महिला एसियन कप छनोट नेपालमा हुने

काठमाडौं । नेपालले एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत समूह एफ अन्तर्गत खेलहरु आयोजना गर्ने भएको छ । एएफसीले विहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपालसँगै हङकङ र फिलिपिन्स एकै समूहमा रहेका छन् । छनोट अन्तर्गत समूह चरणका खेलहरु सेप्टेम्बर दोस्रो साता सुरु हुनेछ । एएफसीले हाललाई छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भाद्रदेखि ९ असोज) तोकेको छ । छनोटमा सहभागी हुने टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा स्थान पक्का गर्नेछ ।

एएफसी एसियन कप जनवरी २० देखि फेब्रुअरी ६, २०२२ मा भारतमा हुनेछ । प्रतियोगिताका लागि साविक विजेता जापान, उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीनसँगै आयोजक भारतले स्थान पक्का गरिसकेका छन् । यसपटक देखि प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको समूहमा रहेको फिलिपिन्स विश्व वरीयतामा ६८ औं स्थानमा छ । नेपाल १ सय १ औं स्थानमा रहँदा हङकङ ७६ औं स्थानमा छ । नेपालले सबै खेल घरेलु मैदानमा नै खेल्नेछ । एन्फाले दशरथ रंगशालामा नै प्रतियोगिता गराउने प्रबल सम्भावना छ । नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५–० को हार बेहोरेको थियो । यस्तै हङकङसँग सन् १९८६ मा १–० र १९८९ मा ३–० को हार बेहोरेको थियो । नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३–१ ले पराजित गरेको थियो ।

यसपटक नेपाली टोलीमा चोटले निकै समस्या दिने देखिएको छ । छनोट सुरु हुन झन्डै साढे २ महिना बाँकी रहँदा एन्फाले तयारी सुरु गरेको छैन । त्यसमाथि पहिलो रोजाइमा खेल्दै आएकी फरवार्ड सावित्रा भण्डारी घुन्दको शल्यक्रिया गर्न कतार जाँदैछिन् । डिफेन्डर हिरा भुजेल र मिडफिल्डर दिपा राई शल्यक्रियापछि रिह्याबमा छन् । कप्तान रेनुका नगरकोटे पनि चोटबाट फिट हुने क्रममा छिन् ।

समूह विभाजन :

समूह ए : चाइनिज ताइपेइ (आयोजक), बहराइन, तुर्कमेनिस्तान, लाओस
समूह बी : भिएतनाम, ताजिकिस्तान (आयोजक), माल्दिभ्स, अफगानीस्तान
समूह सी : उत्तर कोरिया, सिंगापुर, इराक, इन्डोनेसिया (आयोजक)
समूह डी : म्यानमार (आयोजक), यूएई, गुआम, लेबानान
समूह ई : दक्षिण कोरिया, उज्बेकिस्तान (आयोजक), मंगोलिया
समुह एफ : फिलिपिन्स, हङकङ, नेपाल (आयोजक)
समूह जी : जोर्डन, इरान, बंगलादेश (आयोजक)
समूह एच : थाईल्यान्ड, प्यालेस्टाइन, मलेसिया

प्रतिक्रिया