डेभलपमेन्ट बैकर्सद्धारा सजकता अपनाउन निर्देशन

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले विकास बैंकलाई कोरोना महामारीविरुद्ध आवश्यक सजकता अपनाउन निर्देशन दिएको छ । सरकारसँगै राष्ट्र बैंकले विभिन्न समयमा बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना विरुद्ध पालना गर्नुपर्न निर्देशन दिएपछि बैकर्स संघले पनि सोमबार बिकास बैकहरुलाई सजकता अपनाउन निर्देशन दिएको हो । एसोसिएसनले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अक्षरश पालना गर्न र कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर संक्रमण फैलिन नदिन हरसम्भव प्रयास गर्न भनेको छ । निषेधाज्ञा जारी भएका स्थानमा प्रत्येक सदस्य बैंकले सेवा प्रवाह, सुरक्षा रणनीतिसम्बन्धि योजना तयार गर्ने र ती योजना सदस्य बैंकहरुबीच समन्वयका लागि आदान प्रदान गर्न एसोसिएसनले भनेको छ ।

सेवा प्रदान गर्न खोलिने शाखा तथा वैकल्पिक शाखाहरुको सूची बैंकिङ समय समेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेबसाइट र शाखाका मूल ढोकामा टाँस्नसमेत एसोसिएसनले सदस्य बैंकहरुलाई निर्देशन दिएको छ । सदस्य बैंकले प्रधान कार्यालयमा दुईजना वरिष्ठ पदाधिकारीलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीको नाम, मोबाइल नं.इमेल आदि एसोसियसनको सचिवालयलाई उपलब्ध गराउन आग्रह गरेको छ । यो संगै डिजिटल बैंकिङबाट बैंकिङ कारोबार गर्न ग्राहकलाई उत्प्रेरित गर्ने र आवश्यक जानकारी सञ्चारमाध्यमबाट प्रवाह गराउन एसोसिएसनले भनेको छ । एसोसिएसनले डिजिटल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई यसको प्रयोग गर्न पनि अपिल गरेको छ ।

प्रतिक्रिया