बुटवलमा अक्सिजन बैंक स्थापना, निःशुल्क सेवा दिइने

बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितको लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा शुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वास प्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन सहितको सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो ।

अक्सिजन बैंकको आज उपमहानगरपालिका परिसरमा नगर प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ सेवा उपलब्ध गराउनेगरि व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

उपमहानगरपालिकाले यसअघि संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै पुग्ने गरेका छन् । कोरोनको दोस्रो लहर फैलिएपछि अहिले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पुर्याउने गरि नयाँ व्यवस्था गरिएको छ । एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ ।

बुटवलका अस्पतालमा आइसियू श्यया अभाव भई संक्रमितको ज्यान गएका खबर निरन्तर आउन थालेपछि उपमहानगरले अक्सिजन बैंकको शुरुआत गरेको हो । कोरोनाको दोस्रो लहरमा संक्रमितलाई आइसियू श्यया चाहिने र अक्सिजन थेरापीको खाँचो परेको छ । अक्सिजनसहितको आइसियू श्यया अभावकका कारण बुटवलमा कतिपय संक्रमितको ज्यान गएपछि उपमहानगरले अक्सिजन अभावमा ज्यान जानुपर्ने बाध्यतामा रहेकालाई लक्षित गरेर मुलुकमै नौलो कार्यक्रमको शुरुआत गरेको छ ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाइने छ ।

उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिण्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए ।

यस्तै उपमहानगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन आग्रह गरेको छ । होम आइसोलेशनमा बसेकाहरुले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील गरेको छ । संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिण्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको उनले बताए ।

उपमहानगरपालिकाले संक्रमितको परिवार तथा समुदायमा कन्ट्रयाक ट्रेसिङ गर्ने र लक्षण देखिए निःशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको छ । १९ वटै वडा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षण गरिने छ ।

संक्रमितहरुका लागि सवारी साधनको आवश्यक परेमा होल्डिङ सेन्टरसम्म र आइसोलेशनदेखि आपतकालिन सेवा प्रदान गर्ने स्थलसम्म पुर्याउन सवारी साधनको समेत व्यवस्था मिलाइएको प्रवक्ता रेग्मीले बताए । यी सबै कामका लागि फोलक पर्सनसमेत तोकिएको छ ।

प्रतिक्रिया