साधनाबाट मक्ख दियाली

‘जातीय भेद्भाव कस्तो हुन्छ ?’ इलामका संगीत साधक राम दियालीलाई सोधे हुन्छ । दलित समुदायमै जन्मेका कारण कुनै बेला कस्ता सकस भोग्नु प¥यो उनले भोगेका छन् । कुरा २००६ सालको हो । अनेक विभेद्पूर्ण व्यवहार थियो समाजमा उच र निचको बहस चल्थ्यो । विभेद एक ठाउँमा केन्द्रित थिएन, जताजतै थियो । शिक्षित भनिने नै विभेदमा लाग्थे भने नपढेका र कथित तल्लो जातका व्यक्ति सिकार बन्थे । एक दिनको कुरा हो, इलाम नगरपालिकाका दलित समुदायका राम दियालीसहित पाँच बालक सहपाठीसहित अध्ययनका लागि इलामको आदर्श माध्यमिक विद्यालय (हालको) पुगे । सदरमुकामको एक मात्र विद्यालयमा पढ्न पाउने धोको पूरा गर्न विद्यालय प्रवेश गरेका विद्यार्थीले कक्षामा पस्न पाएनन् । आफ्ना सहपाठी कक्षामा पढिरहेका थिए तर ती बालकलाई न कक्षामा बोलाइयो, न पढाउनलाई कुनै शिक्षक उनको नजिक आए ।

कक्षाकोठामा प्रवेश नपाएकामा कौतुहलता जागिरहेको थियो तर कारण पत्ता लागेन । एक दिन होइन, दुई दिन होइन, हरेक दिन त्यो व्यवहार दोहोरिरह्यो । ‘हामीलाई बाहिर किन राखियो थाहा भएन । धेरैदिन बाहिर राखेपछि घर गएर भन्यौँ,’ दियालीले भने, ‘हिउँदको समयमा बाहिर बस्दाको पीडा कम भए पनि बर्खामा भने कष्टकर बन्दै गयो । खरले छाएको विद्यालय चुहिएर बाहिर बसेका विद्यार्थीलाई भिजाउन थाल्यो तर कक्षाकोठामा प्रवेश पाइएन ।’

परिवारलाई सुनाएपछि भने विद्यालय जानै बन्द भयो । १९९५ मा इलाममै जन्मिएका दियालीको पारिवारिक आर्थिक स्थिति कमजोर थियो । पुख्र्यौली पेशाबाट आएको आनासुकीले परिवार पाल्न धौधौ हुन्थ्यो । परिवारमा विद्यालय शिक्षा अनिवार्य हो भन्ने छाप राम्रै परेको थियो । यसैको प्रभावले दियालीलाई विद्यालय पठाए । विद्यालयमा त्यो हदसम्मको हर्कत बेहोरे पनि दियालीलाई पढाउन अनेक विकल्प सोचियो । उनका बुबाले इलाम सदरमुकामकै एक घरमा पढ्ने वातावरण मिलाए । करिब ६ महिना पढेपछि देशकै राजनीतिक व्यवस्था उल्टियो ।
बाल मनोविज्ञानले आफूमाथि भएको विभेद नबुझे पनि उमेर बढ्दै जाँदा बुझ्न सक्ने बनायो । यसकै असरले उनलाई जीवनमा केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो । उतिबेला फाट्टफुट्ट मात्र संगीतकार र गायक भएकाले उनलाई त्यतै तानिन मन लाग्यो ।

एकदिनको कुरा हो, दियालीले कसैले बाँसुरी बजाइरहेको देखे । एउटा बाँसको ठुटोबाट सुमधुर धुन निस्किरहेको देखेपछि उनी त्यतैतिर तानिए । नजिक पुगेर हेर्दा एउटा बाँसमा केही खाल्डा पारिएको देखे । ‘बाँसबाट आएको आवाजले मलाई अचम्म लाग्यो । सामान्य चिज बाँसबाट पनि यस्तो आवाज आएको देख्दा जान्न मन लाग्यो,’ उनले भने, ‘त्यही देखेर घर गएर बाँसुरी बनाउन थालेँ । बाँसुरी बन्यो तर बजेन । अघि सुमधुर बजेको बाँसुरी र अहिले बजाएको बाँसुरीको तुलनै मिल्दैन थियो । मलाई हुनसम्म तनाव भयो ।’

उनलाई खपिनसक्नु भएन । जसरी पनि बाँसुरी बजाउनु थियो तर कसरी बजाउने पत्तो थिएन । पहिले बाँसुरी बजेकै ठाउँमा दिनानुदिन धाउन थाले । ती व्यक्ति भेटिए पनि तर बाँसुरी बजाएको अवस्थामा भेटिएनन् । ती व्यक्ति थिए, तत्कालीन जिल्ला प्रशासन कार्यालयका बडाहाकिमको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी । एक दिन नारायणस्थानबाट बजार जाने क्रममा दियालीसँग ती व्यक्तिको जम्काभेट भयो । दियालीसँग भेटमात्र भएन बोलचाल पनि भयो । यसै मेसोमा दियालीले बाँसुरी सिकाइ मागे । त्यस दिनको त्यो क्षणबाट दियाली बाँसुरी बजाउन थाले । जति बाँसुरी बज्दै गयो दियालीलाई बाँसुरीप्रतिको आशक्ति बढ्दै गयो । केही समयपछि दिदीभिनाजुसँग दियालीलाई भारतको दार्जिलिङ जाने अवसर मिल्यो ।

