पहिरोले इभाङ–चतुरे सडक अवरुद्ध

इलाम । वर्षासँगै बुधबार दिउँसो झरेको पहिरोले इलामको गजुरमुखी–इभाङ–चतुरे सडक अवरुद्ध बनेको छ । गजुरमुखीबाट माङसेबुङ गाउँपालिकाको केन्द्र इभाङ हुँदै चतुरेबजार जाने सडक अवरुद्ध बनेको हो । यो सडक खण्डको वडा–२ को बिकौरेडाँडा र तामाखोलाको भिरमा दुई ठाउँमा पहिरो झरेको छ । आसपास पहिरो पन्छाउने मेसिन नभएको र मानिसले पन्छाउन सक्ने अवस्था नरहेको स्थानीयको भनाइ छ । पहिरोका कारण माङसेबुङ गाउँपालिकाको ४ वटा वडा गाउँपालिकासँग सम्बन्धि विच्छेद भएको छ । वडा–३, ४, ५ र ६ वडा गाउँपालिकासँग सम्बन्ध विच्छेद भएको हो ।

वैकल्पिक मार्गसमेत नभएका कारण ती वडाका सेवाग्राहीहरू समस्यामा परेका छन् । माङसेबुङ–२ र ३ को सीमानामा पर्ने तामाखोलासम्म सवारी साधन आए पनि त्यहाँबाट पैदल हिँड्नुपर्ने अवस्था आएको छ । सो सडक कालोपत्रे हुँदै गरेको सडक हो । कालोपत्रे ठेकेदार कम्पनी कालिका जेभीले काममा ढिलासुस्ती गरेको छ । सडकमा पहिरो झरे पनि पन्छाउन तदारुपता नदेखाएको स्थानीयको भनाइ छ ।

एक सातादेखिको लगाताको वर्षाका कारण माङसेबुङका अन्य धेरै सडकहरू पहिरोले पुरिएका छन् । कतिपय भत्केका छन् भने कतिपय खाल्डाखुल्डीका कारण अवरुद्ध भएको छ । माङसेबुङ गाउँपालिकाका अधिकाशं सडकहरू अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती भएको छ । एक ठाउँबाट अर्काे ठाउँ आवतजावत गर्न तथा अत्यावश्यक खाद्यान्न सामग्री ढुवानी गर्नसमेत समस्या सुरु भएको छ ।

प्रतिक्रिया