रुपा सुनार घटनामा कांग्रेसकाे विज्ञप्ति, ‘राज्यको भूमिकामाथि गम्भीर प्रश्न उब्जियाे’

काठमाडौं । नेपाली कांग्रेसले रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिइएको घटनामा राज्यले खेलेको भूमिकामाथि गम्भीर प्रश्न उब्जिएको बताएको छ । शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकारका एक मन्त्रीको व्यवहार र प्रधानमन्त्रीको मौनताले गम्भीर प्रश्न उठान गरेको बताएका छन्।

पत्रकार सुनारलाई कोठा नदिएको भनिएकी घरबेटीलाई रिहा गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पहल गरेको चर्चाबीच कांग्रेसको यस्तो विज्ञप्ति आएको हो । घरबेटी सरस्वती प्रधान महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट रिहा हुँदा मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए। प्रधान मन्त्रीकै गाडीबाट त्यहाँबाट बाहिरिएकी थिइन् । ‘राज्य वादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानुनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोचित छ प्रधानमन्त्रीज्यू’, विज्ञप्तिमा भनिएको छ।

द्वन्द्व निरुपण गर्ने नभइ त्यसलाई बल पुर्‍याउने मन्त्रीको भूमिका व्यक्तिगत हो कि राज्यकै प्रतिनिधित्व हो भन्दै कांग्रेसले प्रश्न उठाएको छ । ‘प्रश्न रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो’, विज्ञप्तिमा भनिएको छ, ‘हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो।’

प्रतिक्रिया