काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित एवं कवि कृसु क्षेत्रीद्वारा सम्पादित ‘उत्तर अमेरिकी नेपाली कविता’ (संग्रह) बजारमा आएको छ । अमेरिका र क्यानडामा रहेका नेपालीभाषी २२१ जना कविका समसामयिक दृष्टिकोणसहितका कविता उक्त कृतिमा संगृहित छन् । प्रतिष्ठानका साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलको संयोजनमा प्रकाशित उक्त संग्रहमा राष्ट्रप्रेम, मातृभूमिप्रतिको अगाध प्रेम झल्किएका कविता रहेका छन् । प्राज्ञ प्रा.डा.पौडेलले नेपाल प्रज्ञा–प्रतिष्ठान समग्र नेपाली वाङ्मयको उत्थान, विकास र संवर्धनका निम्ति क्रियाशील रहेको बताउँदै विगतका वर्षदेखि नै देशबाहिरको नेपाली साहित्यलाई समेत मूलधारमा समेट्ने कार्य गर्दै आएको बताए । सम्पादक क्षेत्रीले संग्रहमा कविले कर्मभूमिमा भोगेको पीडा, सुख, संघर्ष, आरोह अवरोह तथा आफ्नोपनलाई कलात्मक रुपमा उनेको बताए । उनले भने, ‘कविले संसारभर फैलिएको मानवतावाद, लोकतन्त्र, सामाजिक न्याय तथा मानवअधिकारका विषयलाई समेत कवितामार्फत अभिव्यक्त गरेका छन् ।’ कवि क्षेत्रीले उत्तर अमेरिकी नेपाली कविका कविता संग्रहका रुपमा आउनु अनुकरणीय कार्य भएको सुनाउँदै विषय विविधता समेत सबलताका साथ प्रस्तुत भएको जनाए । उनले भने, ‘अमेरिका विविधताले भरिएको मुलुक हो । जहाँ नेपालीभाषी स्रष्टाले नेपाली सुगन्धलाई सिर्जनामार्फत अभिव्यक्त गरेका छन् ।’ अमेरिकामा रहेका नेपालीका कविताको साझा कृतिका रुपमा संग्रह आएको बताउँदै कवि तथा सम्पादक क्षेत्रीले भाषा, साहित्य तथा संस्कृतिले माटोप्रतिको प्रेमलाई उजागर गर्न मद्दत गरेको विचार व्यक्त गरे । अमेरिकामा चार वर्षसम्म कुटनीतिक सेवामा कार्यरत् रहँदा कवि तथा सम्पादक क्षेत्रीले नेपालीभाषा साहित्यप्रतिको प्रेम र लगाव देखेर आफू निकै प्रभावित भएको सुनाए । उनले स्रष्टाहरुको सांस्कृतिक प्रेम देखेपछि आफूले कथा, गीत, गजल, कविता निकाल्ने सोच बनाए अनुरुप यो संग्रह प्रकाशित भएको बताए ।
यसैको परिणाम यसअघि नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘नेपाली डायस्पोराका नारी कथाकार र कथा’ (२०७०), ‘नेपाली डायस्पोराका कविता’ (२०७२), ‘डायस्पोरा : सिद्धान्त र समालोचना’ (२०७२) र ‘अन्तर्देशीय नेपाली कथाहरू’ (२०७५) आदि कृतिहरूको प्रकाशन भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले यतिखेर डायस्पोरिक नेपाली साहित्यलाई मूलधारमा जोड्ने सन्दर्भमा विभिन्न संस्था र व्यक्तित्वहरूसँग सहकार्य पनि गर्दै आएको छ । यस क्रममा नेप्रप्र र एनआरएनए मिलेर विभिन्न प्राज्ञिक कार्यहरू पनि भएका छन् ।
