४६ वर्षकी भइन् शिल्पा

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीको ४६ वर्ष लागेकी छन् । भारतीय चलचित्र उद्योगमा फिटनेस र सुन्दरताका लागि चिनिएकी शिल्पाको ८ जुन, १९७५ मा मंगलौरमा जन्म भएको हो । अभिनय र नृत्यमा कुशल शिल्पाले मुम्बईबाट पढाई पूरा गरेकी हुन् । उनले भरतनाट्यम डान्समा प्रोफेसनल तालिम समेत लिएकी थिइन् । उनी विद्यालय पढ्दा भलिबल टिमको कप्तान थिइन् । यस्तै शिल्पा कराँतेकी ब्ल्याक बेल्ट समेत हुन् । उनले बलिउड अभिनेता शाहरुख खानको चलचित्र ‘बाजिगर’ बाट बलिउडमा पाइला टेकेकी हुन् । उक्त चलचित्रमा उनको विशिष्ट भूमिका रहे पनि उत्कृष्ट अभिनयका कारण नै सबैको ध्यान खिच्न सफल भएकी थिइन् ।

उनी चलचित्र क्षेत्रमा आउनुअघिसम्म मोडलिङ पेसामा आबद्ध थिइन् । उनी सन् १९९१ मा लिम्माको विज्ञापनमा देखिएकी थिइन् । त्यसपछि शिल्पाले दर्जनौं विज्ञापनमा देखिइन् । त्यसपछि मात्रै उनले चलचित्र ‘बाजिगर’ मा काम गर्ने अवसर पाइन् । अक्षय कुमारसँग प्रेमसम्बन्धमा रहेकी उनले सन् २००९ मा व्यापारी राज कुन्द्रासँग विवाह गरेकी थिइन् । दुवैको भेटघाट लण्डनमा भएको थियो । अहिले उनीहरुका एक छोरा वियान र छोरी समीक्षा छन् ।

पछिल्लो समय उनी चलचित्रमा कम र रियालिटी सो बढी देखिँदै आएकी छन् । चलचित्रबाट टाढै भए पनि उनको चर्चा बलिउडमा भइरहन्छ । उनले आफ्नो योगा क्षमतामा नयाँपन दिएसँगै यसै विषयमा डिभिटी लञ्च समेत गरेकी छन् । स्वस्थ खानाका बारेमा पुस्तक लेखेकी उनले आफ्नै युट्युब च्यानलमार्फत फरक–फरक स्वस्थ खानेकुराको रेसेपी सेयर गर्दै आएकी छन् ।

बलिउडकी फिटनेस अभिनेत्रीको परिचय बनाएकी शिल्पाले मंगलबार ४६ औं जन्मदिन मनाइन् । उनले सन् १९९२ मा चलचित्र ‘गाता रहे मेरा दिल’ मा काम गरे पनि त्यो चलचित्र प्रदर्शनमा आउन सकेन । त्यसपछि अभिनेत्री शिल्पाले ‘बाजीगर’ मा काम गरेकी हुन् । यो चलचित्र निकै सफल भयो । यसपछि उनको करिअरले गति लिन थाल्यो । उनले करिअरको सुरुवाती दिनमा ‘आग, खिलाडी तु अनाडी’ लगायतका चर्चित चलचित्रमा काम गरिन् । त्यहीवेलादेखि उनको प्रेमकथा पनि सुरु भयो ।

अभिनेता अक्षय कुमारसँग शिल्पाको गहिरो प्रेम भए पनि अधुरै रहन गयो । उनीहरुलेसन् १९९४ मा प्रदर्शनमा आएको चलचित्र ‘खिलाडी तु अनाडी’ मा एकसाथ देखिएका थिए । यसपछि यी दुईको जोडी प्रेममा डुबेको थियो । अभिनेता अक्षय कुमारले अभिनेत्री रविना टण्डनसँगको प्रेमसम्बन्ध तोडेर शिल्पासँग सम्बन्ध जोडेका थिए । अक्षयसँग शिल्पा जोडिएपछि रविनासँगको सम्बन्धमा अक्षयले पूर्णविराम लगाएका थिए । केही समयपछि अक्षयको जीवनमा अभिनेत्री ट्विंकल खन्नाको प्रवेश भयो । ट्विंकलको प्रवेशसँगै उनले शिल्पासँगको सम्बन्धलाई तोडेका थिए ।
ट्विंकलसँग ‘चलचित्रफेयर म्यागेजिन’ का लागि एकसाथ फोटोसुट गरेपछि अक्षय उनीसँग नजिकिएका थिए । चलचित्र ‘मे खिलाडी तु अनाडी र इन्साफ’ लगायतका सँगै काम गरेका अक्षय र शिल्पाको अन्तिम चलचित्र ‘धड्कन’ सन् २००० मा प्रदर्शनमा आएको थियो । अक्षयले धोका दिएपछि शिल्पाले उनीसँगको सम्बन्ध तोड्दै कहिल्यै माफ नगर्ने बताएकी थिइन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मैले कहिले पनि सोचेको थिइनँ कि अक्षयले मेरो साथमा यस्तो गर्नेछन् । म ट्विंकललाई यो कुरामा दोषी मान्दिनँ । जब मेरो पार्टनरले नै मलाई धोका दिएका छन् भने अरुसँग म किन गुनासो गर्नु ?’

अरु कोही पाएपछि आफूलाई अक्षयले किनारा लगाएको बताउँदै शिल्पाले उनले आफूलाई प्रयोग गरेको आरोप समेत लगाएकी थिइन् । उनले भनेकी छन्, ‘म खुसी यसकारण छु कि मैले आफूलाई यो घटनाबाट बाहिर निकाल्न सकेँ । म अक्षयलाई कहिले पनि माफी दिन्नँ र उनीसँग कहिले पनि काम गर्दिनँ ।’ शिल्पाले अक्षयलाई युवतीको भरोसा जित्नका लागि उनीहरुसँग बिहेको नाटक रच्ने गरेको आरोप समेत लगाएकी थिइन् । अभिनेता अक्षय कुमारले अभिनेता राजेश खन्नाकी पुत्री ट्विंकलसँग सन् २००१ मा बिहे गरेका थिए । त्यस्तै शिल्पाले व्यापारी राज कुन्द्रासँग सन् २००९ मा बिहे गरेकी थिइन् ।

प्रतिक्रिया