खोजखबर

धार्मिक पर्यटनको संगम छाङ्छाङ्दी

हरि बाँस्तोला २०७८ वैशाख २९ गते ७:१९ मा प्रकाशित

पहाडको बीच भागबाट कडा चट्टानलाई छिचोल्दै पानीको झरना छङ्छङ् झरिरहेको छ । छङ्छङ् आवाज निरन्तर सुनिने सोही झरनाका कारण यस ठाउँको नाम पनि छाङ्छाङ्दी रहन गएको स्थानीय बताउँछन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका–४ स्थित छाङ्छाङ्दी क्षेत्र यतिखेर धार्मिक पर्यटकको आकर्षण गन्तव्यका रुपमा विकास हुँदै छ । आफ्नै पिता दक्ष प्रजापतिले लगाएको यज्ञकुण्डमा छोरी सतीदेवीले हामफाली देहत्याग गरेपछि सतीदेवीको मायाले ओतप्रोत भगवान् महादेवले सतीदेवीको शरीरलाई काँधमा बोकी पृथ्वी भ्रमणका क्रममा निस्किेका थियो । यसरी हिँडेका महादेवले सतीदेवीको शरीर कुहिएर अंग अंग झरेको पनि थाहा नपाएको र त्यसै क्रममा यही छाङ्छाङ्दी क्षेत्रमा पुगेपछि सतीदेवीको शरीरका बाँकी रहेका सम्पूर्ण अंग पतन भएको कुरा श्रीस्वस्थानी व्रतकथामा उल्लेख छ ।

यसरी पीडा, थकाइ र तिर्खाले व्याकुल बनेका महादेवले त्यसै ठाउँको चट्टाने पहाडमा त्रिशूल प्रहार गरेर जल उत्पन्न गराई तिर्खा मेटाएको र त्यही स्थानमा गौमुखे पनि निस्किएको अनि सोही गौमुखेको पानीबाट यो छाङ्छाङ्दी झरना बनेको किंवदन्ती पाइन्छ । सिद्धार्थ राजमार्गको मुख्य प्रवेशद्वार रहेको यस धार्मिक क्षेत्रको महत्वलाई कायम राख्दै एकपटक पुग्नै पर्ने गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिइएको श्री छायाँक्षेत्र (शिव मन्दिर) सेवा समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले बताए ।

शिव मन्दिरको पछिल्तिर लगभग २० मिटरको उचाइबाट गाईको मुखजस्तै आकारबाट झरेको छाङ्छाङ्दी झरना ८० मिटर लम्वाइको भूमिगत ढल निर्माण गरेर उक्त पानीलाई दजुंगोलासम्म पु¥याइएको र त्यो पानी आँधीखोलामा पुगेर समाहित भएको उनले जानकारी दिए । आँधीखोलालाई दृष्टिविहीन बुबा र आमाप्रति छोरा श्रवण कुमारले देखाएको श्रद्धा र योगदानको प्रतीकका रूपमा पनि लिने गरिन्छ ।

उनका अनुसार सो शक्तिपीठमा भक्तजनले आफ्नो मनोकांक्षासहित कार्य गर्दाको अघिल्लो दिन बेलुका आवश्यक सामग्रीको संकल्प गर्दा भोलिपल्ट सम्पूर्ण सामान आपैmँ तयार हुने गरेको थप किंवदन्ती रहेको छ । यसरी उत्पत्ति हुने सामग्री एकपटक एकजना भक्तजनले चोरेर लगेका र त्यसपछि भने संकल्प गरेका सामान प्राप्त हुन छोडेको स्थानीय अझै सम्झने गर्छन् ।

मन्दिर परिसरमा गौमुखे धारा, यज्ञशाला, शिवलिंग, सन्तोषी माता, नवग्रहका मूर्ति, शिवजीको विशाल मूर्ति, राधाकृष्ण र गणेशको मन्दिर निर्माण गरिएको बताउँदै सचिव श्रेष्ठले धार्मिक क्षेत्रका शिलालाई गहिरिएर अध्ययन गर्दा गौथुनहरू, गणेशका मूर्ति, नाग, शिवका विभिन्न स्वरूप देख्न सकिने बताए ।

समितिका कोषाध्यक्ष सुवेदार रामकाजी श्रेष्ठका अनुसार मन्दिरमा पहिले पहिले गाईका बाच्छाबाच्छी चढाउने चलन भए पनि हाल भक्तजनले गरेको भाकलअनुसार परेवा चढाउने गरिन्छ । मन्दिरमा कुनै पनि किसिमको बली चढाउने प्रचलन भने छैन । विभिन्न धार्मिक पर्वसँगै दैनिकजस्तै आउने पर्यटक एवं भक्तजनले गर्ने दान तथा भेटीबाट वार्षिक २० लाख भन्दाबढी आम्दानी हुने गरेको र साउन महिनाको प्रत्येक सोमवारसहित अन्य दिनमा गरी सन्ध्या आरतीले धार्मिक क्षेत्रको महत्व बढाएको उनले बताए ।