यस संग्रहमा संकलित सबै कविताहरू डायस्पोरिक रचना हुन् । यिनले डायस्पोरामा रहेका नेपालीको जीवन, समाज र तिनका भोगाइलाई प्रतिविम्बित गरेका छन् । यस संग्रहले डायस्पोरिक नेपाली कविताको अध्ययन–अनुसन्धान गर्न र प्रवासी नेपालीका कविताका बारेमा जानकारी लिन मद्दत गर्ने निश्चित छ । यसै क्रममा निकट समयमै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट नियमित रूपमा प्रकाशित हुँदै आएको ‘कविता’ चौमासिकको अंक ११७ र ११८ सयुक्ताङ्क पनि डायस्पोरिक कविता विशेषांकका रूपमा प्रकाशित हुँदै छ । प्रधान सम्पादक प्रा.डा. हेमनाथ पौडेलका अनुसार यस विशेषाङ्कमा युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, अफ्रिका, भारत, बर्मा, भुटान लगायत विभिन्न मुलुकका प्रवासी नेपाली कविहरूका कविता समेटिएका छन् । कवि कृसु क्षेत्रीद्वारा सम्पादित ‘उत्तर अमेरिकी नेपाली कविता’ (संग्रह) मा निम्न लिखित कविका कविता समेटिएका छन् ।
संग्रहमा अग्नि साम्पाङ, अच्युत सिग्देल अजय छोचुं, अनमोलमणि, अनिल पौड्याल, अनुजा घिमिरे, अनु शाह, अपराजिता खुसी, अमर त्यागी, अमर रोका, अमोद भट्टराई, अरुण श्रेष्ठ, अर्जुन सापकोटा, अशोक चाम्लिङ राई, अस्थि साख्वाः, आङछिरिङ शेर्पा, आङ जाङ्बु शेर्पा, आचार्य प्रभा, आनन्द श्रेष्ठ, एनपी खार्पाली, ईश्वरी कार्की ‘वर्षा’, उज्ज्वल भट्टराई, उर्मिला श्रेष्ठ ‘भोजपुरे’, एच.बी. भण्डारी, एम निरौला, डा. ऋषि बस्ताकोटी कपिल सिटौला, कमला प्रसाईं, कमला स्वरूपका कविता रहेका छन् । त्यस्तै, कल्पना सत्याल, कल्पना सुवेदी, किशोर विश्वकर्मा, किसनसिंह धामी,डा. किस्मत भण्डारी, कुञ्जन रूपाखेती, कुन्ती थापा, कुसुम शर्मा, कुसुम वाली, कृष्ण कुसुम, कृष्ण धरावासी, कृष्णमुरारी ढुङ्गेल, कृष्ण शाह यात्री, केशव शर्मा दाहाल, केशवराज वाली, खेमराज दवाडी, खेमनाथ दहाल, गगन विरही, गङ्गा लिगल, गण्डकी पुत्र, गीता खत्री, गीता पन्थ, गुणराज लुइँटेल, गुहनाथ पौडेल, गोकुल ढकाल, गोकुल भण्डारी, गोपाल रेग्मी, प्रा.डा. गोपी उप्रेती, गोपीकृष्ण काफ्ले, गोवर्धन पूजा, डा. गोविन्द कोइराला, गोविन्द गिरी प्रेरणा, डा. गोविन्द रावत, चन्द्र बज्यू तामाङ, जगन्नाथ पौडेल, जय बञ्जाडे, डा. जयन्तकृष्ण शर्मा, जसकुमार राई, जानुका वस्ती ढकाल, जुनिता सुब्बा, जुनु क्षेत्री, ज्योतिकुमार श्रेष्ठ, ज्योति पौडेल, डा. तारा निरौला, तीर्थराज अधिकारी, तीर्थराज बराल ‘सानु पुनाटारे’, डा. तुलसी धरेल, थोमस बास्तोला, दीपक ढकाल, दीपा राई पुन, डा. दुर्गा दहाल, देवनाथ भट्टराई ‘दर्पण’, धन लामा, नगेन्द्र न्यौपाने, नदिया, नम्रता गुरागाईं, डा. नवीन ‘अन्योल’, नारायण श्रेष्ठ, नीलम कार्की निहारिका, नीरा शर्मा, पदम विश्वकर्मा, पुनम काफ्ले, पद्मा लिंखा मगर, पल्पसा, राजव, राजवल्लभ कोइराला, राजीव नेपाल ‘अट्वा’, राजेन्द्रप्रसाद प्रसाईं, राजेश मिश्र, राधा रिजाल पोखरेल, राधिका खरेल, रामकुमार सुवेदी ‘राम अविराम’, रामप्रसाद खनाल, व्याकुल पाठक, हिरण्य भोजपुरे, हेमन्त श्रेष्ठ, होमनाथ सुवेदी, होमराज आचार्य, ज्ञानेन्द्र गदाल लगायतका कविका कविता संग्रहमा छन् ।
प्रतिक्रिया