सुल्झेला ट्रंक तथा डेडिकेडेट लाइन महसुल विवाद ?

डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद लामो समयदेखि कायम छ । यसबारेमा उद्योगी व्यवसायी भन्छन्, ‘हामीले प्रयोग गर्दै नगरेको बिजुलीको महसुल किन तिर्ने ? नेपाल विद्युत् प्राधिकरण भन्छन, ‘बिजुली प्रयोग गरेपछि महसुल तिर्नुपर्छ । तिर्दिन भन्न पाइँदैन ।’ विवाद लामो समयदेखि जारी छ । प्राधिकरण उठाउन खोज्ने, व्यवसायी तिर्न नमान्ने अवस्था लामो समयदेखि कायम छ । संघीय संसद्को सार्वजनिक लेखा समितिले गत वैशाखमा नै डेडिकेटेड र ट्रंक लाइन महसुल तत्काल उठाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको थियो । विवरणअनुसार त्यस्तो महसुल १५ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

विवादका कारण महसुल उठाउन नसकेको प्राधिकरणले किस्ताबन्दीमा भए पनि तिर्न उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । बुटवल, भैरहवाका व्यवसायीले त महसुल नतिर्ने घोषणा नै गरिसकेका छन् । विवाद बढ्दै जाँदा सो विषय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विद्युत् नियमन आयोग, मन्त्रिपरिषद्सम्म पुगेको छ । कुनै पनि निकायबाट स्पष्ट निर्णय भएको छैन । ती निकायले पनि प्राधिकरणलाई नै आवश्यक निर्णय गर्न भनेको अवस्था छ । संघीय संसद्को सार्वजनिक लेखा समितिले समिति सदस्य डा. मीनेन्द्र रिजाल नेतृत्वमा उपसमिति गठन गरी सो विषयमा छानबिन गरेको थियो । समितिको ०७६ साउन ५ को बैठकले छानबिन समिति गठन गरी लामो समय लगाएर अध्ययन गरेको थियो । उपसमितिमा सांसद सूर्यप्रसाद पाठक, पार्वतीकुमारी विसंन्खे, तेजुलाल चौधरी र प्रदीप यादव सदस्य थिए ।

प्राधिकरणले महसुल उठाउने निर्णय गैरकानुनी भएको भन्दै डेडिकेटेड लाइन लिएका ११ उद्योग र टं«क लाइन लिएका १२ उद्योगीको हकमा उच्च अदालतले अन्तरिम आदेश दिएको अवस्था छ । वर्तमान सरकार गठन भएपछि बधाई दिने क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई भेट्न पुगेका उद्योगी व्यवसायीको छाता संगठनले पनि सो विषयमा कुरा उठाएको छ । उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट मन्त्री भुसाललाई बधाई दिने क्रममा ट्रंक तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवादलाई शीघ्र समाधान गर्नुपर्नेमा जोड दिइएको थियो । महासंघका अध्यक्ष शेखर गोल्छाले महसुल विवाद समाधान गर्न उद्योगी व्यवसायीको तर्फबाट आग्रह गरिएको र समस्या समाधान हुनेमा उनले विश्वास गरेका छन् ।

यसबारेमा महासंघको भनाइ यस्ते छ, ‘उद्योगहरूले आवश्यक विद्युत् नेपाल विद्युत् प्राधिकरणबाट लिँदै आइरहेको र विद्युत् उपभोग गरेबापत प्रचलित कानूनबमोजिम लागेको र लाग्ने महसुलसमेत तिर्दै आइरहेको भए तापनि छुट बिल÷रकम भनी करोडौँ÷अर्बौं रकम उल्लेख गरी भुक्तानी गर्न सम्बन्धित उद्योगलाई लेखिएको पत्रबाट उद्योग थप हतोत्साहित भएकाले विद्युत् महसुल विवाद समाधानमा आवश्यक पहल गर्न आग्रह गरियो ।’
चरम विद्युत् भार कटौतीको समयमा उद्योगीले डेडिकेटेड र टं«क लाइनमार्फत बिजुली लिएको प्राधिकरणको भनाइ छ । उद्योगीका अनुसार आफूहरू पनि प्राधिकरणको सूचनाअनुसार लोडसेडिङमा बसेको तथा नियमअनुसार महसुल तिरेकाले थप महसुलको माग गर्नु मिल्दो विषय होइन । प्राधिकरणका अनुसार ३ सय ९ उद्योगी तथा व्यवसायीले चरम लोडसेडिङ भएको समयमा डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली लिएका थिए । महसुल विवाद बढ्दै जाँदा प्राधिकरण सञ्चालक समिति सदस्य भक्रबहादुर पुनको संयोजकत्वमा छानबिन समिति नै गठन गरिएको थियो । प्राधिकरण सञ्चालक समितिले गत माघ ११ गते किस्ताबन्दीमा महसुल तिर्न सक्ने निर्णय गरेको थियो ।

