डाँडापारिको विकट गाउँगाउँमा फैलिँदै कोरोना

काभ्रे । जिल्लाको विकट बस्तीहरू डाँडापारी, कोशीपारी र तेमालका गाउँहरूमा सर्वसाधारणहरूको लापरवाहीका कारण कोरोना संक्रमण फैलन सुरु गरेको छ । विवाह, भोज, भतेर एवं जुवातास खेल्न जम्मा भएका भिडहरूको लापरवाहीका कारण कोरोना संक्रमण संख्या बढ्दै जान थालेको हो । यी गाउँहरूमा एक दिनअघि मात्रै विवाहको कार्य निर्वाध रूपमा चलेको थियो । जसमा सयौँ गाउँलेहरूको सहभागिता रहेको थिए भने तेमाल गाउँपालिकाले वृद्ध भत्ता बैंकमा पठाएपछि गाउँलेहरूको चहलपहल बढेको थियो ।

काभ्रे जिललाको अति विकटको सूचीमा रहेको महाभारत गाउँपालिका र खानीखोलामा एकाएक गाउँलेहरू बिरामी पर्न थालेपछि पिसिआर टेस्टका लागि बुधबारबाटै किट पठाई स्वाब संकलन गरी धुलिखेल पठाएपछि त्यसको रिपोर्टले विकट गाउँहरूमा कोरोना फैलन सुरु गरेको स्थानीय स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीहरूले बताएका छन् । यता महाभारत गाउँपालिकाको केही वडाहरू सिल्ड गर्नुपर्ने अवस्था आएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

उनले भने गाउँपालिकाको चार वटा वडा सिल गरिएको छ । सिल्ड गरिएको वडाहरूमा कोभिड–१९ संक्रमितहरू भेटिएकोले सोबाट उत्पन्न उच्च जोखिम र विषम परिस्थितिलाई मध्यनजर गरी कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा नै सिल्ड गर्नुपरेको अवस्था आएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिंह विष्टले बिहीबार एक सूचना जारी गर्दै वडा–२, ३, ४ र ८ लाई सिल गरिएको उल्लेख गरेका छन् । यस्तै अर्काे खानीखोला गाउँपालिकाको वडा–७ मा पनि धेरै गाउँलेहरू अचानक बिरामी पर्न थालेपछि बुधबारै किट ल्याई बिहीबार रिपोर्ट आउँदासम्म १७ जनाको पिसिआर जाँच गर्दा १६ जनाको पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामपुकार यादवले बताए ।

वडा–७ का वडाध्यक्ष क्षेत्रमान ध्यावाले कोही पनि गाउँलेहरूलाई नआत्तिन र मापदण्ड अनुरूप सुरक्षित रहन आग्रह गरेका छन् । उनले विवाह भोज भतेरलगायत गाउँपालिकाले तोकेको सबै सर्तहरू पालना गरी सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न अपिल गरेका छन् । उनले त्यस्तो संक्रमण एवं आपत् पर्दा स्वाथ्यचौकीका कर्मचारी एवं आफूलाई तत्कालै खबर गर्न आग्रह गरेका छन् । दुबै गाउँपालिकाले त्यस क्षेत्रभित्र रहेका सबै खाले औषधि र भेटेरिनरी पसलबाहेक सबै खाले पसलहरू र होटलहरू पूर्णरूपमा बन्द गर्न र जमघट हुने सबै खालका सामाजिक कार्यहरू सबै कार्य बन्द गर्न सूचनामार्फत अनुरोधसमेत गरेको छ । काभ्रे जिल्लामा शुक्रबार बेलुका १ सय ५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४४ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार संक्रमित चार जनाको मृत्यु भएको छ । यससँगै जिल्लामा १ सय ७ जनाको मृत्युको संख्या पुगेको छ । जसमा काभ्रे जिल्लाकै ७२ जना र ३५ जना अन्य जिल्लाको रहेका छन् । प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा १९ महिला २१ पुरुष, धुलिखेल नगरपालिकामा १६ महिला ११ पुरुष, पनौती नगरपालिकामा ८ महिला ८ पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ महिला ३ पुरुष, रोशी गाउँपालिकामा १ महिला २ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला २ पुरुष, भुम्लु गाउँपालिकामा २ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकामा १० महिला १० पुरुष, तेमाल गाउँपालिकामा ६ महिला ११ पुरुष, र खानीखोलामा ६ महिला १० पुरुष संक्रमित थपिएका छन् । सक्रिय संक्रमित मध्ये ७ सय ७६ महिला र ९ सय ४८ पुरुष गरी १ हजार ७ सय २४ पुगेको छ । अस्पताल आइसोलेसनमा ८२ जना र होम आइसोलेसनमा १ हजार ६ सय ४२ जना रहेका छन् ।

प्रतिक्रिया