सत्ताभन्दा मुलक, व्यवस्था र संविधान प्रधान

डा. बेदुराम भुसाल, नेता नेकपा एमाले

नेकपा एमाले यति बेला न फुट्ने न जुट्ने अवस्थामा छ । एकातिर पार्टी संस्थापन रूपमा चलेको छ भने अर्कोतर्फ समानान्तर कमिटीका रूपमा चलेका छन् । लामो समयदेखि पार्टी अध्यक्ष केपी शर्मा र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका बीचमा पार्टीभित्र द्वन्द्व चर्किएको छ । पार्टी भित्रको द्वन्द्वका कारण आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकार वरिष्ठ नेता नेपालको समूहका केही सांसद्को साथमा ढालेर कांग्रेसले सत्ता सम्हाल्ने अवसर पाएको छ । एकले अर्कालाई दोषारोपण गरिरहेको एमालेको अबको दिनमा असरी अगाडि बढ्ला ? यही सेरोफेरोमा एमाले नेता डा. बेदुराम भुसालसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादको सम्पादित अंश :

एमाले भित्रको देखिएको समस्या र अन्योलता कहिले समाप्त होला ?
समस्या यहि बेला समाधान हुन्छ भनेर ठ्याक्कै समय तोक्न सकिँदैन । राजनीतिमा यस्ता समस्या यहिबेला समाधान हुन्छ भन्ने हुँदैन । कहिले चाँडै चाँडै घटना घट्छन् कहिले लम्बिन्छ । एमालेभित्र कुरा मिल्दै गएका छिटो हुन सक्छ, बाझिँदै गयो भने लम्बिन सक्छ ।

अहिले देखिएको अन्योलताले नेता, पार्टी पंक्तिमा ठूलो निराशा जन्माएको छ । यसलाई कहिले अन्त्य गर्नुहुन्छ ?
हो पार्टीका विभिन्न तहमा रहेका नेता कार्यकर्तालाई पार्टीभित्र देखिएको अवस्था र दुवै पक्षका कार्यशैलीले नेता कार्यकर्तामा दुःखी बनाएको छ । पहिलो कुरा जनताले दिएको जनमतअनुसार पार्टीमा काम भएन । सबैभन्दा बढी कार्यकर्ता पंक्तिलाई त्यसले दुःखी बनाएको छ । यति ठूलो जनमत प्राप्त गर्दा पनि जनताको चाहनाअनुसार काम भएन भन्ने गुनासो छ । अर्को कुरा पार्टीभित्र जुन प्रकारको विवाद सिर्जना भयो त्यसले पनि निराशा बनाएको छ । त्यसको छिटोभन्दा छिटो निकास खोजिनुपर्छ । तर, समाधान खोज्न सबैभन्दा बढी चासो पार्टी अध्यक्षका हैसियतले कमरेड केपी ओलीले लिनुपर्ने हो । त्यो संकेत उहाँले दिनुभएको छैन । उहाँको अहंकार अहिले पनि जारी छ । बाहिर मिलेर जाने भन्ने तर मिल्ने कुरा नगर्ने र नमिल्न प्रेरित गर्ने खालका भाषा प्रयोग गर्ने उहाँमा देखिएको छ ।

पार्टी अध्यक्षले तपाईंहरूलाई आममाफी दिने भन्नुभएको छ । कम्युनिस्ट पार्टीभित्र आममाफी हुन्छ ?
पहिलो कुरा कम्युनिस्ट पार्टीभित्र आममाफी हुँदैन र दोस्रो कुरा अहिलेको समस्याको सिर्जक केपी ओली नै हो । आममाफी दिने होइन, उहाँले माग्ने हो ? पार्टीेमा नाममा अहिलेसम्मका भएका सबै कार्यका लागि उहाँले पार्टी पंक्ति र जनतासँग माफी माग्नुपर्छ । उहाँले नै हो सरकार र पार्टी चलाउन नसकेको कार्यकर्तासँग मैले पार्टी चलाउन सकिन भनेर माफी माग्नुपर्ने हो । त्यत्रो बहुमतको सरकार चलाउन सक्नुभएन । अरूलाई दोष दिएर उम्कन पाउनुहुन्न उहाँ । नेतृत्वले त अरू भाग्न खोजे पनि सबैलाई समातेर समेटेर लान सक्नुपर्ने हो उहाँले त्यसो गर्नु भएन । दोस्रो कुरा माओवादीसँग पार्टी एकता किन गर्नुभयो र विभाजन किन गर्नुभयो ? जवाफ दिनुपर्छ ।

