कोरोनाबाट अग्रज पत्रकार बास्तोलाको निधन

गण्डकी । नेपाल पत्रकार महासं घकास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको कोरोना संक्रमाणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहेका उनलाई थप उपचारको लागि चरक अस्पताल भर्ना गरिएकामा आज बिहान ३ः१० बजे उपचारका क्रममा निधन भएको हो । कास्कीको पुरञ्चौरमा जन्मिएर हाल पोखरा महानगरपालिका–५ मा स्थायी बासिन्दा रहेका स्व बास्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् ।

पोखरामा झण्डै चार दशक पत्रकारिता गरेका स्व बास्तोलाले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गरेका थिए ।

यसैबीच बास्तोलाको निधनप्रति नेपाल पत्रकार महासंघ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलिसभामा महासंघका अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उनले गरेको योगदानको चर्चा गरेका थिए । असामयिक निधनप्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिलगायतका पत्रकार सम्बद्ध संघसंस्थाले शोक वक्तव्य प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् ।

बास्तोलाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील, इमान्दार र यस क्षेत्रको एक अभिभावक गुमाएको उल्लेख गर्दै विज्ञप्तिमा स्व पत्रकार बास्तोलाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । यसअघि कास्कीका युवा पत्रकार जगन्नाथ पौडेल (गणेश) को पनि कोरोना संक्रमण भई निधन भएको थियो ।

प्रतिक्रिया