एक महिनाको अवधिमा भक्तजनले चढाएको भेटीबाट राम्रै आम्दानी हुने गरेको स्मरण गराउँदै कोषाध्यक्ष श्रेष्ठले भने, ‘पछिल्ला दुई वर्षको अवधिमा दर्शनार्थीको कमीका कारण खासै आम्दानी भएको छैन । पछिल्लो करिब डेढवर्ष त मुलुकमा कोरोना महामारीका कारण आन्तरिक पर्यटकको पनि चहल पहल देखिँदैन भने बन्दाबन्दीका क्रममा त मन्दिर पनि बन्द नै भएको थियो ।’

सो धार्मिक क्षेत्रमा विशेषगरी नयाँ वर्ष, साउने संक्रान्तिसहित सोही महिनाको प्रत्येक सोमबार १ सय ८ पीपलका जलधारा, जीज भेला, कृष्ण जन्माष्टमी मेला, महाशिवरात्री, मातातीर्थ औँसी लगायतका विभिन्न पर्वमा भक्तजनको भीड लाग्ने गरेका सचिव श्रेष्ठले बताए । उनका अनुसार यहाँ विवाह, ब्रतवन्धलगायतका शुभकार्यसमेत हुने गरेको र सो अवसरमा स्थानीय कृषि उत्पादन, घरेलु सामग्रीको समेत बिक्री वितरण हुने गरेको छ ।

पोखरादेखि भौरहवा सिद्धार्थ राजमार्ग खण्डको सुगम स्थानमा अवस्थित सो क्षेत्रमा गाडी रोकेर यात्रुहरू उक्त शक्तिपीठको दर्शन गर्ने र चिया खाजा खाने एक किसिमको बिसौनीजस्तो स्थानको रूपमा पनि पछिल्लो समयमा विकसित भएको छ । यसरी यो स्थान धार्मिक एवं मनोरम दृष्यावलोकन गर्ने स्थलका रूपमा विकास हुनुको साथै स्थानीय व्यापारीहरूलाई आयआर्जनका रूपमा पनि सहयोग पुग्ने गरेको स्थानीय बताउँछन् ।

छायाँ क्षेत्र शिव मन्दिर परिसरको पश्चिम मागमा १ सय ८ जलधारासहितका शिवलिंग निर्माण गरिने भएको छ । आगन्तुक भक्तजन तथा पर्यटकको आकर्षण अभिवृद्धि गर्ने लक्ष्यका साथ छाङ्छाङ्दी झरनाको जलले स्नान गर्ने व्यवस्थाका साथ ६० लाखको लागतमा उक्त धारासहित शिवलिंग निर्माण गर्न लागिएको हो ।

उक्त धार्मिक क्षेत्रको भौतिक निर्माणका लागि सञ्चालित महायज्ञबाट ६० लाख रुपैयाँ संकलन भएको थियो भने जग्गा विस्तारका लागि ग्याविन भर्ने, पर्खाल निर्माण र सुविधा सम्पन्न शौचालय निर्माणका लागि नगरपालिका, भूसंरक्षण, सहरी विकास, निर्वाचन क्षेत्र पूर्वाधार विकासलगायत विभिन्न संघसंस्थाको साझेदारी कार्यक्रममार्पmत ७० लाख रुपैयाँ प्राप्त भएको समितिका सचिव श्रेष्ठले बताए ।

शिवलिंगसहित जलधारा निर्माणका लागि भक्तजनबाट आर्थिक संकलन गरिनेछ । जसमा एउटा धारा बराबर २५ हजारको हाराहारी खर्च लाग्ने समितिको अनुमान छ । अहिलेसम्म मुलुकका विभिन्न स्थान पुण्यभूमिको दर्शन गर्न आउने भक्तजनले आफ्नोे तर्पmबाट एकदेखि तीन वटासम्म धारा निर्माण गर्ने प्रतिवद्धता जनाइसकेका छन् । भक्तजनको प्रतिबद्धतासँंगै धार्मिक क्षेत्रको विकास निर्माणमा समितिलाई उत्साह थपेको छ ।

राजमार्गमा गुडिरहेका यातायातका साधनबाटै यात्रुले मन्दिर परिसर स्पष्ट देख्न सकिने गरी पहाड तथा रूख कटान गर्ने, पार्क निर्माण, तीर्थयात्रुका लागि आवास तथा भोजन गृह, पीठको स्थापना गरी यस क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक गन्तव्यका रूपमा विकास गर्ने, मठमन्दिर निर्माणका साथै आवश्यकताअनुसार खानेपानीको व्यवस्थासहित सुविधायुक्त आधुनिक शौचालयको निर्माण गर्ने समितिकाले दीर्घकालीन सोचअनुसार भौतिक विकासमा जोड दिएको छ ।

भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनालका अनुसार मन्दिरको डिपिआरका आधारमा भौतिक पूर्वाधार निर्माणका लागि दुई वर्षको अवधिमा प्रदेश सरकार, नगरपालिका र मन्दिर समितिको साझेदारी कार्यक्रमअन्तर्गत २ करोड २५ लाख रुपैयाँ लगानी भइसकेको छ । समितिले भक्तजनबाट मन्दिरमा चढाएको भेटी बैंक खातामा जम्मा गर्ने आवश्यक खर्च चेकमार्पmत गर्ने हुँदा आर्थिक पारदर्शिता रहेको उनले बताए । प्रदेश सरकारको नयाँ गन्तव्य स्थलमा समावेश गरेको यस क्षेत्रमा एकसय फिट अग्लो त्रिशूलसमेत निर्माण गर्ने तयारी गरेको उनले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय