संक्रमितको सहयोगमा खट्दै म्याग्दीका युवा

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका प्रत्येक प्रायः बस्तीमा कोरोना भाइरस संक्रमित देखिएका छन् । अझ कोरोनाले कुनै गाउँ बस्तीमा पुग्न छोडेको छैन । जिल्लाको बेनी अस्पतालमा उपचारका लागि ल्याइने संक्रमित बढ्दै गएपछि सुरुमा त यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवी र विरामीका आफन्तहरू समेत आत्तिने गरेका थिए । तर, अहिले बिस्तारै मान्छे सहज रुपमा फर्किने प्रयास गर्दैछन् ।

संक्रमितको नजिक जान र सहयोग गर्न आफन्तहरू नै आँट गर्न सक्दैनन् । मनमा माया भएपनि आफैलाई संक्रमण सर्ने डरले सकेसम्म उनीहरू पन्छिनु स्वभाविकै जस्तै भएको हो । संक्रमणकै कारण मृत्यु भएकाहरूको अन्त्येष्टी संस्कार हिम्मत भएका केही परोपकारी व्यक्तिहरूको सहयोगमा हुँदै आएको छ । परिवार नै छुन र नजिक जान डराइ रहेका अवस्थामा सामाजिक भाव भएका युवाहरू सक्रिय भएर सहयोगमा जुटेका छन् ।

कोरोना संक्रमितहरूको सहयोग र उद्धारमा खटिएका म्याग्दीका केही युवाहरूको कार्य देख्दा म्याग्देलीमात्र होइन, छिमेकी जिल्ला पर्वत र बागलुङबासी पनि उत्प्रेरित भएका छन् । संकटका समयमा यहाँका युवाहरू सुरज केसी, आनन्द रिजाल र जनक सोनामको कार्यको सर्वत्र सराहना गरिएको छ । उनीहरूले हरेक प्रकारले संक्रमणमा परेका र उनीहरूका परिवारका लागि आवश्यक सहयोग गर्दै आएका छन् ।
पेशाले केसी शिक्षक, विद्यालय सञ्चालक र रेडक्रसकर्मी हुन् । रिजाल जिल्ला प्रशासन कार्यालयमा सवारी चालक हुन् भने सोनाम बेनी अस्पतालमा करारका कर्मचारी हुन् । बेनीको माउण्ट एभरेष्ट आवसीय माविका स्वास्थ्य र पत्रकारिता विषयका शिक्षक केसीसहित यी तीनजना युवाको उदात्त कार्यले जिल्लावासीको मन जितेको छ । उननीहरू सबै सचेत भएका कारण पनि सहयोगमा जुट्न उनीहरू निर्धक्क भएर लागेका छन् । उनीहरूको सहयोगले अरुलाई पनि केही सहज बनाएको छ ।

उनीहरू बिहान उज्यालो भएदेखि राती १२÷१ बजेसम्म कोरोना संक्रमितहरूको सेवा, सहयोग र संक्रमित भएकै अवस्थामा मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा खट्ने गरेका छन् । ‘अहिलेसम्म २० वटा शवको व्यवस्थापना गरिसकेका छौँ, अस्पतालको शय्यामा मृत्यु भएमा नजिक रहेका विरामीहरूको समेत आत्मबल कमजोर हुने भएकाले हामीले म्याग्दी रेडक्रसले उपलब्ध गराएका स्वास्थ्य सुरक्षाका साधनहरूको प्रयोग गरेर सबैभन्दा पहिला मृतकलाई शय्याबाट बाहिर निकाल्छौँ,’ केसीले भने, ‘त्यसपछि मृतकका आफन्तहरूको इच्छाअनुसार दाह (जलाउने) वा स्काभेटरको सहयोगले कालीगण्डकी नदीको छेउमा खाल्डो खनेर अन्त्येष्टि संस्कारको औपचारिकता पूरा गर्दछौँ ।’ उनले आफूहरूले स्थानीय संक्रमित शव व्यवस्थापन र उनका परिवारलाई पु¥याउदै आएको सहयोगका बारेमा बताए ।

‘कतिपय संक्रमितका आफन्तहरू विरामीको नजिक जान र विरामीलाई हेर्न नै डराउनुहुन्छ, त्यस्तो अवस्थामा विरामीलाई चाहिने सम्पूर्ण कुराहरू हामीले उपलब्ध गराउनुका साथै होम आइसोलेशनमा रहनुभएका सिकिस्त अवस्थाका संक्रमतिहरूलाई लिन गाडी लिएर उहाँहरूकै घरमा जाने गरेका छौँ,’ संक्रमितको सहयोग र व्यवस्थापनमा खटिदै आएका अर्का स्वयंसेवक आनन्द रिजालले भने । उनीहरूले सबै प्रकारका संक्रमित र संक्रमणका कारण निधन भएकाको शव समेत निशंकोच व्यवस्थापन गरी रहेका छन् ।

स्वास्थ्य सावधानी अपनाएर संक्रमितको जीवनरक्षा र संक्रमित अवस्थामा मृत्यु भएकाहरूको व्यवस्थापनका लागि जुनसुकै बेला सहयोग गर्न तत्पर रहने यी तीन जना युवाहरूका कारण संक्रमितको उपचार र व्यवस्थापनमा अस्पताललाई निकै सहज भएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटवालले बताए । उनले तीनै जना युवाको कार्यमा खुलेर प्रसंशा गरे ।

