आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द गरिएको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने भएका छन् । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर हवाई उडान खुला गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुने सूचनामा उल्लेख छ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने बताइएको छ ।

बुधबारसम्म तालिका तय गर्ने पर्यटन मन्त्रालय तयारीमा रहेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ ।

अब काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । त्यस्तै काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं(कुवेतमा साताको दुई, काठमाडौं–मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने सूचनामा उल्लेख छ । दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुने गरि खुलेको छ ।

प्रतिक्रिया