ललिता निवासको जग्गा प्रकरण : ४९ जनाविरुद्ध २१ दिने सूचना प्रकाशित

काठमाडाैं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना प्रकाशित गरेको छ । आइतबार गोरखापत्रमा सूचना जारी गर्दै सरकारले २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा सूचना दिन जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।

यसरी सूचना जारी हुनेमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा मालिक मीनबहादुर गुरुङ, उक्त जग्गामा मुख्य विचौलिया रामकुमार सुवेदी, शोभकान्त ढकाल, ढकालकी श्रीमती उमाकुमारी ढकाल, व्यापारी मनोजकुमार केडियालगायत रहेका छन् ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ। अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने सुचनामा उल्लेख छ।

सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ। उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयको छ। ढकालपछि मीनबहादुर गुरुङको परिबारको नाममा रहेको छ।

प्रतिक्रिया