एकता र विभाजनको दोष अध्यक्षलाई मात्रै दिएर हुन्छ ?
माओवादीसँगको पार्टी एकताको विषय पार्टीमा छलफल नै भएन । सबै सहमति गरेर अन्तिममा जानकारी मात्रै गराउनुभएको हो । त्यसमा पनि प्रधानमन्त्रीको पद आधाआधा समय भनेर सहमति गर्नुभएको रहेछ । ती कति जायज थिए उहाँले महसुस गर्नुपर्छ । आफूले गरेको गल्तीको महसुस नगर्ने उल्टै अरूलाई दोष थोपर्ने काम भएको छ । अहिले अरूलाई आममाफी दिने रे ! उहाँलाई चाहिँ कसले आममाफी दिने ? आफूले गरेको गल्ती कमजोरीप्रति आत्मआलोचित हुनुपथ्र्यो त्यो पनि गर्नु भएन । उहाँका कार्यशैलीले मनैदेखि पार्टी एकतावद्ध गरे लान चाहानुहोला र भन्ने प्रश्नमा आममाफी भन्ने शब्दले थप प्रश्न उब्जाएको छ । यसले एकता होइन, भाँजो हाल्न खोजेको हो कि भन्ने देखाउँछ ।

तपाईंहरू सुरुदेखिको ०७५ जेठ २ कै अवस्था पार्टीको चल्नुपर्छ भन्नुहुन्थ्यो । पार्टी अध्यक्षले जेठ २ मान्छु भन्नुभएको छ । उहाँले फर्कन चाहेको र तपाईंहरूले मागेको जेठ २ मा अन्तर के हो ?
यसमा ठूलो अन्तर छ । ७५ जेठ २ मा हाम्रो पार्टीको केन्द्रीय कमिटी २ सय ३ जनाको थियो । निर्वाचन आयोगमा रहेको नेकपा एमालेको अभिलेखमा त्यही छ । त्यो भन्दा बढी थप्न नेकपा एमालेको विधानले दिँदैन । कि त विधान संशोधन गर्नुपर्छ । पहिलो कुरा एमालेमा फर्कने हो भने त्यही फर्कनुप¥यो । जेठ तीन गते पुग्दा त नेकपाको कमिटी बनाउनका लागि ४५ जना कमरेड थपिए । त्यो एमालेको कमिटी बनाउनका लागि थपिएको होइन । नेकपा बनाउन थपिएको हो नेकपा विगठन भएसँगै त्यो रद्द भयो । तीनलाई व्यवस्थापन गर्ने बारेमा २ सय ३ सदस्य रहेको केन्द्रीय कमिटीमा छलफल गर्नुपर्छ । जस्तो उहाँले बनाएको आयोजक कमिटी खारेज गरिदियो । त्यो थपिएको कमिटी पनि खारेज हुन सक्छ । उहाँ जेठ २ मा फर्कन नचाहनु भनेको महाधिवेशनले पारित गरेको विधान अनुसार पार्टी चलाउन नचाहनु हो । हाम्रो आपत्ती त्यही हो । व्यक्तिका बारेमा हाम्रो आपत्ती होइन, सिस्टमका बारेमा हो । उहाँले पार्टीको विधान मान्नै चाहनु भएन । नेकपा हुँदा उहाँ अल्पमतमा हुनुहुन्थ्यो पार्टीको विधान मानेर चल्नुपर्ने थियो नी, चल्नु भएन । पार्टीको विधानअनुसार कहिल्यै बैठक बस्नु भएन । अहिले ठूला कुरा गर्नुहुन्छ । हामी विधान बाहिरबाट पार्टी चलाउने कुरामा सहमत छैनौँ । नेकपा एमाले हुनलाई पार्टीको नवौँ महाधिवेशनले पारित गरेको विधान, नीति, विचार र सिद्धान्तअनुसार चल्ने हो । यी सब गर्न उहाँ चाहानुहुन्न अन्तर यही हो ।


