इन्टरनेट खपत बढेसंगै गुणस्तर खस्कियो

काठमाडौं । निषेधाज्ञाले इन्टरेनट खपत बढेसंगै यस्को गुणस्तर खस्किन थालेको छ । पछिल्लो समय इन्टरेनट ‘स्लो’ भएको आम उपभोक्ताको गुनासो बढेको हो । दोस्रो लहरको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला सगैँ देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको कारण इन्टरनेटको माग बढेको इन्टरनेट प्रदायक संस्थाले बताएका छन । निषेधाज्ञाले ‘वर्क फर्म होम’ को अबधारण सुरु भएको कारण घरमा बसेर काम गर्नेको संख्या बढेको छ । यो संगै बाबु नानीहरुको अनलाइन कक्ष संचालन भैरहेको कारण इन्टरनेट खपत बढदो क्रममा रहेको छ ।

अन्य समयको तुलनामा निषेधाज्ञा जारी भएसगैँ इन्टरनेट खपत ३० प्रतिशतले बढेको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत बढेको इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले बताएका छन । उनका अनुसार अन्य समयको तुलनामा घरमा बस्नेले इन्टरनेटको प्रयोग बढी गर्दा ब्यान्डविथ खपत बढेको हो ।

अन्य समय रातको समयलाई पिकआवर भन्ने गरिएकोमा निषेधाज्ञाको समयमा दिनमा नै पिक आवर जस्तै ब्यान्डविथ खपत हुने क्रम पनि पछिल्लो समय बढेको छ । निषेधाज्ञा अघि पिक आवरभन्दा अन्य समयमा औषतमा ६ सय जीबीपीएस सम्म ब्यान्डविथ खपत हुने गरेकामा हाल उक्त खपत दिउँसोको समयमा ९ सय जीबीपीएस सम्म हुने गरेको छ । पिक आवरमा भने १ टीबीपीएससम्म इन्टरनेट खपत भइरहेको छ । सामान्यतः साँझ ७ बजेदेखि राति १० बजेसम्मको समयलाई नेपालको इन्टरनेट प्रयोगका हिसाबले पिक आवर मानिन्छ । सामान्य दिनमा यो समयमा इन्टरनेटको प्रयोग दिउँसोभन्दा अत्यधिक बढी हुन्छ ।

नेपालका नेटवर्क सेवा प्रदायक समूहको तथ्यांकअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये करिब ८० प्रतिशत ब्यान्डविथ गुगल र फेसबुकमा प्रयोग हुने गरेको छ । यस्तै, गुगलको प्रयोगमा करिब ५० प्रतिशत र फेसबुकमा ३० प्रतिशत ब्यान्डविथ खपत भइरहेको छ । समाचारजन्य अनलाइन सामग्रीमा ८ प्रतिशत, टिकटक, अकामाई र इन्टरनेट सेवा प्रदायकको कन्टेन्टमा २÷२ प्रतिशत ब्यान्डविथ खपत हुने गरेको छ ।

प्रतिक्रिया