लिल बन्यो फ्रान्सेली लिग च्याम्पियन !

पेरिस । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पार्दै लिलले फ्रान्सेली लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम चरणको खेलमा एन्जर्समाथि २–१ को जित दर्ता गर्दै लिल लिग च्याम्पियन बनेको हो । पिएसजीले आफ्नो खेलमा ब्रेस्टमाथि २–० को जित हासिल गरेपनि उपाधिको सिलसिलामा पूर्णविराम लागेको हो । लिलले पिएसजीलाई १ अंकले पछि पार्दै आधिपत्य तोडेको छ । लिलले लिगको ३८ खेलमा ८३ अंक जोड्दा पिएसजी ८२ अंकमा सिमित भयो । लिलले २४ जित, ११ बराबरी खेल्दा ३ खेलमा मात्र हार बेहोर्यो । यता पिएसजीले भने २६ खेलमा जित हात पार्दै ४ बराबरी खेल्दा ८ खेलमा पराजय भोगेको थियो ।

एन्जर्सविरुद्ध लिलले खेलको दशौं मिनेटमा जोनाथन डेविडको गोलमा अग्रता लिएको थियो । पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेसको पासलाई सदुपयोग गर्दै डेविडले लिललाई उपाधि नजिक पुर्याएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा बुराक यिल्माजले गोल गर्दै लिलको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा एन्जेलो फुगीलिनीले गोल गर्दै एन्जर्सलाई खेलमा फर्काउने सम्भावना देखाएका थिए । तर लिल आफ्नो अग्रतामा कायम रहँदै चौथो पटक लिग जित्न सफल रहयो । लिलले सन् २०११ पछि पहिलो पटक उपाधि जितेको हो ।

यता पिएसजीले ३७ औं मिनेटमा रोमान फाभ्रको आत्मघाती गोलमा अग्रता बनाएको थियो । एन्जल डी मारियाले प्रहार गरेको कर्नरमा फाभ्र आत्मघाती गोल गर्न पुगेका थिए । त्यसअघि ब्राजिलियन फरवार्ड नेयमार पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । डी मारियालाई फाभ्रले लडाएपछि प्राप्त पेनाल्टीलाई नेयमारले बाहिर प्रहार गरेका थिए । दोस्रो हाफको ७१ औं मिनेटमा किलियन एमबाप्पेले पिएसजीको अग्रता दोब्बर पारे । उनले डी मारियाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । एमबाप्पेले गोलरक्षकलाई छलाएपछि डिफेन्डरले लडाएपनि खालि पोस्टमा गोल गर्न सफल रहेका थिए ।

प्रतिक्रिया