नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप भेटियो

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप ९ वटा नमूनामा फेला परेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये ९ वटामा थप उत्परिवर्तन रुप k417N mutation देखिएको बताए । यसलाई AY.1 नाम दिइएको छ ।

उनका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो ।

नेपालमा अहिलेसम्म अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) तथा कप्पा (B.1.617.1) भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

उनले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको बताए । ‘यो नयाँ देखिएको भेटियन्ट होइन’, उनले भने, ‘यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ ।’ मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको संक्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ ।

प्रतिक्रिया