अष्ट्रेलियालाई सिरिज, स्टार्क सर्वोत्कृष्ट

सिड्नी । अष्ट्रेलियाले वेस्टइन्डिजविरुद्ध तीन ओडिआई सिरिज २–१ ले जितेको छ । मंगलबार बिहान तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ६ विकेटको सहज जित निकाल्दै अष्ट्रेलियाले सिरिज जितेको हो । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३०.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलिया मध्यक्रमका ब्याट्सम्यान म्याथ्यु वेड ५२ बलमा ५ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे । एश्टन अगर ३३ बलमा ३ चौका सहित १९ रनमा अविजित रहे ।

अष्ट्रेलिया ओपनर जोश फिलिपे १० र मोइजेस हेनरिक्स १ रनमा आउट भएका थिए । कप्तान एलेक्स केरी ५० बलमा ३ चौका सहित ३५ रन जोड्दै जुनियरको बलमा एलबिडब्लू आउट भए । आक्रामक ब्याटिङ गर्नेक्रममा मिचेल मार्श २१ बलमा १ चौका र ३ छक्का सहित २९ रनमा क्याच आउट भएका थिए । वेस्टइन्डिजका शेल्डन कटरेल, अकिल हुसैन, हेडेन वाल्श जुनियर र अल्जारी जोशेफले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ४५.१ ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो । ओपनर ईविन लेविस ६६ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रनमा अविजित रहे । लेविसले एकतर्फबाट रन जोड्दा अर्कोतर्फबाट भने लगातार विकेट गुम्न पुगेको थियो ।

एश्टन अगरले शाई होपलाई १४ रनमा मिचेल मार्शबाट क्याच आउट गराएका थिए । निकोलस पुरन ३ रनमा एश्टन टर्नरको बलमा बोल्ड आउट भए । अर्का युवा ब्याट्सम्यान शिम्रन हेटमायरलाई जोश हेजलवुडले ६ रनमा बोल्ड आउट गरे । ड्यारेन ब्राभो १८, कप्तान काइरन पोलार्ड ११, जेसन होल्डर ५, अल्जारी जोशेफ १५, जुनियर ७ र अकिल हुसैन ३ रनमा आउट भए । अष्ट्रेलिया मिचेल स्टार्कले ९.१ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा १ मेडन सहित १८ रन खर्चेर २ विकेट लिएका थिए । एश्टन अगर र एडम जाम्पाको नाममा २–२ विकेट रह्यो । एक विकेट एश्टन टर्नरले लिएका थिए । स्टार्क प्लेयर अफ द सिरिज चुनिए । एश्टन अगर प्लेयर अफ द म्याच चुनिए । स्टार्कले पहिलो खेलमा पाँच, दोस्रो र तेस्रो खेलमा ३–३ विकेट लिएका थिए । समग्रमा ३ खेलमा ११ विकेट लिए ।

अष्ट्रेलिया पहिलो खेलमा १ सय ३३ रनले विजयी हुँदा दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो । पाँच टि२० आई सिरिज भने अष्ट्रेलियाले ४–१ ले गुमाएको थियो । अष्ट्रेलियाले अव पाँच टि२० आई सिरिजको लागि बंगलादेश भ्रमण गर्ने छ । पहिलो टि२० खेल ३ अगष्टमा हुने छ । वेस्टइन्डिजले घरेलु मैदानमा पाकिस्तानसँग चार टि२० र दुई टेस्ट खेल्ने कार्यक्रम छ । वेस्टइन्डिज र पाकिस्तानबीचको पहिलो टि२० बुधबार हुने छ ।

प्रतिक्रिया