किन होला उहाँले त्यो नचाहेको ?
पहिलो कुरा नवौँ महाधिवेशनको निर्णयप्रति नै उहाँ असहमत हुनुहुन्थ्यो । महाधिवेशनमा उहाँका मत पास भएनन् । उहाँले नचाहेको मत महाधिवेशनले पास ग¥यो त्यसलाई पालना गर्न उहाँले चाहनु भएन । सरकारमा हुँदा पनि महाधिवेशनले पास गरेका कुनै कार्यनीति कार्यान्वयन गर्नुभएन । चुनावी घोषणापत्रका कुनै प्रावधानलाई जोडेर कार्ययोजना बनाउनु भएन । उहाँ राज्य सञ्चालन र पार्टी सञ्चालनमा विधिअनुसार चल्न चाहनु भएन । राज्य सञ्चालन गर्दा संविधान मिचेको मिच्यै गर्नुभयो । चाहे प्रतिनिधिसभा विगठनका कुरा होस, चाहे संवैधानिक निकायमा परिपूर्ति गर्ने विषय होस वा अरू क्षेत्रमा पनि उहाँ संविधानअनुसार चल्नु भएन । पार्टी सञ्चालनमा पनि पार्टीको नीति र विधिलाई सधैँ उल्लघन गर्नुभयो । उहाँलाई विधानअनुसार चल्नुपर्ला भन्ने डर छ ।

तपाईंको भनाइअनुसार अध्यक्षले केही पनि नमान्नुका कारण के होला ?
यसमा दुई÷तीन वटा कुरा छ । पहिलो कुरा उहाँमा मैले बोलेपछि त्यही नै सबै कुरा हो । मै सर्वे सर्वा हुँ, म नै सबै थोक हुँ, म नै विधान हुँ भन्ने दम्भ छ उहाँमा । त्यसलाई नै स्थापित गर्न चाहनुहुन्छ । दोस्रो, प्रतिनिधिसभा विगठनलाई जसरी पनि सदर गराउन किन खोज्नुभयो भने, पहिलोपटकको विगठन नै ठीक थियो फेरी गरे त्यो पनि ठीक हो भनेर अनुमोदन गराएर मेरा निर्णय ठीक थिए भन्न खोज्नुभएको थियो त्यसमा असफल हुनुभयो । आफ्ना अहमता देखाउँदा सबै सकिए पनि उहाँलाई मतलब छैन । जेठ २ भन्ने, तर जान नचाहने भनेको विधान मान्न नचाहेको हो ।

एकता एकता भन्ने पार्टी जुट्न पनि नसक्ने जुट्न पनि नसक्ने अहिलेको अवस्था कहिलेसम्म रहला ?
फुट्ने कुरा सजिलो होइन । जुटनलाई चाहि मैले माथि भनेको बाधाहरू छन् । केपी ओलीले ०७७ फागुन २८ गते गर्नुभएको निर्णयले उहाँले नै पार्टी विभाजन गर्नुभयो । त्यो दिन उहाँले महाधिवेशनका सम्पूर्ण निर्णयलाई खारेज गरी विधान उल्लंघन गर्नुभयो । एमालेको सदस्य नै नभएका बादल लगायतलाई पार्टीको जिम्मेवारी दिनुभयो । उनीहरूलाई पहिला पार्टी सदस्य बनाएर विधानअनुसार प्रक्रियामा जानु भएन । आफूले जे चाह्यो त्यो गर्दै महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई अपदस्त गरी अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउनुभयो । उहाँलाई त्यो अधिकार छैन । कि महाधिवेशन बोलाएर फेरी निर्वाचन गर्नुपर्छ त्यति बेला उहाँको पनि निर्वाचन हुन्छ । अर्को कुरा एमालेको विधानमा कुनै पनि पदाधिकारी रिक्त भएमा सम्बन्धित कमिटीले कार्यवाहक तोकेर काम सुरु गर्ने र सम्बन्धित तहको प्रतिनिधि परिषद्ले पूर्णता दिने भनेको छ । यस्तै सदस्य रिक्त भएमा सम्बन्धित कमिटीको दुईतिहाइ बहुमतले पूर्ति गर्ने भनेको छ । तर, उहाँले राजामहाराजाले हुकुम चलाए झैँ गरेर मान्छे राख्नुभयो ।

तपाईंले भने झैँ केही मान्दिनँ भनेर एकलौटी चल्ने उहाँका शैलीमा कुन चीजले काम गरेको ठान्नुहुन्छ ?
उहाँले नवौँ महाधिवेशनमा अध्यक्ष जित्नु भयो नी त्यसलाई संसार जितेँे अब मैले जे गरे पनि हुन्छ भन्ने ठान्नुभयो । यसअघि पनि महाधिवेशन भएका थिए । अरूले पनि जितेर पार्टी चलाए आफूले पनि हारेको थिएँ भन्ने कुरा बिर्सनुभयो । जितेको मैले मात्रै हुँ, अब जे गरे पनि हुन्छ भन्ने ठान्नुभयो र त्यसैअनुसार चल्न खोज्नुभयो त्यसैको परिणाम हो । उहाँले आफू अध्यक्ष भएरे पाँच वर्ष बितेको पनि बिर्सनुभयो चिज यही हुन् ।

