राष्ट्रपति र प्रधानमन्त्रीले संविधान समाप्त गर्न खोजे : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् ।

उनले आज वक्तव्यमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक र न्यायिक लडाइँ लड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

उनले एकपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई संसद्मा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनःप्रधानमन्त्री नियुक्त गरिएकोमा आपत्ति जनाउँदै संविधानको व्यवस्था र भावनानुसार ओलीले प्रधानमन्त्रीको लागि दावी गर्न नसक्ने जिकिर गरेका छन् ।

उनले त्यस्तो दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक भएको आरोप लगाएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको संविधान समाप्त गर्न खोजेको आरोप पनि उनले लगाएका छन् ।

प्रतिक्रिया