भ्रष्टाचारीलाई जनकारबाही गर्दै नेकपा विप्लव

इलाम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामले स्थानीय तहमा व्याप्त भ्रष्टाचार विरुद्ध जनकारवाही गर्ने भएको छ । मंगलबार र बुधबार भएको पार्टीको जिल्ला समितिको निर्णय सार्वजनिक गर्न शुक्रबार इलाममा आयोजित पत्रकार सम्मेलनमा नेकपाले भ्रष्टाचारहरूमाथि जनकारबाही सञ्चालन गर्ने घोषणा गरेको हो । स्थानीयतहमा देखिएको चरम भ्रष्टाचार, सरकारी योजनामा विद्यमान चरम आर्थिक अपचलन र भ्रष्टाचारको विरुद्ध भण्डाफोर गर्दै जनसहभागितामा जनअनुमोदित जनकारबाही गर्ने निर्णय भएको सो पार्टीका केन्द्रीय सदस्य एवं इलाम जिल्ला इन्चार्ज सुमनसिंले बताए ।

‘पछिल्लो समय स्थानीय तह र सरकारी योजनामा व्यापक भ्रष्टाचार भएको सूचना हामीलाई आइरहेको छ’ इन्चार्ज सुमनसिंहले भने, ‘तिनीहरूलाई जनताकै व्यापक संलग्नतामा सडकमा घिसारेर कारबाही गर्छाैं ।’ दुईदिन सञ्चालन भएको बैठकले एमसिसी परियोजनाको भण्डाफोर गर्ने, एनसेलको कर हिनामिनाको विषयमा सशक्त संघर्ष गर्ने, छिमेकी मुलुक भारतले अतिक्रमण गरेका भूभागमा अतिक्रमणविरुद्ध जनतालाई संघर्षमा उतार्न पहल गर्ने, सीमा क्षेत्रको सुरक्षाको निम्ति प्रशासन राजनीतिक दल र आमजनसमुदायसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

त्यस्तै सहिद परिवार, बेपत्ता परिबार, घाइते, अपांग र परिवर्तनकारी आन्दोलनका योद्धाहरूलाई सम्मान गर्ने, नमुना कम्युनिस्ट समाजघर निर्माण गर्नेलगायत १५ वटा निर्णय गरेको छ । सो पार्टीले नेपालमा संसदीय व्यवस्था पूर्णरूपले पतन भइसकेको बताउँदै वैज्ञानिक समाजवादका लागि जनमतद्वारा फैसला लिन प्रस्ताव अगाडि सारेको बताए । तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेकपाले इलाममा पनि आफ्नो गतिविधि बढाएको छ ।

प्रतिक्रिया