श्रीलंकामाथि भारतको सहज जित

कोलम्बो । कप्तान शिखर धवन र ईशान किशनको अर्धशतकको सहयोगमा भारतले पहिलो ओडिआई खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारतले तीन ओडिआई खेलमा १–० को अग्रता लिएको छ । जितको लागि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । शिखर धवन ९५ बलमा ६ चौका र १ छक्का सहित ८६ रनमा अविजित रहे । धवनले पहिलो खेलमा कप्तानी गर्दै सहज जित दिलाए । डेब्यू गरेका ईशान किशन ४२ बलमा ८ चौका र २ छक्का सहित ५९ रनमा आउट भए । सूर्यकुमार यादव २० बलमा ५ चौका सहित ३१ रनमा अविजित रहे ।

भारतलाई ओपनर ५.३ ओभरमा धवन र पृथ्वी शाले ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । शाले २४ बलमा ९ चौका सहित ४३ रनको आक्रामक सुरुवात दिलाएका थिए । दोस्रो विकेटका लागि धवन र ईशान किशनले ८५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । धवनले तेस्रो विकेटका लागि मनिष पाण्डेसँग ७२ रनको साझेदारी गर्दै सहज जित दिलाए ।मनिष पान्डे ४० बलमा १ चौका र १ छक्का सहित २६ रनमा आउट भए । श्रीलंका स्पिनर धनन्जय डि सिल्भाले सर्वाधिक २ विकेट लिए । लक्शान सन्दकनले एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६२ रन बनाएको थियो । श्रीलंका चामिका करुणारत्ने ३५ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनमा अविजित रहे । कप्तान दासुन शनाकाले ५० बलमा २ चौका र १ छक्का सहित ३९ रनमा आउट भए । चरिथ असलंकाले ६५ बलमा १ चौका सहित ३८ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकालाई ओपनर अविष्का फ्रेनान्डो र मिनोद भानुकाले ९.१ ओभरमा ४९ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । स्पिनर युजचेन्द्र चहलले आफ्नो स्पेलको पहिलो बलमै अविष्कालाई एक्स्ट्रा कभरमा मनिष पाण्डेबाट ३२ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । अविष्काले ३५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

कुलदीपले १७ औं ओभरमा दुई विकेट लिएपछि श्रीलंका दबाबमा परेको थियो । भानुका राजपक्षे १७ औं ओभरको पहिलो बलमा २२ बलमा २ चौका र २ छक्का सहित २४ रनमा शिखर धवनबाट क्याच आउट भए । तीन बलपछि मिनोद पृथ्वी शाबाट २७ रनमा समातिन पुगे । मिनोदले ४४ बलमा ३ छक्का प्रहार गरे । पाँचौं विकेटका लागि शनाका र चरिथले ७६ बलमा ४९ रनको साझेदारी गरेका थिए । वानिन्दु हसरंगा र ईसुरु उडाना समान ८ रनमा आउट भए । दुश्मन्था चामिरा ७ बलमा १ चौका र १ छक्का सहित १३ रनमा रन आउट भए । अन्तिम दुई ओभरमा श्रीलंकाले ३२ रन जोडेको थियो ।
भारतका कुलदीप यादवले ९ ओभरमा १ मेडन सहित ४८ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहलले १० ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । दीपक चाहरले ७ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर २ विकेट लिए । हार्दिक र क्रुनाल पान्ड्या दाजुभाइले एक एक विकेट लिए । भुवनेश्वर कुमारले ९ ओभरमा ६३ रन खर्चेपनि विकेट लिन सकेनन् । दोस्रो खेल मंगलबार हुने छ ।

प्रतिक्रिया