सन्तानका खुसीका लागि आफूलाई रित्याउने आमा

अधिराज कार्की

आमाको मुख हेर्ने दिन मात्र देखावटी माया गरेर कहाँ पुग्छ ? अहिले हाम्रो देशमा पनि वृद्धाश्रमहरू खुल्दै छन । यो एक प्रकारको विकृति नै हो भन्ने लाग्छ । हाम्रो संस्कृतिको विरुद्ध पनि हो यो । परोपकार र समाजसेवा हाम्रा परम्परागत सांस्कृतिक स्वभाव नै हुन् । यसरी वृद्ध बा, आमालाई आश्रममा थन्क्याउनेले अनि केको समाजसेवाको ढोङ देखाउनु ? जुन व्यक्तिले आफ्ना बुढा बाआमाको सेवा गर्छ त्यसको जीवन नै सफल हुन्छ ।

दिदी १५ र म पाँच वर्ष हुँदा हामीले बाबा गुमायौँ । आठ वर्षअघि बाबा परमधाम जानु भएपछि हामी लालाबाला हुर्काउने जिम्मेवारी आमाको एक्लो काँधमा आयो । विधिको बिड्म्बना नै यस्तै रहेछ जुन अपूरिणीय क्षति हो । जीवन यात्रामा यस्ता कैयन् उकाली ओरालीहरू आउँछन् । समय नै यसको मल्हम रहेछ । समय बित्दै जाँदा घाउमा पनि खाटा बस्दै जाँदो रहेछ । हामीले यसलाई सहन र स्वीकार गर्नुभन्दा अर्को विकल्प नै के छ र ? बुबाको जिम्मेवारी पनि आमाले नै निर्वाह गर्दै आउनुभएको छ ।

आमालाई म मामु भन्छु, आमालाई जुन शब्दले पुकारे पनि संसारका सबै चीजभन्दा ‘मामु’ शब्द आत्मीय र प्रिय लाग्छ मलाई । सानैदेखि आमाले नै मामु भन्ने बानी बसाइदिनु भएकोले होला । हुन त सबै सन्तानहरूका लागि आमा उत्तिकै आदरणीय र मायालु हुन्छन । आज मातातीर्थ औँशीको दिन हो । यस दिनमा आमाको पूजागर्ने प्रचलन छ । वर्षको एक दिन मात्रै होइन हरेक दिन आमाको पूजा गर्नुपर्छ जस्तो लाग्छ मलाई । हाम्रो मामुले त बाबाको अभाव खड्किन दिनुभएकै छैन । बाबाको मुख हेर्ने औशीको दिनमा पनि हामी मामुलाई नै पूजा गर्छौं । मामुको अनुहारमा चिन्ता देखियो भने मलाई नरमाइलो लाग्छ । मामु खुसी हुँदा मलाई पनि औधी रमाइलो लाग्छ ।

जीवन भोग्ने क्रममा कम उमेरमै पति गुमाउनु पर्दाको बज्रपात त छँदैछ, मेरो मामुमाथि हाम्रो लालनपालनको एकल जिम्मेवारी आइलाग्यो । तर, मामु किञ्चित विचलित नभई बडो धैरतापूर्वक अवस्थालाई समाल्दै अगाडि बढिरहनुभएको रहेछ भन्ने महसुस मैले पनि गर्न थालेको छु । दिदीको एक वर्षअघि बिहे भएपछि हामी मामुछोरा मात्रै छौँ घरमा । मैले कक्षा ७ को फाइनल दिइसकेँ । हामीलाई हुर्काउन, पढाउन मामुले अथक प्रयास गर्नुभएको छ । म शब्दबाट वयान गर्न सक्दिनँ मामुको यो देनलाई समर्पणलाई । जति शब्द खर्च गरे पनि कम पर्छ । पेसाले सञ्चारकर्मी मेरो मामु (अञ्जु कार्की) को ड्युटी समय पनि कहिले बिहान, कहिले बेलुका हुन्थ्यो तर हामीलाई सबै आवश्यक कुराको राम्रो व्यवस्था मिलाउनु हुन्थ्यो । मामु सधँै मलाई खुसी बनाउन तल्लीन हुनहुन्छ र म पनि मामुलाई । मेरो खुसी र मेरो सफलताबाहेक मामुका लागि अर्को सपना छैनजस्तो लाग्छ । मैले मिहिनेत गरेर पढ्दा मामुलाई खुसी भएको देख्छु । म सानैदेखि मामुको भावनाहरूलाई बुझ्ने गर्छु । मामुलाई सकेसम्म दुःख दिदिनँ । आवश्यकताभन्दा बाहेक कहिलै मामुलाई खर्च गराउँदिनँ । एकअर्कालाई दुःख नै देखाउँदैनाँै यस्तै लुकामारी हुन्छ मामु र म वीच । म पनि ज्ञानी छोरो हुन खोज्छु । परिवारको दायित्व, मेलमिलाप, मद्दत मैले पनि बुझेको छु । म मामुलाई भान्छामा मद्दत गर्छु ।

