संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक डाकेका छन् । परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहान बालुवाटारमा डाकेको बैठकमार्फत केही संवैधानिक नियुक्ति गर्ने चर्चापछि विपक्षी दलहरूले बैठक रोक्न माग गरेका छन् । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटाले नजाने जनाइसकेका छन् । परिषद्का सदस्य रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा भने बैठकमा जान्छन् या जादैनन् भन्ने चासो चौतर्फी बढेको छ । गत मङ्सिर ३० मा अध्यादेशमार्फत गरिएका नियुक्तिकाविरूद्धका मुद्दा प्रधानन्यायाधीश नेतृत्वकै संवैधानिक इजलासमा रहेपछि उनलाई बैठकमा नजान कानूनविदहरूले दबाब दिइरहेका छन् ।

सर्वोच्चमा विचाराधिन अवस्थामा रहेकै मुद्दा १७ पटकसम्म स्थगित भइरहँदा प्रधानन्यायाधीश बैठकमा सहभागी हुन नमिल्ने तर्क कानूनविदहरूले गरेका छन् । तर प्रधानन्यायाधीश निकट स्रोतका अनुसार उनी बैठकमा सहभागी हुने तयारीमा छन् । संविधानमा भएको व्यवस्थालाई बेवास्ता गर्न नमिल्ने तर्कसहित उनी बैठकमा सरिक हुन लागेको जनाइएको छ ।

परिषद्को अध्यक्षमा प्रधानमन्त्री र सदस्यहरुमा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश तथा प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् । बैठकमा गणपूरक सङ्ख्या पुग्न अध्यक्ष र अरु तीन सदस्य उपस्थित हुनै पर्छ । तर त्यसलाई परिवर्तन गरेर तीनजना मात्रै भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ ।

प्रतिक्रिया