पछिल्ला दिनमा बाहिरी चलखेलले पनि काम गरेको भन्ने आएको छ । त्यसमा के भन्नुहुन्छ ?
पहिलो कुरा आन्तरिक नै हो । जब उहाँमा व्यक्तिगत ढंगले चल्ने, विधान नटेर्ने काम सुरु भयो त्यसपछि अरू चलखेल थपिँदै गए । उहाँले हैकमवादी चरित्र देखाउन थालेपछि व्यक्तिगत रूपमा सबै हुन्छ संस्थागत निर्णय गर्नु पर्दैन भन्ने भएपछि अरूले खेले । त्यसको आधार भनेको नवौँ महाधिवेशनमा जसरी उहाँ अध्यक्ष जित्नुभयो त्यसले बनायो । लोकतान्त्रिक प्रक्रियाका नाममा निरंकुशता जन्माउने काम त्यो महाधिवेशनको निर्वाचन प्रक्रियाले पनि गरायो । कमिटी प्रणाली हुनपथ्र्यो व्यक्तिगत निर्वाचन प्रक्रियाले गलत गरायो । पुष्पलालले भन्नुहुन्थ्यो ‘नेता प्रधान होइन, नीति प्रधान हो, व्यक्ति प्रधान होइन, विचार प्रधान हो । हामीमा पनि विचारको ठाउँमा व्यक्ति प्रधान भए । त्यसमा पनि व्यक्तिका चरित्रले फरक पार्छ । झलनाथ पनि प्रत्यक्ष निर्वाचित हुनभएको थियो । तर, उहाँले त्यसले व्यक्तिगत रूपमा पार्टी चलाउन खोज्नुभएन ।

अहिले पार्टी एकताको कुरा जोडतोडले चलेको छ । फेरी ७५ जेठ २ अगाडिकै अवस्थामा एमाले एक हुने सम्भावना छ ?
सम्भावना अलि अलि छ । तर, अहिले आएर जेठ २ मा फर्कर मात्रै प्रयाप्त हुँदैन कि भन्नेछ । हामीले जेठ २ को कुरा फागुन ४ गते गरेका थियौँ । त्यहाँदेखि यता धेरै घटना घटेर परिस्थिति परिवर्तन भएका छन् । कम्युनिस्ट सिद्धान्तमा ठोस परिस्थितिको ठोस विश्लेषण हुन्छ । दुई पार्टी एक भएर आआफ्नो ठाउँमा फर्किएको बेला जेठ २ भनिएको हो । त्यस यता ६ महिनाको घटनाले त्यहाँ फर्कर सामाधान हुँदैन भन्ने देखाएको छ । देशव्यापी रूपमा दुई वटा संगठन छन् । त्यसको व्यवस्थापन कसरी गर्ने ? फेरी पनि हैकमवादी तरिकाले पार्टी चल्दैन । कम्युनिस्ट आन्दोलनलाई कसरी जोगाउने भन्ने कुरा प्रधान होे । एकता गरेर पनि कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिँदैन भने त्यसको अर्थ रहँदैन । त्यसो भएमा अर्को ढंगले जाँदा चाहिँ कम्युनिस्ट आन्दोलन जोगाउन सकिन्छ कि भन्ने विकल्पको खोजी पनि हुन सक्छ भन्ने मनस्थितिको विकास भएको छ ।

त्यो भए अर्को पार्टी बनाउनुहुन्छ ?
आवश्यक पर्दा त्यसो पनि गर्नुपर्ने हुन्छ । तर, अहिले चाहिँ एमाले नै कसरी सिस्टमले चलाउने भन्ने कुराको चिन्ता छ । यो बीचमा उहाँले चलाउनुभएको, बैठक, कमिटी, गरिएका निर्णय र दिएका अभिव्यक्तिले त्यहाँ गएर पार लाग्ने छाँट देखिँदैन । अर्को कुरा यो बीचमा भएका गतिविधिको समीक्षा कसरी गर्ने ? यो बीचमा अध्यक्षबाट भएका सबै गलत कार्यको आत्मसमीक्षा गर्नुपर्छ आवश्यकता परे हामी पनि गरौँला ।

