फिरन्ते चरित्रमा अतिक्रमण नगर

यति बेला राउटे समुदायका दुई युवतीमाथि यौन दुव्र्यवहार गर्दै अश्लील भिडिओ बनाएको घटनाले धेरैको ध्यान सुर्खेततिर तानिएको छ । युवतीमाथि गरिएको उक्त घटनापछि लोपोन्मुख फिरन्ते समुदायको संरक्षणका निम्ति कानुनी र सचेतना अभियान अघि बढाइएको सुरक्षा निकायले जनाएको छ । अघिल्लो साता १८ र २२ वर्षीया राउटे युवतीसँग होटेलमा बसेको अश्लील भिडिओ बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । जबरजस्ती करणीसहित दुईवटा अभियोगमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ । उक्त घटनापछि सामाजिक सञ्जालमा राउटेहरूको पक्षमा धेरैले अभिव्यक्ति दिएका छन् ।

एक अनुसन्धानकर्ताले विगतका वर्षहरूमा राउटेको परम्परागत जीवनशैलीमाथि जोखिम बढ्दै गएको भन्दै त्यसमाथि थप अतिक्रमण हुने गतिविधि कसैले गर्न नहुने बताएका छन् । स्थानीय सामाजिक कार्यकर्ताले सुर्खेतको राउटेबस्तीबाहिर सुरक्षा अवस्था कडा पारिएको र भित्र कसैलाई पनि उक्त घटनाबारे थाहा नभएको बताए । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले यौन दुर्व्यवहार गर्ने र अश्लील भिडिओ खिच्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइएको बताए । उनले भने, ‘मानव ओसारपसार र जबरजस्ती करणी भन्ने गम्भीर किसिमको मुद्दा लगाइँदैछ । मान्छे लिएर गएर यौन दुव्र्यवहार गरेको उनीहरूले सकारेका छन् ।’

प्रहरीका अनुसार युट्युब र अन्य सामाजिक सञ्जालमा प्रेषित भिडिओ हटाउने प्रयास गरिरहेको भए पनि गाह्रो छ । प्रहरी प्रवक्ता कुँवरले भने, ‘धेरै मान्छेले सेयर गरेपछि भिडिओ हटाउन कठिन हुँदोरहेछ । हामीले धेरै प्रयास गरेका छौँ । जुनजुन देखापरेको छ त्यो हटाइदिइरहेका छौँ ।’ उक्त घटनाप्रति नेपाल प्रहरी संवेदनशील रहेको र गर्न सक्ने सबै गरिरहेको उनले बताए ।

उक्त भिडिओ सार्वजनिक भएपछि प्रहरीको साइबर ब्युरोले सोमबार केन्द्रबाट विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरूमार्फत् अमर्यादित कार्य गर्ने र चरित्र हत्या गर्ने उद्देश्यबाट प्रेरित सामग्री बनाउनेहरूलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ । उनका अनुसार राउटेहरूसँग काम गर्ने संस्थाहरूलाई समन्वय गरेर प्रहरीले स्थानीय अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ ।

उक्त घटनापछि गुर्भाकोट नगरपालिकाअन्तर्गत सुर्खेत जाजरकोट सडकखण्डनजिकै पर्ने सडक छेउमा बनाइएको अस्थायी राउटेबस्तीबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । सुर्खेतको लेकवेसीबाट डेढ साताअघि मात्रै राउटेहरू उक्त ठाउँमा सरेका हुन् । एउटा गैरसरकारी संस्था सामाजिक सेवा केन्द्रअन्तर्गत जोडी शिक्षकका रूपमा काम गर्ने लालबहादुर खत्रीले बाहिरका कसैलाई पनि बस्तीभित्र प्रवेश गर्न नदिइएकाले पीडित भनिएका महिला र मुखियाबाहेक अरूलाई घटनाका बारेमा केही थाहा नभएको बताए ।