२०७२ साउनदेखि २०७७ असार मसान्तसम्मको सम्पूर्ण दस्तुरसहितको महसुल असुलीको निर्णय भइसकेको छ । मुद्दा मामिलामा गएका उद्योगी व्यवसायीले पनि बक्यौता असुलउपर गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार नै महसुल भुक्तानी गर्नुपर्ने प्राधिकरणले बताएको छ । पाटन उच्च अदालत र जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले समेत महसुल तिर्नुपर्ने भन्दै अन्तरिम आदेश दिएको छ । विद्युत् महसुल निर्धारण आयोगको मिति २०७२ पुस २९ को १०३औँ र २०७३ असार १६ को १०८औँ बैठकबाट कायम भएको महसुल दर सम्बन्धमा निर्णय भएको उद्योगीको भनाइ छ ।
प्राधिरकणले भने एकैपटक तिर्न सम्भव नभए, किस्ताबन्दीमा भए पनि तिर्न पटकपटक आग्रह गरेको छ । आयोगको १०३औँ बैठकले डेडिकेडेट फिडर लाइनमार्फत् दैनिक निरन्तर विद्युत् उपभोग गर्ने उपभोक्ताको हकमा लागू हुने महसुल दर २०७२ पुस २९ पश्चात् दैनिक निरन्तर २४ घण्टा विद्युत् उपभोग गर्ने डेडिकेडेट लाइनका ग्राहकलाई मात्र लागू हुने भनी निर्णय गरेको छ ।

लोडसेडिङ न्यूनतम ६ घण्टा कायम रहेको बखत २० घण्टा वा सोभन्दा बढी अवधि विद्युत् उपयोग गर्ने टं«क लाइन समूहका उपभोक्ता ग्राहकको हकमा समेत डेडिकेडेटसरहको दरमा महसुल लिइ उक्त सुविधा प्रदान गर्ने निर्णय आयोगले गरेको थियो । डेडिकेडेट फिडर लाइन र ट्रंक लाइन समूहका औद्योगिक ग्राहक उपभोक्तालाई नभई उक्त संरचनाबाट लोडसेडिङ हुँदाको बखत तोकेबमोजिमको मात्रामा विद्युत् उपभोग गर्नेको हकमा मात्र उक्त दर कायम हुने भन्ने उल्लेख थियो । आयोगको २०७२ पुस २९ गतेको र २०७३ असार १६ को निर्णयबाट कायम भएकाले उक्त निर्णयअनुसारको दर लगाई महसुल असुल गर्नुपर्ने धारणा महासंघको छ । सो अवधिको विद्युत् खपत विवरणबाट डेडिकेडेट फिडर लाइनमार्फत दैनिक निरन्तर २४ घण्टा र टं«क लाइनका औद्योगिक ग्राहकको हकमा लोडसेडिङ न्यूनतम ६ घण्टा कायम रहेको भन्ने महासंघले प्रष्ट आफ्नो धारण राखेको छ ।
दैनिक २० घण्टा वा सोभन्दा बढी अवधि विद्युत् उपयोग गरेका औद्योगिक उपभोक्ता यकिन गरेर सो उपभोग गर्ने उपभोक्ताको हकमा मात्र उपभोग गरेको अवधिको लागि उक्त विशेष दर लगाई बिल जारी गर्न वा छुट रकम असुल गर्न न्यायिक हुने ऊर्जामन्त्री भुसालसँग उद्योगीको माग छ ।
विद्युत् ऐन, २०४९ अनुसार प्राधिकरणबाट विद्युत् लाइन लिएका ग्राहक उपभोक्तासमेतको हकमा महसुल निर्धारण गर्ने अधिकार तत्कालीन अवस्थामा महसुल निर्धारण अयोगलाई प्रदान गरेको छ । सोही ऐनको दफा १७(४) ले अनुमति प्राप्त व्यक्तिले दफा ३ बमोजिम निर्धारण भएको विद्युत् महसुल र अन्य दस्तुरभन्दा बढी वा सोबाहेक अन्य कुनै दस्तुर लिन पाउने छैन भनी किटानी व्यवस्था गरेको उद्योगीको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार ३० गते प्राधिकरणको नाममा २०७२ पुस २९ देखि लोडसेडिङ अन्त्य भएको आधिकारिक घोषणा हुनुअघिको समयसम्म डेडिकेडेट तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको विद्युत् उपभोगको परिमाण यकिन गरी निर्धारित महसुल असुलउपर गर्न उपयुक्त हुने निर्देशन दिएको थियो । टिओडी मिटरको डाटा डाउनलोडका अध्ययन प्रतिवेदन एवं सोको विश्लेषणलाई मुख्य आधार बनाउन उपयुक्त हुने व्यवसायीको भनाइ छ । व्यवसायीले लोडसेडिङको समयमा २४सैँ घण्टा बिजुली लिएको र खपत गरेको भन्ने यकिन गर्नसमेत आग्रह गरेका छन् । ऊर्जामन्त्री भुसाल ट्रंक तथा डेडिकेटेड विद्युत् महसुल विवादमा महासंघले राखेका विषयमा आफूले कानूनी÷विधि, प्रक्रिया समेत बुझेर निर्णय लिने बताए । उनले महसुलको विषयमा आफूले आवश्यक मात्रामा अध्ययन गरेर उपयुक्त निर्णय लिने उल्लेख गरेका छन् । उनका अनुसार बढी ऊर्जा खपत गर्ने उद्योगलाई कम महसुल लाग्ने व्यवस्था हुनुपर्ने भन्दै यस विषयमा अध्ययन अघि बढाइनेछ ।

प्रतिक्रिया