प्रधानमन्त्री ओलीको विश्वासको मत : कांग्रेसले नदिने, माओवादीले फिर्ता लियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते संसदको विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाउन सिफरिस गरे बमोजिम राष्ट्रपतिबाट वैठक आह्वान भइसकेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरे वा नगरे पनि उनै प्रधानमन्त्री भइरहने अंकगणितको हिसाव निकालिएको अवस्थामा मंगलबारदेखि राजनीतिले अर्को मोड लिने चर्चा चलेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सो निर्णय गरेको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । बैठकले संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा वर्तमान सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजको जनाउँदै आपत्तिसमेत जनाएको छ ।

कांग्रेसले संवैधानिक परिषद् सम्बन्धीलगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेको छ । यसैगरी सभापति देउवाले मंगलबारैै विज्ञप्ति जारी गरी संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा संसद्लाई छलेर सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको भनी आपत्तिजनक जनाएका छन् । ‘संवैधानिक परिषद् सम्बन्धीलगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको कांग्रेस घोर भत्र्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले मन्त्रिपरिषद्का सिफारिशमा प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सो प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

माओवादी केन्द्रको समर्थन फिर्ता
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धी निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । मंगलबारको बैठकले समर्थन फिर्ता लिएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । उनका अनुसार माओवादीले भोलि नै संसद् सचिवालयलाई पत्र बुझाउनेछ ।

 

सामूहिक राजीनामाको मुडमा खनाल–नेपाल पक्ष ! 
काठमाडौं । एमालेकै खनाल–नेपाल पक्ष भने वैशाख २७ अघिनै सामुहिक राजीनामा दिने मुडमा पुगेको छ । यसको एक मात्र मक्सद भनेको ओलीलाई सत्ताच्यूत गर्न र उनकै नेतृत्वमा चुनावमा जान नदिन विपक्षी गठबन्धनलाई बहुमतमा पु¥याइदिने । त्यसका लागि माधव नेपाल समूहका कम्तीमा २१ जना सांसदले सामूहिक राजीनामा दिनेबारे सोमबारदेखि सघन छलफल शुरू भएको एमालेका एक प्रभावशाली नेताले बताए । त्यो विकल्पमा जानुअघि ओलीसँग निर्णायक संवाद र शेरबहादुर देउवा तथा प्रचण्डसँग पनि छलफल हुने बताइन्छ । आफूहरूले विश्वासको मत दिए ओली सरकार जोगिने र नदिए पनि जसपाको एउटा पक्षको साथ पाएर ओलीले नै चुनाव गराउने परिस्थिति देखिएपछि माधव पक्षले तेस्रो विकल्पमाथि छलफल थालेको हो । त्यसो भयो भने वैशाख २७ अघि नै एमाले विभाजनको प्रक्रिया टुंगिनेछ ।

प्रतिक्रिया