उनले भने, ‘केही दिनअघिबाट एकजना राउटे युवती टिकटकमा भाइरल भएपछि युट्युब चलाउनेहरू र अरू बाहिरका मानिसहरू आएर भिडभाड हुन थालेको थियो । मान्छे बढी आएपछि उनीहरूको रोग हाम्रोमा सर्छ र हाम्रो रोग उनीहरूलाई लाग्छ भनेर राउटेहरू भन्दै थिए । मानिसहरूलाई यहाँ नआओ भनेर भनिरहेको अवस्थामा यो घटना भएको हो ।’ राउटे समुदायसँगकै सहमतिमा सशस्त्र र जनपद प्रहरी उनीहरूको पछिल्लो आवास क्षेत्रमा खटाइएको छ ।
सुर्खेत प्रहरीका प्रमुख एसपी राजेन्द्र भट्टले होटेल सञ्चालकसहित तीन जनालाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । उनले जोसुकै मान्छे राउटे बस्तीमा गएर टिकटक र विभिन्न किसिमका भिडिओ बनाउने प्रवृत्ति देखिएकाले प्रहरी खटाएर अनावश्यक व्यक्तिहरूलाई जान नदिने व्यवस्था मिलाइएको बताए ।
उनले भने, ‘हामीले गम्भीर भएर हेरिरहेका छौँ । यो मुद्दाबाहेक साइबर अपराधमा पनि अनुसन्धान अघि बढेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास अधिकृतको नेतृत्वमा एउटा समिति गठन भएर मनोपरामर्श दिने कुरा भएको छ ।’
प्रहरी प्रमुख भट्टले मादकपदार्थ सेवन गर्ने, बाहिर डुल्ने जस्ता विकृतिहरू राउटे समुदायमा देखिएको भन्दै सम्झाएर त्यसलाई नियन्त्रण गर्न उक्त समितिले काम गरिरहेको बताए । प्रहरीले उक्त समितिको पनि सहयोग लिएर अनुसन्धान अघि बढाइरहेको उनले बताए ।
राउटे समुदायको जीवनशैलीलाई १७ वर्षदेखि पछ्याइरहेका अनुसन्धानकर्ता एवं वृत्तचित्र निर्माता हरि थापाले कानुनी प्रक्रियाबाट पछिल्लो घटनाका दोषीले सजाय पाउने भन्दै राउटे समुदायलाई आफ्नै परम्परागत जीवनशैली बाँच्न दिनुपर्ने बताए ।
उनले भने, ‘अरू समुदायमा पनि यस्ता घटना हुन्छन् । यो घटनापछि राउटे युवतीहरूले नै आफूलाई जोगाउने उपायहरू सोच्छन् । राउटेमा पिट्ने भन्ने खासै हुँदैन । झगडा पर्दा पनि उनीहरू नृत्यशैलीमा गर्छन् । दोषीलाई जे गर्नुपर्ने हो कानुनले नै गर्ने भएकाले यो घटनाबाट उक्त समुदायको परम्परागत जीवनशैलीमा हस्तक्षेप नहोस् भन्नेमा हामी सबै सचेत हुनुपर्छ ।’
विवाहित राउटे महिलाहरू बस्तीबाट बाहिर जाने अभ्यास लगभग नरहेको र समुदायले महिलालाई एकदमै महत्तव दिने गरेको उनले बताए । अहिलेको घटनाबाट पाठ सिकेर राउटेहरूलाई एकएक गर्दै कुरा बुझाउने, दोषीलाई सशक्त कारबाही गर्ने र राउटेलाई माया गर्न समुदायलाई चेतना जगाउने सहितका काम गर्नुपर्ने उनको तर्क छ ।
नेपालमा लगभग डेढ सयजति राउटेहरू रहेको अनुमान छ । उनीहरूलाई नेपालको ‘अन्तिम फिरन्ते समुदाय’ पनि भन्ने गरिन्छ । एकै ठाउँमा नबस्ने, खेती नगर्ने र पढाइ लेखाइ नगर्ने उनीहरू जंगलबाट काठ संकलन गरी भाँडाकुँडा बनाउँछन् र यसैबाट गुजारा गर्छन् ।
विगत केही वर्षदेखि शिक्षा, सरसफाइ र सामाजिक सुरक्षाका कतिपय कार्यक्रमबाट राउटे समुदायको विशेष जीवनशैलीलाई जोखिम पुगेको अनुसन्धानकर्ता थापाले बताए । उनले भने, ‘राउटेहरूलाई यो (पछिल्लो घटना) कुरा भयो भने थाहा पनि हुँदैन । उनीहरू शान्त किसिमका हुन्छन् । अरूको परिवारको बारेमा चासो पनि राख्दैनन् । रक्सी खाएर केटाहरू उफ्रिने बाहेक त्यहाँ हल्लाखल्ला पनि हुँदैन ।’
सम्बन्धित निकायहरूले राउटेलाई खेतीपाती गरेर खाओ भन्ने, पढ्न बाध्य पार्ने वा जग्गा दिने जस्ता काम गर्नुभन्दा उनीहरूलाई आफ्नै ढंगले अघि बढ्न प्रेरित गरे राम्रो हुने उनले बताए । थापाका अनुसार उनीहरूलाई काठका सामग्री बनाउन प्रेरित गरी त्यसको बजार व्यवस्थापन गरिदिएर स्थानीय सरकारहरूले सहयोग गर्न सक्छन् ।
सरकारले उनीहरूलाई मासिक तीन हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । त्यसबाहेक प्रदेश सरकारले पनि मासिक दुई हजार रुपैयाँ दिने गरेको छ । (बिबिसी)

प्रतिक्रिया