असावधानीले दुर्गम गाउँमा कोरोना संक्रमण

पाँचथर । जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमबार आठ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भयो । यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो । निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा संक्रमण फैलिएको पाइएको हो । वैशाख ११ गते यहाँका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापू गाविस–१ नाम्रेक आएका थिए ।

याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुंगेलका अनुसार चौरासीको पूजा सबैले खुसीसाथ मनाए । भोलिपल्टबाट आ–आफ्नो बाटो लाग्न थाले । यहाँ पूजाको आयोजना गरेका स्थानीयवासी र झापा फर्किसकेका आफन्त सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गराइयो । ‘उहाँहरू तल (झापा) झरेर परीक्षण गराउँदा कोभिड–१९ को रिपोर्ट पोजेटिभ देखियो’, वडाध्यक्ष ढुंगेलले भने, ‘पाहुना आएकाहरूमा संक्रमण देखिएपछि यहाँका आफन्तलाई बाहिरफेर ननिस्कन भनेका थियौँ । हिजो एन्टिजेन परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भयो ।’

यहाँका संक्रमितलाई ज्वरो आइरहेको र होमआइसोलेसनमा बस्न भनिएको वडाध्यक्ष ढुंगेलले बताए । ‘गाउँपालिका अध्यक्षसँग परामर्श गरेर कसरी राख्ने भन्ने निक्र्यौल गर्छौं’, उनले भने । चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई स्वास्थ्य समस्या बढी भएको पाइएको वडाध्यक्ष ढुंगेलले बताए । ‘पूजा लगाउने व्यक्तिले श्वास फेर्न समस्या भएको बताउनुभएकाले अस्पताल लैजाने तयारी गरेका छौँ’, ढुंगेलले भने ।

यता सदरमुकाम फिदिममा सोमबार १५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड–१९ संक्रमण भेटिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । आइतबार फिदिममै एक कर्मचारी र एक सैनिकमा संक्रमण भेटिएको थियो । मंगलबार बिहानसम्म जिल्लामा कुल संक्रमितको संख्या ११ पुगेको सुवेदीको भनाइ छ । जिल्लामा अरू पनि संक्रमित भए पनि बाहिर, निजी प्रयोगशालामा परीक्षण गराएकाहरूको रेकर्ड स्वास्थ्य कार्यालयसँग नहुने सुवेदीले बताए ।

प्रतिक्रिया