बिरामी बोकेको गाडी हिलोमा फस्दा बिरामीसहित कुरुवाको सडकमै वास

इलाम । पाँचथरको रवि बजारका एक अधबैंसे व्यक्ति बुधबार साँझ अचानक बिरामी परे । घाँटी दुखाइ र श्वासप्रश्वासमा समेत सामान्य समस्या भएपछि उनलाई सुविधायुक्त अस्पताल पु¥याउनुपर्ने भयो । साँझ छिपिइसकेकाले गाडीमा राखेर उनलाई झापाको दमकतर्फ हिँडाइयो ।
रवि–चिसापानी–दमक सडक (फाल्गुनन्द मार्ग) को करिब ४५ किलोमिटर यात्रा थियो । तर, भारी वर्षाका कारण सडक क्षतविक्षत र हिलाम्य त्यहीमाथि रातीको यात्रा झनै कष्टकर । रात छिप्पिँदै थियो । करिब साढे १२ बजे माङसेबुङ–३ स्थित चतुरेबजार पार गर्ने बित्तिकै गाडी हिलोमा एक्कासि फस्यो ।

करिब १५ किलोमिटर मात्र पार गरेको गाडीले हिलाम्मे सडक छिचोल्न सकेन । उपचारका लागि बिरामी लिएर हिँडेको गाडी रातभर त्यही रोकियो । बिरामी लिएर हिँडेका आफन्त अत्तालिए, तर कुनै उपाय थिएन । सडकको माथिबाट पहिरोसमेत खस्न थालेपछि उनीहरू गाडीबाट बाहिर निस्के । वास बस्नका लागि कुनै प्रबन्ध भएन । विरामीसहित कुरुवाले सडकमा नै रात बिताए । बिहान स्थानीयवासीहरू भेला भए । हिलोमा फसेको गाडी निकाल्न कोसिस गरे तर सकेनन् । स्काभेटर बोलाइयो । करिब ८ बजेतिर स्काभेटर आएर हिलो सोहोरेर फाल्यो । त्यसपछि बल्लतल्ल स्काभेटरको सहयोगमा हिलोमा फसेको गाडी निस्कियो ।

साँझ रविबाट बिरामी बोकेर हिँडेको गाडी १५ किलोमिटर पार गर्दा १२ घण्टा बित्यो । बिहान मात्र चतुरेबाट दमकतर्फ हिँड्यो । बिरामीको अवस्था सामान्य रहेकाले मात्र कुनै दुर्घटना हुन पाएन । यदि बिरामीको अवस्था गम्भीर भएको भए के हुनेथियो भन्ने विषय सोचनीय बनेको छ ।
यो एक प्रतिनिधि घटना मात्र हो । यो सडक वर्षायाममा कैयौँपटक अवरुद्ध हुन्छ । स्थानीयले यस्ता कैयौँ घटनाको सामना गर्नुपरिरहेको छ । सडक त्यहीँमाथि ठाउँठाउँमा पहिरा, खाल्डाखुल्डी र हिलोको अवरोधले यात्रा कष्टकर बन्ने गरेको छ । सडकका कारण बिरामीहरू रातभर बाटोमै रोकिनु दुःखद् भएको स्थानीयहरू बताउँछन् ।

सो सडकखण्ड निर्माण सुरु भएको करिब तीन दशक पुग्न लाग्दासमेत कालोपत्रे हुने सकेको छैन । सडक कालोपत्रे नुहँदा इलामका पश्चिमी क्षेत्र र पाँचथरका केही क्षेत्रका बासिन्दाहरू समस्यामा छन् । हिँउदमा सहजता भए पनि वर्षात सुरु हुनसाथ वर्षौंदेखिको पीडा दोहोरिरहन्छ ।
सो सडक कालोपत्रेका लागि अघिलो वर्ष नै ठेक्का सम्झौता भएको छ । दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको हो । इलामको चिसापानीदेखि झापाक दमकसम्मको ३३ किलोमिटर सडक तीन खण्डमा ठेक्का लगाएर कालोपत्रेको थालिएको हो । दुई लेनको सडक कालोपत्रे सक्ने गरी काम थालिएको हो । झापा र इलामको सिमानादेखि मर्चेबुङसम्म ६ दशमलव २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । उक्त खण्ड २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा ठेक्का लागेको थियो । काठमाडौंको महालक्ष्मी–किरातेश्वर जेभीले निर्माणको काम गरिरहेको छ ।

सडकको दोस्रो खण्ड लुम्बिनी–गणपति जेभीले ठेक्का पाएको छ । १५ दशमलव २६ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजारमा ठेक्का सम्झौता भएको छ । तेस्रो खण्डको ठेक्का पनि लुम्बिनी–गणपति जेभीले नै लिएको छ । ११ दशमलव ३० किलोमिटर सडक कालोपत्रे गर्न ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि काममा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । ढिलासुस्तीका कारण निर्माण कार्यले गति लिन सकेको छैन ।

काम ढिलो हुनुमा स्थानीयले ठेकेदार कम्पनीमाथि दोष थोपर्दै आइरहेको छन् । ‘ठेकेदार कम्पनीको हेलचेत्र्mयाइँका कारण हामीले वर्षौंदेखि उही पीडा भोग्नुपरिरहेको छ’ स्थानीय फोमी होटल एन्ड रेस्टुरेन्टका सञ्चालक रोशन राई भन्छन्, ‘स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।’ ठेकेदार कम्पनीले भने विभिन्न कारण देखाउँदै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएका छन् । तीनै खण्डमा छिटपुट रूपमा सडक विस्तार, नाली, पर्खाललगायतका पूर्वाधार तयारीका काम भए पनि ती पनि भत्किसकेका छन् । उक्त सडक प्रधानमन्त्री केपी ओली र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताहरूकै क्षेत्रको सडकको निर्माणले गति नपाउँदा स्थानीयले विरोध गरेका थिए ।

प्रतिक्रिया