पाँच हजार दलित विपन्न परिवारले पाए पक्की भवन

लहान । जनता आवास कार्यक्रमअन्तर्गत विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक ०६६/६७ देखि हालसम्ममा सिरहाका २ हजार ३ सय ७७ र सप्तरीका दुई हजार ५ सय ८६ गरी दुवै जिल्लाका ४ हजार ९ सय ६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन् ।

फुसको छाप्रोमा कष्टकर जीवनयापन गर्दै आएका दलित विपन्न परिवारले पक्की आवास भवन पाएपछि हर्षित बनेका छन् । संघीय सरकारको बजेटबाट गत आर्थिक वर्ष ०७६÷७७ मा मात्र सिरहाका दुई सय र सप्तरीका २ सय ८५ दलित विपन्न परिवारलाई पक्की आवास निर्माण गरी हस्तान्तरण गरिएको सहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिए ।

प्रमुख झाका अनुसार सिरहामा ३ सय १५ आवास भवन बनाउने योजना रहेकोमा दुई सय भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको र १ सय १५ भवन निर्माणाधीन अवस्थामा छ भने सप्तरीमा ५ सय ३ आवास भवन निर्माण गर्नुपर्नेमा २ सय ८५ भवन निर्माण सम्पन्न भइसकेको र बाँकी २ सय १८ भवन निर्माणाधीन अवस्थामा छ ।

बजेट अभावका कारण आर्थिक वर्ष ०७७÷०७८ मा सिरहाको औरही गाउँपालिकामा पाँच सय आवास भवनबाहेक अन्य ठाउँमा आवास भवन थपिएको छैन । सिरहाको औरही–१ देखि ५ सम्ममा पाँच सय घर आवास भवन बनाउन सम्झौता भएर निर्माण कार्य सुरु भएको र त्यसबाहेक सिरहा र सप्तरीमा कुनै आवास भवन बनाउने योजना नआएको प्रमुख झाको कथन छ ।
बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर ३ लाख ३२ हजार ५ सयका दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप १५ हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताए ।

अतिविपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष ०६६÷६७ देखि सिरहा, सप्तरी लगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ । आव ०७३÷७४ सम्म जनता आवास कार्यक्रम संघीय सरकारले सञ्चालन गर्दै आएकामा आर्थिक वर्ष ०७४÷०७५ बाट प्रदेश सरकारले सो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया