केराखेतीमा गवाँरोले दुःख दियो

गलेश्वर । हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका कृषक चिन्तित बनेका हुन् । पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरि गाउँपालिका र बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा–४ सिंगा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा किरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका वेनी नगरपालिका–२ बगरफाँटका कृषक दुर्गाबहादुर थापाले बताए ।

केरा गाउँको रूपमा परिचय बनाएको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खपटे घुन र गवाँरो रोगले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्कीले केराका बोट नपसाउँदै सुक्न थालेपछि आफू चिन्तित भएको बताए । उनले सात रोपनी क्षेत्रफलको जग्गामा केराखेती गरेका छन् । खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै गएपछि पेसा संकटमा परेको कृषक कार्कीको भनाइ छ ।

यहाँका किसानले धान फल्ने खेतमा केराखेती सुरु गरेका हुन् । सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवाँरोले व्यावसायिक केराखेतीमा ठूलो क्षति पु¥याएको उनको भनाइ छ । बगरफाँट र खबरामा मात्रै चार सय रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ । केरा बेचेर खबरामा वार्षिक ५० लाखभन्दा बढी भित्रिने गरेको छ ।

प्रतिक्रिया