सयौँ बिघा जग्गा भएको मन्दिरमा भोग लगाउने खर्च अभाव

महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरको नाममा सयौँ बिघा जमिन रहेको कागजले देखाउँछ । त्यसो भए पनि अहिले भने मन्दिरका लागि आवश्यक भोग लगाउने (प्रसाद बनाउने) समेत खर्च नरहेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । वास्तविकता भने यही हो । कुनै बेला चार वटा महापोखरी र २ सय ७५ बिघा जग्गाको मालिक रहेका जलेश्वर महादेवलाई अहिले पूजाआजा गर्ने खर्च जुटाउन तथा भोग (प्रसाद) को व्यवस्था गर्नसमेत अप्ठेरो परेको छ । यहाँका पुजारी र सरोकारवलाहरू त्यसै भन्छन् । अहिले जलेश्वरनाथको खर्च भिक्षा र भेटीको भरमा मात्र चलिरहेको उनीहरूको भनाइ छ । मन्दिरका पूजारी उपेन्द्र पाठकले भने, ‘लाजमर्दो अवस्था के छ भने, यति प्रसिद्ध जलेश्वरनाथको खर्च अहिले भेटीघाटीबाट धान्नुपरेको छ ।’

परापूर्व कालमा जलेश्वर घना जंगल रहेका बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेका थिए । त्यस समयमा स्यवं महादेवले बाबा जगदीशनाथलाई सपनामा दर्शन दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती छ । बाबा जगदीशनाथले त्यस बेला मन्दिर बनाउन भने निकै कठिन थियो । जंगलमा बाघ, भालु, हात्तीलगायतका जनावर रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न आउने अवस्था थिएन । त्यसपछि स्वयं रुद्र (महादेव) ले नै जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरिदिएकोे शिव महापूराणमा उल्लेख गरिएको छ ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी (भ¥याङ) मुनि जमिनभित्र रहेको छ जहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको ३ सय ६५ दिन जलमै विराजमान रहन्छन् । यस मन्दिरमा भगवान् शिवको शिवलिंग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा वास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।

यस मन्दिरमा महाशिवरात्री, साउन महिनाको प्रत्येक सोमबार (साउनी मेलाभरि) र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्ने गर्दछ र विशेष पूजाआजा र प्रत्यक्ष दर्शन हुने गर्दछ । मन्दिरको पानी बाहिर फालेर शिवलिंगको दर्शन गराउने चलन रहेकोमा यसभित्रको पानी मोटर वा दमकल लगाएर भने फाल्न सकिँदैन । यसका लागि धेरैले धेरैपटक प्रयास गरिसके पनि सकेका छैनन् । तर, मानव शक्तिले बाल्टिनको सहयोगमा पानी फालेमा मन्दिरको गुफा सुक्ने र भक्तजनले दर्शन गर्ने गर्दछ । यसरी पानी फालेर दर्शन गराएपछि पानी एकै छिनमा पुनः भरिने गर्दछ । त्यसैले पटकपटक पानी फ्याँकेर भक्तजनको दर्शन गराउने गरिन्छ ।

यस गुफासहितको मन्दिर जहाँ पानीमुनि महादेव विराजमान रहेको मन्दिर कहिले बनेको बारेमा कुनै प्रमाण छैन भन्ने स्वयं महादेवले नै निर्माण गरेको कुरा शिवपुराणमा उल्लेख छ । रुद्र (महादेव) स्वयंले गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै यस मन्दिर र महादेवको बारेमा प्रचारप्रसार गरे । बाबा महादेवको चौतर्फी चर्चा परिचर्चा गरेर प्रख्यात बनाउन भूमिका खेलेका जगदीशनाथ जीवनको अन्तिम कालमा बाबाको मन्दिरको ठीक सामुन्नेमा समाधी लिएका थिए । जसका कारण उनको सानो मन्दिर पनि जलेश्वरनाथको मन्दिरको सामुन्नेमा अझै पनि छन् ।

समयको कालखण्डसँगै नेपालमा शाहवंशीय राज्य भएको बेला बिक्रम सम्वत् १८६७ मा राजा गिर्वाणयुद्ध विक्रम शाहले महोत्तरीको तत्कालीन कञ्चनपुर गाउँस्थित जंगल (हाल रामगोपालपुर नगरपालिका–७) मा सिकार खेल्न आएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाको लागि २ सय ७५ बिघा जग्गा र चार वटा महापोखरी दान दिएको ताम्रपत्रमा उल्लेख छ । जसलाई मौजेको नाउँमा बुझ्न थालियो । मौजेको रुपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर मौजेलगायतका मौजेहरू पाएका थिए भने बरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरी जस्ता महापोखरीहरू पनि पाएका थिए । सोही मौजे र महापोखरीहरूबाट आएको आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, भगवान शिवको भोग, साधुसन्तको भण्डारा र आगन्तुकहरूको स्वागत सत्कार समेत हुनेगरेको थियो ।

त्यसबेला यस महादेव मन्दिरमा पूजाआजाको लागि द्वन्द्व गिरी नाउँका पूजारी रहेका थिए । उनले लामो समयसम्म बाबा जलेश्वरनाथको सेवा गरेका थिए । समय बित्दै जाँदा विसं १९९५ मा बडा हाकिम राम शमशेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठूल–ठूला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गरे । यस महामन्दिर निर्माण गर्न बडा हाकिम राम शमशेरलाई त्यस बेलाको २५ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्था लगायतका वस्तुहरूको प्रयोग गरिएको थियो । यस महामन्दिर निर्माणको बेला जलेश्वरनाथ महादेव मन्दिरको पूजारी राजनारायण गिरी थिए । बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात शिवको वास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहीआएको वर्तमान पूजारी उपेन्द्र पाठकले बताए ।

जलेश्वरनाथको महिमा तथा भलाइको गुणगान महोत्तरी, धनुषा, सिरहा, सर्लाही, सिन्धुलीलगायतका छिमेकी जिल्लासहित नेपालका विभिन्न ठूला साना सहर तथा गाउँ र राजधानी काठमाडौं समेतमा छ । यसका अतिरिक्त भारतको पटना, दरभंगा, मुजफ्फरपुर, सीतामढी, मधुबनीलगायतका सहरमा पनि जलेश्वरनाथको व्यापक चर्चा रहेको छ । सोही कारण उहिले र अहिले पनि उल्लिखित ती स्थानहरूबाट बर्सेनि बाबा जलेश्वरनाथको दर्शनका लागि हजारौँ धार्मिक पर्यटक आउने गर्छन् ।

प्रतिक्रिया