पीएसएल खेल्ने खेलाडीको कोरोना परिक्षण

कराँची । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट खेल्ने खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको छ । पाकिस्तानको लाहोरमा शनिबार ६ टिमका खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको हो । एसएलको बाँकी खेलका लागि युएई जानु अघि खेलाडी र अफिसियलले पीसीआर टेस्ट गराएका हुन् । कोरोना महामारीको कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा आयोजना हुँदैछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको छ । यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ । पीसीबीले दुई साता अघि प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष प्रस्ताव गरेको थियो ।

फ्रेन्चाईज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो । पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पीसीबीलाई आग्रह गरेको थियो । कोरोना भाईरसको दोस्रो लहर बढेसँगै फ्रेन्चाईज टिमले बाँकी खेल पाकिस्तानमा नगराउन आग्रह गरेको हो । युएई पुगेपछि खेलाडी र अफिसियलहरु ७ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । यस्तै टिमका खेलाडीहरु ३ होटलमा बस्नु पर्नेछ । एक होटलमा दुई टिम रहने बताईएको छ ।

प्रतिक्रिया