मामु नै मेरो पहिलो शिक्षिका पनि हो । मातृत्व यस्तो बन्धन रहेछ जसको शब्द जति खर्च गरे पनि कम पर्दो रहेछ । मामु मेरो मार्गदर्शक, चुनौती, समस्याका समाधान कर्ता पनि हो । वास्तवमा भन्नुपर्दा मामु मेरो आधारस्तम्भ नै हो । मामु सधैँ मिहिनेती, सत्यवादी, सदाचारी, स्वस्थ्य, खुसी र अशल हुन सिकाउनु हुन्छ । यस्ता जीवनोपयोगी कुरा मामुबाट सिक्न पाउँदा आपूmलाई धन्य ठान्छु । हुन त संसारका सबै सन्तानहरूले मामुप्रति यसरी नै गर्व गर्लान् ।

जीवन जगतमै आमाको माया अपरम्पार छ । जीवजन्तु जनावरलेसमेत आफ्ना सन्तानप्रति आपूmभन्दा पनि बढी माया गर्छन् । हामी त विवेकशील प्राणी । निःस्वार्थ भावले आमाको हितका लागि समर्पित हुनु नै एउटा सच्चा सन्तानको कर्तव्य हुन्छ । आमाप्रति माया अत्यन्तै सङ्लो, स्वच्छ र पवित्र हुनुपर्छ । आमाको मुख हेर्ने दिन मात्र देखावटी माया गरेर कहाँ पुग्छ ? अहिले हाम्रो देशमा पनि वृद्धाश्रमहरू खुल्दै छन् । यो एक प्रकारको विकृती नै हो भन्ने लाग्छ । हाम्रो संस्कृतिको विरुद्ध पनि हो यो । परोपकार र समाजसेवा हाम्रा परम्परागत सांस्कृतिक स्वभाव नै हुन् । यसरी वृद्ध बा, आमालाई आश्रममा थन्क्याउनेले अनि केको समाजसेवाको ढोङ देखाउनु ? जुन व्यक्तिले आफ्ना बुढा बाआमाको सेवा गर्छ त्यसको जीवन नै सफल हुन्छ ।

परिवार समाज र राष्ट्र पनि कर्तब्य र अधिकारबाट बनेको हुन्छ । सन्तानको नाताले आमालाई आदर दिनु हाम्रो कर्तब्य हो । संसारभरिका मानिसहरूलाई मानवताले बाँधेको हुन्छ भने संसारभरिका आमाहरूलाई मातृभावले उनेको हुन्छ । जननीबिना जीवको अस्तित्व सम्भव हुँदैन । त्यसैले आज मातृ आमावश्याको दिन मेरी प्यारी आमालगायत आफ्ना छोराछोरीको उज्ज्वल भविष्यका लागि तत्पर रहेका संसारका हरेक कुनामा रहेका आमाहरूलाई मेरो अन्तरमनदेखि नमन । हरेक मानिसको जीवनमा केही न केही भूमिका खेलेका यी देवीहरूलाई आजको दिनमात्र नभइ हरदिन हरपल सम्मानसाथ र माया दिनु आवश्यक छ । जुन आमाको रगत हाम्रो शरीरमा बगिरहेको छ, उनीलाइ वर्षभरि दुःख दिएर आजको दिन भौतिकवादी उपहार दिनुभन्दा हरदिन आमालाई माया र सद्भावको उपहार दिनु वेस ।

उनै महान् आमाहरूलाई लक्षित गरेर बनाइएको आजको दिवसले हामीलाई हाम्रो जीवनमा रहेको आमाको अहं भूमिका र हाम्रो उहाँहरू प्रतिको व्यवहारलाई झक्झक्याउने काम गर्छ । आजको दिन हामी सबैजनाको जीवनमा रहेको आमाको भू्मिकाहरूलाई मध्यनजरमा राख्दै भित्री मनदेखि नै धन्यवाद !!

प्रतिक्रिया