‘उँहाहरूको कामले हामीलाई निकै सहयोग मिलेको छ, स्वाव संकलन गर्नेदेखि लिएर अस्पतालमा उपचाररत संक्रमितहरूको रेखदेख, संक्रमितका आफन्तहरूलाई उचित परामर्श र संक्रमित अवस्थामा मृत्यु भएकाहरूलाई नजिकको संक्रमितको मनोबल कमजोर नहोस् भनेर थाहा नहुने गरी ठाउँ परिवर्तन गर्दै शव व्यवस्थापनसम्म उहाँहरू नै खट्नुभएको छ ।’ अध्यक्ष कटुवालले भने, ‘उहाँहरूको सेवा र सहयोगको जति प्रसंशा गरेपनि कम नै हुन्छ ।’

बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले उनीहरूको खटाइबाट आँफू निकै प्रभावित भएको बताए । डा. बस्ताकोटीले भने, ‘यो एउटा अदृश्य शत्रु (भाइरस) सँगको प्रत्यक्ष लडाइँ हो । यस लडाइँका योद्धा हामी सबै हौँ । विशेष गरी उपचारका क्रममा हामीलाई निकै सहज भएको छ । उपचार बाहेक अरु कुनै कुरा हामीले हेर्नु परेको छैन । सबैकाम उहाँहरू (सुरज केसीको टिम) बाट भएको छ ।’

छिमेकी जिल्ला पर्वतको लेकफाँटबाट उपचारका लागि बेनी अस्पतालमा आएका गोकर्ण सुवेदीले अस्पतालको सेवा र चिकित्सकहरूको व्यवहार देखेर आफूलाई निकै खुशी लागेको बताए । अस्पताल र उपचारमा खटिनेको व्यवहारले पनि बिरामीको मनोबिज्ञानमा असर पुग्ने हुदाँ त्यसमा अस्पताले ध्यान पु¥याएको देखिन्छ ।

‘सरकारी अस्पतालमा उपचारै हुदैन, डाक्टरहरूले विरामीको ध्यान नै दिँदैनन् भन्ने सुनिन्थ्यो तर बेनी अस्पतालमा भने मैले त्यस्तो पाइन,’ सुवेदीले भने, ‘यहाँ त विरामीको सेवामा चिकित्सकहरू जुनसुकै समयमा पनि तत्पर हुनुहुँदोरहेछ । साथी जस्तो व्यवहार, हसिलो अनुहार र विरामीलाई हरेक समय परामर्श दिनुहुन्छ ।’ बेनी अस्पतालको व्यवस्थापकीय पक्ष अत्यन्तै राम्रो रहेको आफूले पाएको उपचारका लागि अस्पतालमा आएका प्रकाश माध्यमिक विद्यालय बेनीका पूर्व प्रधानाध्यापक शिवकुमार केसीले बताए । उनीहरू अस्पतालको व्यवहारले यति बेला उपचारका लागि आएका बिरामी र उनका आफन्त सन्तुष्ट देखिन्छन् ।

कर्तव्यपरायण एम्बुलेन्स चालक म्याग्दीका गोपी गौतम र केशर शेरपुञ्जाले त ३६ घन्टासम्म पानीमात्र पिएर संक्रमितको सेवा गरेका छन् । ‘मैले ३६ घण्टासम्म पानी मात्र खाएर पनि एम्बुलेन्स कुदाएको छु । खान खाने समय नै मिल्दैन । बाटोमा हामीलाई देखेर होटलवालाले पनि ढोका बन्द गरे । पानीको भरमा विरामी राखेर एम्बुलेन्स काठमाडौँसम्म पु¥याएको छु’ बेनी अस्पतालको एम्बुलेन्स चालक गौतमले भने । संक्रमित मात्रै होइन, संक्रमित नजिक भएकाको नजिक हुनेसँग पनि समाज डराइरहेको अवस्था छ । यसलाई अन्त्य गरिनु पर्न देखिन्छ । चालक गौतमको भोगाइ अनुसार पनि समाजले हेर्ने दृष्टिकोणर व्यवहारमा परिवर्तन हुन आवश्यक छ ।

‘कैयौँ दिनसम्म पनि राम्रोसँग खान र सुत्न पाइएन । निद्रा पनि नभनि एम्बुलेन्स हाँक्नुपर्दथ्यो । साह्रै निद्राले च्यापेर निद्रा भगाउन एकदिन त लगाएको कपडा समेत पानीमा भिजाएर चिसो बनाई लगाइयो’ रेडक्रस म्याग्दीको एम्बुलेन्स चालक केशर शेरपुञ्जा मगरले अनुभव सुनाए, ‘यस्तो त यो बीचमा धेरै पटक भोगेँ ।’ उनले आफ्नो दुखद भोगाइ सुनाए ।

बेनी अस्पतालले पोखरा र काठमाडौंका अस्पतालमा रिफर गरेका विरामीहरूलाई बोक्ने काम यी एम्बुलेन्स चालकहरूले गरे । अक्सिजनसहितको व्यवस्था भएका यी दुई एम्बुलेन्स विरामीको सेवाका लागि चौबीसै घण्टा कुदे । यस्तै कर्तव्यपरायण र परोपकारी व्यक्तिहरूको मद्दतले अहिले म्याग्दीमा कोरोना संक्रमण घट्दै गएको छ । गत सोमबारसम्म म्याग्दीमा ४ हजार ८ सय ६४ जनाको नमुना संकलन भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय १२ रहेको छ भने २ हजार ३ सय ५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यसैगरी कोभिडकै कारण जिल्ला भित्र ३३ र जिल्ला बाहिरका विभिन्न अस्पतालमा गरी गएको सोमबारसम्म ४९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो संख्या निरन्तर बढी रहेको छ । यसलाई नियन्त्रणमा राख्न सम्बन्धीत निकाय सक्रिय देखिएको छ ।

प्रतिक्रिया