ९ पदक जित्दै कीर्तिमान बनाएकी गौरिकाले टोकियो ओलम्पिकको १ सय मिटर फ्रिस्टाइल हिट १ मिनेट ०.११ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् । ४ खेलाडी सम्मलित हिटमा गौरिका तेस्रो भएकी थिइन् ।

यसअघि लङ कोर्षमा पनि उनकै नाममा १ मिनेट ०.६२ सेकण्डको कीर्तिमान थियो । सन् २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा गौरिकाले त्यो कीर्तिमान राखेकी थिइन् । १३ औं सागमा उनले १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी थिइन् । सर्ट कोर्स (२५ मिटर) मा उनले ५८.१३ सेकेन्डको कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । उनले त्यसबेला स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई पनि पछि पारेकी थिइन् ।

त्यसयता निरन्तर प्रशिक्षणमा रहेकी उनले युनिभार्सालिटि प्लेसेसको आधारमा लगातार दोस्रोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् । कोरोना संक्रमणका कारण भने उनको तयारीमा निकै असर परेको थियो । उनले यसबीचमा नेपाल आएर पनि प्रशिक्षण गरेकी थिइन् । ‘खुसी लागेको छ । अलिक थकाई पनि लागेको छ,’ प्रतिस्पर्धा सकिएपछि उनले भनिन्, ‘आनन्द भयो। राम्रो स्वीम गर्न सकेकोमा ।’ उनले कुनै समय लक्ष्य विनानै खेलेको बताएकी छिन् । ‘जति सक्दो राम्रो गर्ने भन्ने मेरो प्रयास थियो । यतिमै सक्छु भन्ने थिएन’, हाँस्दै उनले भनिन्,‘ कुनै खेलाडीलाई लक्ष्य लिएर खेल्दा राम्रो हुन्छ । म चाहिँ सकेको राम्रो गर्ने कोशिस गर्छु ।’

कोभिड महामारीका कारण पछिल्लो एक वर्षमा ८ महिना अभ्यास गर्न नपाएको जनाउँदै गौरिकाले लङ कोर्समा भन्दा आफूलाई सर्ट कोर्समा प्रतिस्पर्धा गर्न सहज लाग्ने बताइन् । उनले भनिन् ‘लङ कोर्समा प्रशिक्षण गर्दा राम्रो हुन्थ्यो होला त्यो भन्न मिल्दैन।’ उनले आफूलाई मनपर्ने ५० मिटर ब्याकस्ट्रोक स्पर्धा ओलम्पिकमा नहुने पनि जानकरी दिइन् । तीन सातापछि अध्ययनका लागि अमेरिका जाने क्रममा रहेकी गौरिकाले लण्डन फर्कने बताइन् । ‘अब तीन सातामा अमेरिका जान्छु । त्यसैले परिवारसँग बस्छु, ‘उनले थपिन्‘ अबको लक्ष्यबारे उता गएपछि नयाँ प्रशिक्षकसँग सल्लाह गरेपछि मात्र कुन कसरी खेल्ने भन्ने हुन्छ ।’

यसअघि मंगलबार पौडीकै एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । एलेक्सले अर्को चरणमा भने स्थान बनाउन सकेनन् ।

एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई पछि पारे । १३ औं दक्षिण एसियाली खेलकुदमा यसै विधामा स्वर्ण जितेका श्रीलंकाका म्याथ्यु अबेसिंघेले ५०.६२ सेकेन्डमा पूरा गरे । समग्रमा ४८.४४ सेकेन्डभन्दा कम समयमा पूरा गर्नेले सेमिफाइनलमा स्थान बनाए । नेपालबाट यसअघि शनिबार दुई खेलाडीको चुनौती पहिलो चरणमा नै समाप्त भएको थियो । जुडोकी सोनिया भट्ट ४८ केजी तौल समूहमा र सुटिङकी कल्पना परियार १० मीत्र एयर राइफलमा प्रतिस्पर्धा गर्दै नेपाल फर्किसकेका छन् । कल्पनाले राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी थिइन् । एथलेटिक्सकी सरस्वती चौधरीले शुक्रबार १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया