१३ खर्ब ९८ अर्ब व्यापार घाटा

काठमाडौं । ब्यापार घाटा आव २०७७/७८ मा १३ खर्ब ९८ अर्ब पुगेको छ । उच्च आयात र कमजोर निर्यातका कारण व्यापार घाटा बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो २७ दशलमव २६ प्रतिशत बढी हो । आव २०७७/७८ मा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशलमव ६० प्रतिशत र निर्यातको हिस्सा ८ दशलमव ४० प्रतिशत देखिएको भन्सकार बिभागले सार्वजनिक गरेको तथ्याकमा उल्लेख छ ।

विभागका अनुसार यसपटक कुल वैदेशिक व्यापारमा बृद्धि देखिएको छ । आव २०७६/०७७ मा १२ खर्ब ९४ अर्ब ५० करोड ८१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको मुलुकले गत आव २०७७/०७८ मा १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जुन २९ दशमलब ८५ प्रतिशतले बढी हो । यसैगरि, सरकारले सो अवधीमा आयात भएको वस्तु तथा सेवाबाट ३ खर्ब ८२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपालले एक वर्षको अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, आइरन, भटमासको तेल, मोबाइल फोन, ग्यास र सुन आयात गरेको छ । यस अवधीमा नेपालले सबैभन्दा धेरै भटमासको तेल, कार्पेट, अलैंची, चिया, जुटबाट बनेको कार्पेट लगायत अन्य वस्तु बढी निर्यात गरेको छ । गत आवको एकवर्षको अवधीमा १५ खर्ब बढिको वस्तु तथा सेवा आयात गर्दा कुल ४ खर्ब २० अर्ब ९७ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन गरेको विभागले जनाएको छ ।

विभागको तथ्यांक अनुसार गत आवको एकवर्षको अवधीमा आयातसँगै निर्यात पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ । गत आवको असार मसान्तसम्ममा नेपालले कुल १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँ बरबरको बस्तु तथा सेवा निर्यात गरेको छ । अघिल्लो आव २०७६÷०७७ मा नेपालले जम्मा ९७ अर्ब ७० करोड ९१ लाख रुपैयाँ बराबरको नेपाली उत्पादित वस्तु तथा सेवा निर्यात गर्न सफल भएको थियो । यो निर्यातको दर अघिल्लो आवको भन्दा ४४ दशमलब ४३ प्रतिशतले बढी हो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा झन्डै ४७ करोड रुपैयाँको गोलभेंडा आयात भएको छ । कृषि प्रधान देसमा उपभोक्ताको माग अनूरुप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधीमा गोलभेडा खरिदमा मात्र यतिधेरै रकम बाहिरिएको हो । गत आव २०७७÷०७८ को असार मसान्तसम्म छिमेकी मुलुक भारत र चीन लगायत विभिन्न देसबाट नेपालमा कुल ४६ करोड ७५ लाख ६० हजार रुपैयाँको गोलभेंडा आयात भएको छ । विशेषगरि नेपालमा भारतबाट नै सबैभन्दा धेरै टमाटर आयात हुने गरेको छ । चीनबाट केही आएपनि अन्य देशबाट भने टमाटर आयात हुँदैन । विभागका अनुसार सो अवधिमा ३६ हजार ४सय ४३ टन भन्दा बढी टमाटर आयात भएको छ । एक वर्षको अवधिमा टमाटर आयातबाट मात्र सरकारले कुल ४ करोड २४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

१० भन्सारबाट निर्यात शून्य
एकवर्षको अवधिमा १० वटा भन्सारबाट निर्यात शून्य रहेको छ । निर्यात नभएका भन्सार कार्यालयहरुमा रसुवा, तातोपानी, जलेश्वर, सुनसरी, जनकपुर, महेश्वर, ठाडी, सिराहा, भद्रपुर र राजविराज रहेका छन । नेपालबाट एक आर्थिक वर्षमा १ खर्ब ४१ अर्बको उत्पादित वस्तु निर्यात गर्दा सबैभन्दा बढी वीरगञ्ज भन्सारबाट निकासा भएको छ । सो भन्सार नाकाबाट ५३ अर्ब ६७ करोड ९३ लाख रुपैयाँ निर्यात गर्दा निर्यातित वस्तुले ३८ प्रतिशत ओगटेको छ ।

यसैगरि, विराटनगर भन्सारबाट ३६ अर्ब ७६करोड १४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागले जनाए अनुसार एक आर्थिक वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ, मेचीबाट १२ अर्ब ६० करोड ८९ लाख रुपैयाँ, भैरहवाबाट ६ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ, ड्राइपोर्टबाट २ अर्ब ६८ करोड ११ लाख रुपैयाँ र नेपालगञ्ज भन्सारबाट २ अर्ब २४ करोड ५७ रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । त्यसैगरी, कैलालीबाट ५९ करोड २ लाख रुपैयाँ, कृष्णनगरबाट ३३ करोड २२ लाख, सुठाउलीबाट १४ करोड ६६ लाख, कञ्चनपुरबाट ३ करोड १६ लाख रुपैयाँ, गौरबाट ८८ लाख ८८ हजार र सर्लाहीबाट २ लाख ६१ हजारको वस्तु तथा सेवा निर्यात भएको छ ।

प्रतिक्रिया