एमाले समस्याको मूल जड नै शीर्ष तीन नेता हुन : योगेश भट्टराई

काठमाडाैं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले पार्टीभित्र देखिएको समस्याको मूल जड अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल रहेका ठहर गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता भट्टराईले एमालेका तीनै नेताहरू आफूभित्र नमिल्ने र बाहिर अन्य दलसँग गठबन्धन गर्ने समस्या रहेको बताए ।

उनले लेखेका छन्, ‘एमालेको एकताको मूल जड ? कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मूल जड यहीँ छ । यस विषयमा कमरेडहरू बीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ ।’

प्रतिक्रिया