त्रिशूली अस्पताललाई एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग

काठमाडौं । कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग गरेको छ ।

राष्ट्रिय उद्योग व्यवसायी महासंघ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कँडेल र व्यवसायी दिनेश ढकालले वागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा (एमाले) नुवाकोटका सचिव काशीराज अधिकारीसहितसँगको छलफलपछि सिलिण्डर हस्तान्तरण सुरु गरेका हुन् ।

मन्त्री पाण्डेले महामारीका समयमा सहयोग गरेकामा धन्यवाद दिँदै उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताए । नुवाकोटको ककनीस्थित उद्योगले नेपालकै सम्भवतः बढी दैनिक ७०० देखि ७५० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ । महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) को सम्मानप्राप्त कँडेल उक्त उद्योगका संस्थापक अध्यक्ष हुन् ।

उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अक्सिजन अभावका कारण कुनै पनि जिल्लाबासीको ज्यान नजाओस् भन्ने सोचेर सहयोगका लागि प्रोत्साहन गरिएको बताए । उक्त सहयोगबारे शनिबार नै अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेण्डेन्ट डा. दीपेन्द्र पाण्डेलाइ जानकारी गराइएको थियो । सिलिण्डर दैनिक १०–१० का दरले पठाइनेछ ।

प्रतिक्रिया