आफ्नै पार्टीको नेतृवकोे सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउँदा आत्मग्लानी भएन ?
यो विषय प्रधानमन्त्रीको मात्रै होइन, प्रधानमन्त्री बनाउने मात्रै विषय हो भने तपाईंले भनेको सही हो । पार्टी नेताका रूपमा मैले आत्मग्लानी गर्नुपर्ने थियो । तर, यो विषय प्रतिनिधिसभालाई बचाउने कि न बचाउने ? जनताले बनाएको संविधान र लोकतन्त्र बचाउने कि न बचाउने ? राष्ट्रियतामाथि परेको आघातलाई परास्त गर्ने कि नगर्ने ? भन्ने विषय भएकाले आफ्नै पार्टीको प्रधानमन्त्री ढाल्दा व्यवस्था, संविधान, प्रतिनिधिसभा जोगिन्छ भने त्यो मूल्यमा आफ्नो प्रधानमन्त्रीलाई पनि ढाल्न तयार हुनपर्छ । हामीले त्यही गरेका हौँ । हाम्रा लागि सत्ताभन्दा मुलुक, व्यवस्था र संविधान प्रधान कुरा हो । सत्ता भनेको आउँछ जान्छ । जनताबाट निर्वाचित संस्थालाई अलपत्र बनाउन हुँदैन भनेर जोखिम मोलेका हौँ । केपी कोलीको कदमले राजावादी किन खुसी छन् ? त्यतिकै त होइन होला ! को आए रातीराती भेटे गए भन्ने कुरा छरस्ट भएको छ त्यतिकै होइन होला नि ! त्यसैले यति लामो संघर्षबाट ल्याएको संविधान र लोकतन्त्र बचाएका छौँ यसमा आत्मग्लानी छैन । संविधान जारी गर्दा संविधान जलाउने, उपप्रधानमन्त्री भएर देशलाई बहुराष्ट्रिय राज्य बनाउँछु भन्नेहरूलाई किन सरकारमा लगियो समीक्षा हुनु पर्दैन । हामी कांग्रेसलाई भोट हालेको विषय समीक्षा गरौँला । केपी ओलीले राष्ट्रलाई विखण्डन गर्नेसँग सत्ता साझेदारी गरेको विषय समीक्षा गर्नुपर्दैन ?

पार्टीमा देखिएको द्वन्द्वले एमालेप्रति जनताको भरोसा टुटेको छ । अब पार्टी जनताका बीचमा कसरी जान्छ ?
हामीले डेढ वर्षका लागि प्रतिनिधिसभा जोगाएका छौँ । डेढ वर्ष हामीसँग समय छ । सवाल पार्टी विभाजनको मात्रै होइन । यो बीचमा जनताका पक्षमा के काम गरियो ? खास गरी श्रमजीवी जनताका पक्षमा केही गरिएको छैन । म सरकारले यो बीचमा गरेका कुनै पनि कामसँग सन्तुष्ट छैन । चुनावी घोषणापत्रमा भनेका थियौँ ‘समाजवादका आधार निर्माण गर्ने’ त्यसका कति कदम चाल्यौँ । एकैपटक समाजवादका आधार बन्ने होइन, सय माइलको यात्रा हो भने दश कदम त हिँडन प¥यो नि ! जनताले पार्टीलाई दिएको अभिमतअनुसार साँढे तीन वर्षमा सरकारले जनताका पक्षमा काम गर्न सकेको छैन । पार्टी नेताका हैसियतले मैले पनि जिम्मेवारी लिनुपर्छ । तर, मूल कुरा पार्टी अध्यक्ष, प्रधानमन्त्री र सरकारमा बस्नेहरूको थियोे । त्यसमा समीक्षा गर्न तयार हुने कि नहुने ? जे गरेका छौँ सबै राम्रो गरेको छु भनेर आत्मरतिमा रमाउनुको कुनै अर्थ छैन । कामको मूल्यांकन जनताले गर्न हो । हामीले विरोध गर्यौँ रे जनताले के भनेका छन् जनमत लियौँ न । पार्टीले जनतासँग जुन आधारमा जनतासँग मागेर पाएको बलियो मतका साथ जनताको सेवा गर्न पाएको अवसरलाई जनताको पक्षममा प्रयोग गर्न सकेन । त्यसप्रति आत्मआलोचित हुने कि नहुने ? यदि आत्मआलोचित भएर आफ्ना कमीकमजोरी हटाएर जनताका बीचमा जाने कोशिस गरियो भने हामीसँग समय छ । तर, त्यसो नगरेर जे ग¥यौँ ठीक गर्यौँ, सबै राम्रो मात्रै गर्यौँ भन्ने घमण्ड गर्ने हो भने जनताका बीचमा मुख देखाएर जान लाज हुन्छ ।

 

प्रतिक्रिया