१० हजार बैक कर्मचारी संक्रमित

काठमाडौं । १० हजारभन्दा बढी बैक कर्मचारी कोरोना संक्रमित भएका छन । नेपाल बैंकर्स संघका अनुसार हालसम्म वाणिज्य बैंकहरुका मात्रै १० हजारभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएको र अहिले पनि २ हजार ५ सय कर्मचारी सक्रिय संक्रमित अवस्थामा रहेका छन । कारोनाका कारण धेरै बैंकरको मृत्यु समेत भैसकेकोछ । विकास बैंकमा पनि ४ सय ४२ कर्मचारीमा कोरोना संक्रमण भएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ । जसमध्ये २ सय १४ कर्मचारी सक्रिया संक्रमित रहेका छन । लघुवित्त कम्पनीमा सक्रिया संक्रमितको संख्या एक हजारनजिक रहेको हुन सक्ने लघुवित्तकर्मीहरु बताउँछन् ।

नेपाल बैंकर्स संघले कर्मचारीमा संकमण बढ्दै गएपछि ५० हजारभन्दा कमको निक्षेप नलिने निर्णय गरेको छ । उक्त निर्णयमा नेपाल राष्ट्र बैंकले पनि समर्थन जनाएको छ । बैक कर्मचारीमा संक्रमण बढेपछि राष्ट्र बैंकले आइतबार काठमाडौं उपत्यकामा वाणिज्य बैंकले एक दिनमा ६ वटा, विकास बैंकले चारवटा र वित्त कम्पनीले तीनवटा मात्रै शाखा खोल्न निर्देशन दिएको छ । कोभिड संक्रमण बढ्दै गएपछि बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्ने नीति केन्द्रीय बैकले लिएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न नपाउने भएका छन् । यस्तै विकास बैंकले ४ र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्ने व्यवस्था गर्न निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकालले बताएका छन । वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा जम्मा ५ वटा मात्रै शाख खोल्न पाउनेछन् । यस्तै विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरि जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक–एकवटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् ।

बैंकले एउटै शाखा लगातार खोल्ने नभइ आलो–पालो गरेर शाखा खोल्नुपर्ने भएको छ । शनिबार गृहसचिव महेश्वर न्यौपानेले सुरक्षा निकायका अधिकारीसँग छलफल गर्दै निषेधाज्ञामा थप कडाई गर्न निर्देशन दिएका थिए । उनले ७७ वटै जिल्लाका प्रमुख कार्यकारी अधिकृतलाई पत्राचार गरेर र निषेधाज्ञा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया