मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई

काठमाडौं । सरकारले ल्याएको बजेटलाई लक्ष्यित गरी असार अन्तिम साता वा साउन १/२ गते सार्वजनिक गरिने मौद्रिक नीति ल्याउने क्रममा ढिलाई भएको छ । शेर बहादुर देउवाको नेत्रृत्वमा सरकार बनेपछि ८ साउनमा ल्याउने भनिएको मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेपनि अर्थमन्त्री जनार्दशन शर्माले मौद्रिक नीति आफुले हेरेर मात्रै ल्याउने भनेपछि पछि सरेको छ । अर्थमन्त्रीको निर्देशनमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको स्रोतले बतायो ।

यसअघि राष्ट्र बैंकको उच्च अधिकारीले यही साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको बताउँदै आएका थिए । आफ्नो तयारी सबै पुरा भइसकेको भए पनि अर्थमन्त्रालयले आग्रह गरेपछि मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रोकिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन ।

अध्यादेश बजेटलाई आधार बनाएर केन्द्रीय बैकले मौद्रिक नीति तयार गरेको थियो । त्यसलाई सार्वजनिक गर्ने अन्तिम तयारी समेत राष्ट्र बैकले गरिसकेको थियो । तर, अर्थमन्त्रालयले बजेटमै केही संशोधन गर्न लागेकोले हाललाई मौद्रिक नीति जारी गर्ने कार्यक्रम रोक्न भनेपछि स्थगित गरिएको हो । अर्थ मन्त्रालयमा बजेटको पुनर्लेखन कार्य अत्यन्तै तीव्रताका साथ भइरहेको बताएको छ । बजेटमा ठुलै हेरफेर हुँदै गरेको संकेत अर्थले गरेको छ । अर्थ मन्त्रालयमा बजेट बहस जारी रहेको कारण मौद्रिक नीति जारी गर्ने कार्यक्रम रोकिएको आकलन गरिएको छ ।

यो भन्दा अघि पनि अर्थमन्त्री शर्माले श्वेतपत्र जारी गर्ने घोषणा गरिसकेका छन् । जसको आलोचना समेत सुरु भइसकेको छ । ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै श्वेतपत्र जारी गर्दा देशको आर्थिक क्रियाकलापमा मन्दी छाएको थियो । उनले श्वेतपत्र मार्फत राष्ट्रको ढुकुटी रित्तो रहेको घोषणा गर्दा सम्भावित वैदेशिक लगानी समेत निरुत्साहित भएको थियो । यस्तो अवस्थामा मौद्रिक नीति आउन ढिलाई हुनुलाई पनि सकारात्मक रुपमा लिन नसकिने अर्थबिदहरुले बताउका छन ।

प्रतिक्रिया