संगीतको उर्वरभूमि दार्जिलिङमा केही समय बस्दैमा धेरै कुरा ख्याल हुँदै गयो । दियालीको लगाव देखेर चार आना भारुमा भिनाजुले बाँसुरी किनेर बिदा गरे । उनकोे मन बाँसुरीमा मात्र होइन, हारमोनियमतिर पनि तानिन थाल्यो । सदरमुकाममै बसेर हारमोनियम बजाउने श्यामकृष्ण श्रेष्ठकोे ज्ञान र सीपले उनलाई हारमोनियम बजाउन आतुर पारेको थियो । समयान्तरमा श्रेष्ठकै संगतमा उनले हारमोनियम पनि धेरथोक सिके तर उनले बाँसुरी बजाउन छाड्नु पर्ने भयो ।

‘बाँसुरी बजाउँदा दाँत झर्ने, छाती दुख्ने समस्या हुने भनेर मलाई एक जना विद्वानले भने । साह्रै डर लाग्यो र बजाउनै छाडिदिएँ,’ उनले भने, ‘बाँसुरी छाडेँ तर हारमोनियम बजाउन थालेँ । सिक्ने ठाउँ पनि गज्जबकै थियो । अहिलेको इलाम बजारको एक घरमा पुरानो किसिमको हारमोनियम थियो । त्यही बजाउथ्यौँ ।’

बाँसुरीबाट सांगीतिक खुड्किला उक्लिएका उनले अनेक वाद्यवादन समाउन पाए । समाएर आफ्नो मन र स्रोतको मनोविज्ञानअनुसारको धुन निकाल्न सक्ने भए र तर गायकी भने सुध्रिएन । वाद्यवादकसँगै असल गायक बन्ने दियालीको धोको कहिल्यै पूरा भएन । ‘बाह्र÷पन्ध्र वर्षकै उमेरमा सिकेको भए हुने थियो । ठूलो उमेरमा सिक्दा गाउन सकिनँ । मैले एककिसिमले गायकीमा हारँे’, उनले भने । स्वर बनाउनका लागि दियालीले अनेक प्रयत्न गरे । गायक अमर गुरुङ, जितेन्द्र बर्देवालगायतलाई गुनासो पोख्नुभयो तर भएन । अहिले पनि उनको प्रयास जारी छ ।
वाद्यवादन क्षेत्रमा दियालीको नाम अग्रपक्तिंमा आउँछ । उनकै कारण भाइ र छोरासमेत अहिले संगीत क्षेत्रमा छन् । ‘बुबाकै कारणले अहिले संगीतमा छु । बुबाको पूरा नभएको धोको पनि पूरा गर्ने योजनामा लागेको छु,’ जेठा छोरा सुमनले भने, ‘म मात्र होइन भाइसहित हाम्रो परिवार यसैमा छ । पहिले जस्तो असहज छैन । केही गर्न सकिन्छ कि ?’

बाल्यकालमा विभेद खेपेका दियालीलाई समयान्तरमा पनि विविध विभेद आए । बालकमा जस्तो सिधै नभने पनि बंग्यार दियालीमाथि विभेदका स्वर खनिए । वाद्यवादक भए पनि दलित भएकाले अनेक जिम्मेबारीबाट हट्नुपरेको उनी बताउछन् । कुनै संस्थाको अध्यक्ष भएको भन्दै अस्वीकार गरे भने कहिले आफू उच्च पदमा हुँदा संस्था विघटन गरेको भन्दै विवादमा तानिए । कहिले भ्रष्टाचार गरेको आरोप लगाइयो,े कहिले संस्थाबाटै निकालियो ।

दियालीले भने, ‘मेरो यो धर्तीमा फेरि जन्म भए दलितको कोखबाट चाहिँ नहोस् ।’ कुनै बेला ‘देवकोटा प्रतिष्ठान’का अध्यक्ष थिए उनी । राजाका कार्यक्रममा प्रोत्साहन गरेको आरोप लागेपछि सबै वाद्यवादनबाटै उनले हात धुनप¥यो । ‘राजाको राज्याभिषेक गर्ने बेलामा काम गर्नुप¥यो भनेर सिडिओ साहेबले भन्नुभयो, मैले सक्दिनँ भन्दाभन्दै बाजा नभए हामी मिलाइदिन्छौँ भन्नुभयो र कार्यक्रम राखियो,’ उनले भने, ‘त्यसपछि फेरि अर्को संस्था जन्मियो देवकोटा कलाकुञ्ज, हामी खुसीले रमायौँ तर मलाई कार्यक्रममा प्रोत्साहन नगरेको र वाद्यवादनप्रति वितृष्णा पाएँ ।’ अनेक समयमा विभेद सहनुपरेको उनले सुनाए ।

इलाम प्रगतिशील साहित्य समाज काठमाडौंले २०६३ सालमा गरेको सम्मान चाहिँ उनको सबैभन्दा प्यारो छ । यो सम्मान उनका लागि सम्मान मात्र होइन, पारिश्रमिक समेत हो । उनकोे पहिलो पारिश्रमिक नै सम्मानबाट आएको एक हजार हो । उनी त्यसपछि अन्य संस्थाबाट पनि सम्मानित भए । उनी सनलाइट संगीत विद्यालय तथा रेकर्डिङ स्टुडियो बिर्तामोड, फूलपाती कार्यक्रम आयोजक समिति बरबोटे, माउन्ट मेरिया वेन्ड देउरालीलगायतबाट समेत सम्मानित भए । यस्तै २०५५ सालमा नारायण गोपाल स्मृति पुरस्कार, इलाम नगर (२०५५)बाट अभिनन्दित भए । उनले ‘व्यथा र अनुभूतिहरू’ नामक पुस्तक निकालेका छन् ।

प्रतिक्रिया