काभ्रे प्रहरीले सुरु गर्यो अक्सिजनमा सहजिकरण

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले अक्सिजन नभएर संकटमा परेका विरामीहरुको तत्काल उपचारमा सहज बनाउने उदेश्यले जिल्लाका विभिन्न स्थानमा खाली रहेका अक्सिजन सिलिण्डरहरु संकलन गर्ने कार्य सुरु गरेको छ । संकलित सिलिण्डरहरु जम्मा गरी अक्सिजन भरेर प्रहरी कार्यालयले अस्पतालमा पुर्याउन सुरु गरेको हो ।

‘बुधबार राति ११ बजे बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा अक्सिजन सकिएर विरामीको उपचारमा संकट उत्पन्न भएको जानकारी प्राप्त भयो’, जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले भने, ‘तत्काल जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली डिएस्पी हरि खतिवडाको कमाण्डमा गएर अस्पतालमा १० सिलिण्डर अक्सिजन ग्याँस हस्तान्तरण गरेर फर्कियो ।’

प्रहरीले संकलन गरेका सिलिण्डरहरु भरेर तयारी अवस्थामा राख्ने र संकटमा परेका विरामीहरुलाई अस्पतालमा, आईसोलेसनमा र घरमा समेत पुर्याउन पर्ने अवस्थामा ब्यवस्थापन गर्ने गरी तयारी गरिएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । सोही अभियान अन्तर्गत वैशाख ३० गते विहिबार ३० वटा अक्सिजन ग्याँस सिलिण्डर धुलिखेल अस्पताललाई हस्तान्तरण गरिएको छ ।

प्रहरीले खाली सिलिण्डरमा अक्सिजन भर्ने तथा रेगुलेटरसहितको ब्यवस्थापन गरिरहेको प्रहरी प्रमुख एसपी खत्रीले बताए । एसपी खत्रीले भने, ‘महामारीमा अक्सिजन नपाएर कोहि नागरिकले पनि मृत्युको मुखमा पुग्न नपरोस् भन्ने अभियानका साथ काम गरिरहेका छौँ ।’

प्रहरीले बनेपा, धुलिखेल, दोलालघाट तथा विभिन्न उद्योग, कलकारखाना, ग्रिल ब्यवसायी, ग्यारेजहरुमा रहेका खाली सिलिण्डहरु दैनिक संकलन गरिरहेको छ । ‘६७ वटा संकलन भईसकेको छ, यसलाई १ सय पुर्याउने लक्ष्यका साथ धमाधम संकलन कार्य भईरहेको छ’–प्रहरी प्रवत्ता एव डिएस्पी हरि खतिवडाले बताए ।

उनले भने, ‘सिलिण्डर खाली भए लगत्तै भर्ने र संकट परेको अवस्थामा पु(याउने गरी प्रहरीको युनिट नै तयारी अवस्थामा राखिएको छ ।’ जिल्लाका दुईवटा अस्पताल धुलिखेल र बनेपाको शिरमा भएका कोभिडका विरामीहरुका लागि अक्सिजन अभाव हुन नदिन प्रहरीको समेत सक्रियतामा तयार भएका सिलिण्डहरुलाई मर्मत गरी चालु अवस्थामा ल्याईएको डिएस्पी खतिवडाले बताए ।

काभ्रे जिल्लामा अक्सिजन उद्योग भए पनि उपत्यकाका अस्पतालहरुमा दैनिक ५ सयभन्दा धेरै सिलिण्डर ग्यास पठाउने गरिएको छ । जिल्लामा आवश्यकता अनुसार अक्सिजन उपलब्ध हुन छाडेकाले अस्पतालहरुमा अक्सिजनको अभाव भएको हो । प्रहरीले कोही ईच्छुक महानुभावहरूले प्रहरी सँग मिलेर यो विपदको घडीमा काम गर्न चाहेमा पनि सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया