‘राधे’ लाई ४२ लाख भ्युज

मुम्बई । बलिउड अभिनेता सलमान खान अभिनीत चलचित्र ‘राधे’ हल र ओटिटी प्लेटफर्ममार्फत सार्वजनिक भएको छ । समीक्षक र दर्शकले चलचित्र खासै राम्रो नभएको प्रतिक्रिया दिइरहेका बेला प्रदर्शनको पहिलो दिन यसलाई ४२ लाख भ्युज मिलेको छ । अभिनेता सलमानको करिअरकै सबैभन्दा झुर चलचित्रको रुपमा यसलाई चित्रित गरिए पनि यसलाई दर्शकले भने उल्लेख्य साथ दिएका छन् । भारतमा ओटिटी र डिटिएच प्लेटर्फमबाट रिलिज गरिएको यो चलचित्रले डिजिटल माध्यममा सर्वाधिक धेरै हेरिएको चलचित्रको रेकर्ड बनाएको छ ।

अभिनेता सलमान अभिनीत सन् २००९ मा बनेको चलचित्र ‘वान्टेट’ नै अहिले ’राधे ः योर द मोस्टवान्टेड भाइ’ बनेर आएको समीक्षकले जिकिर गरेका छन् । पुरानै कथावस्तुलाई आधार बनाएर नयाँ तरिकाबाट चलचित्र बनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चलचित्रमा सलमान इन्काउर स्पेसलिस्टको भूमिकामा देखिएका छन् । ‘वान्टेड’ मा पनि उनी यस्तै भूमिकामा प्रस्तुत भए थिए । त्यस्तै सो चलचित्रका केही संवादसमेत ‘राधे’ मा सलमानले दोहो¥याएका छन् । यसमा सलमान राधेका रुपमा प्रस्तुत गरिएको छ ।

इदको अवसर पारेर बिहीबारदेखि ओटिटी प्लेटफर्ममामार्फत प्रदर्शनमा आएको यस चलचित्रमा सलमानले पहिलोपल्ट किस सिन पनि दिएका छन् । उनले अभिनेत्री दिशाको मुखमा टेप लगाएर गरेको किस सिनले सञ्चार माध्यममा राम्रै स्थान ठाउँ पाएको छ । पहिलो दिनमै ४२ लाख भ्युज मिलेको यस चलचित्रको पोस्टर सलमानले सामाजिक सञ्जालमा सेयर गर्दै दर्शकलाई धन्यवाद दिएका छन् । प्रभु देवाको निर्देशनमा बनेको ‘राधे’ ले पहिलो दिन ओभरसिज मार्केटमा ४ करोडभन्दा बढीको व्यापार गरेको जनाइएको छ । चलचित्रमा अभिनेता सलमान, अभिनेत्री दिशा पटानी, ज्याकी श्राफ, रणदिप हुड्डा लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया