कोरोना दोस्रो लहरको त्रास

बाग्लुङ बजारमा सावारी साधनको चाप पछिल्ला दिनहरूमा घटेको छैन । बजारमा मान्छेको भिड पनि त्यत्तिकै देखिन्छ । व्यापार व्यवसाय गर्नेहरू र उपभोक्तालाई हेर्दा उनीहरूमा महामारीको डर नभए झैँ हुन्छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएका थोरै मात्र भेटिन्छन् । अहिले पनि यहाँको दैनिकी निकै व्यस्त र सामान्यजस्तै छ । बागलुङ बजार मात्रै होइन यहाँका स्थानीय बजार र गाउँहरूमा जमघट, भेटघाटहरू घटेका छैनन् । झ्यामझ्याम बाजा बजाएर सय जनाभन्दा बढीको संख्या जन्ती देखिन्छन् विवाहमा । बजार र गाउँ गर्दै विवाहका लगन छोप्नेहरूको तँछाडमछाड पनि छँदै छ । नेपाल सरकार र स्थानीय प्रशासनले भिड नगर्न, स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिरहेका भए पनि ती आग्रहहरू सार्वजनिक सूचनामा मात्र सीमित छ ।

कोरोनाको दोस्रो लहर ‘युके भेरिएन्ट’ तीव्र गतिमा फैलिएका समाचारहरू देशका विभिन्न जिल्लाबाट आउन थालेका छन् । पछिल्लो समयको अवस्था हेर्दा यो पछिल्लो भेरिएन्टको सिकार बालबालिका भइरहेका छन् । अहिले देशमा कोरोना भाइरसको दोस्रो लहर आएको भनिएको छ र यसमा नयाँ प्रजाति ‘युके भेरियन्ट’ फैलिने क्रम तीव्र छ । पछिल्लो समय गण्डकी प्रदेशका बालबालिकामा कोरोना संक्रमण फैलिइरहेको छ । युके भेरियन्ट बालबालिका उच्च जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले बताए । ‘पहिले बिरामी, वृद्धवृद्धा बढी जोखिममा थिए तर अहिले सबैभन्दा मारमा बालबालिका छन् । त्यसमध्ये पनि ११ वर्ष मुनिका बालबालिका बढी जोखिममा छन्,’ उनले भने ।

गण्डकीमा सोमबारसम्म १ सय ७४ जनामा युके भेरियन्ट पुष्टि भएको थियो । त्यसमध्ये १ सय ४ जना बालबालिका रहेको डा. शर्माले बताए । युके भेरियन्ट लक्षणसहितको कोरोना ग्राफ फैलिइरहेको अवस्थामा पहिलो चरणको कोरोना फैलँदा कोरोनाको ‘हटस्पट’ का रूपमा चर्चा पाएको बागलुङ दोस्रो लहरमा पनि अलग रहन सकेको छैन । केही दिनअघि बागलुङमा कोरोनाका १ सय ४८ जना सक्रिय संक्रमित थिए । तर, अस्पतालमा भने दुई÷चार जना मात्रै छन् । संक्रमित देखिएका क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाइएको छैन । अधिकांश संक्रमित घरघरमै बसेका छन् । होम आइसोलेसनमा बसेकाले नियम तथा मापदण्ड पूरा गरेका छन् वा छैनन् त्यो शंकास्पद छ । उनीहरूले सामान्य मापदण्ड पूरा नगरेको खण्डमा बागलुङ कोरोनाको हटस्पट बन्न सक्ने खतरा झन् बढेको छ । तीन महिनासम्म झण्डै शून्य संक्रमित बनेको बागलुङको समुदाय र विद्यालय तहमा संक्रमण देखिएपछि आइतबारबाट विद्यालय बन्द भए । यस अघिको दुई साताको लापरवाहीले संक्रमणको दर बढेको हो । विदेशबाट आएकादेखि संक्रमित भएकाले गर्ने लापरवाही नै यसपटकको समस्याको कारण भएको स्वास्थ्यकर्मीले बताए ।

यसपटक बागलुङ नगरपालिका–१४ को जनताधन मावि सबैभन्दा बढी प्रभावित भयो । आइतबार मात्रै बलेवाकै पैयुँपाटामा १३ जनामा संक्रमण देखियो । जसमध्ये बालबालिका पनि छन् । विद्यालयसम्म संक्रमण प्रवेश गर्नुमा विदेशबाट आएका र विद्यालयका शिक्षकको लापरवाहीजस्तो देखिएको छ । उनीहरूले समयमै सतर्कता नअपनाएपछि संक्रमण बढेको हो । तर त्योभन्दा पहिला बागलुङ नगरपालिकाको वेवास्ता प्रमुख कारण भएको टिप्प्णी हुन थालेको छ । ‘समयमै विद्यालय बन्द गराउन सकेको भए यतिधेरै समस्या आउने थिएन’ वडा–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘आन्तरिक रूपमा वडाभित्रको व्यवस्थापनमा पनि लाग्न सकिएन ।’ हरेक वडाले विदेशबाट आएका तथा वडाभित्र कोही संक्रमण भइहालेमा स्वास्थ्य मापदण्ड पालना गराउन पहल गर्ने विषय कमजोर भएको उनले बताए ।

संक्रमण देखिएपछि बलेवा क्षेत्रका तीन वटा वडालाई निषेधाज्ञा लगाइएको छ । सबैको चासोपछि बलेवामा ‘लकडाउन’ गराएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । स्वाब परीक्षणका लागि पठाएपछि दुई दिनसम्म विद्यालय नियमित खुलेकोले बाँकी विद्यार्थी, उनीहरूको घर परिवार र छिमेकीलाई संक्रमण बढेको थियो । स्वास्थ्य कार्यालय बागलुङले बलेवासहित नगरपालिकाका शंकास्पद क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन कार्य थालिसकेको कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

संक्रमित राख्नका लागि धवलागिरि अस्पतालमा २५ बेड आइसोलेसन छ । तर, अस्पतालमा पनि पूरै शय्यामा संक्रमित छैनन् । घरघरमा बस्ने व्यवस्थाले केही सहज भए पनि मापदण्ड पालनामा भने लापरवाही हुन सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए । ‘घरघरमा बस्नेले सुरक्षा मापदण्ड पालना अनिवार्य गर्नुपर्छ ।’ पछिल्लो समय धमाधम भारतबाट आउनेको संख्या बढेको छ तर त्यसरी आउनेलाइ राख्न क्वारेन्टिन छैनन् । आएकाले पनि थाहै नदिई घरघरमा पुग्ने गरेपछि समुदायमा संक्रमण पुगेको हो । अघिल्लो वर्ष सयौँ मानिस राख्न सक्ने क्वारेन्टिन बनाएका संस्था र स्थानीयतहले अहिले वास्तै नगरेका हुन् । बिरामीको संख्या बढेमा के गर्ने भन्ने अस्पताल, नगरपालिका र स्वास्थ्य कार्यालयमा योजना बनेको छैन ।

चैतेदसैँमा बागलुङमा लाग्ने मेलामा हजारौँलाई रोक नलगाएको प्रशासनले भने मठमन्दिरमा त्यसपछि रोक लगाएको छ । ‘जोखिमको दिन केही वास्ता भएन, आज छिटफुट आउने भक्तजन रोकेर के होला र ?’ बागलुङ नगरपालिका–२ की डिलकुमारी पुनले भनिन्, ‘सर्वसाधारणलाई निषेध गर्ने, सरकारी गाडीमा आउनेलाई वास्तै छैन ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० दिनअघि नै बागलुङलाई उच्च जोखिमको जिल्ला मानेको थियो ।

त्यतिबेला यहाँको एक प्राविधिक शिक्षालयमा पढ्ने विद्यार्थी, केही सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीसमेत करिब ५० जना जति संक्रमित थिए । अहिले देखिएका सक्रिय संक्रमित पनि एक÷दुई जना बाहिरका छन्, बाँकी सबै बागलुङ नगरपालिका भित्रका मात्रै हुन् । उनीहरूमध्ये अधिकांश अहिले पनि घरघरमै छन् । ‘बालबालिका मात्रै संक्रमित भएकाले कोठाभित्रै राखिएको छ’ अभिभावकहरू भन्छन्, ‘सदरमुकामको अस्पताल पु¥याएर उनीहरू झन आत्तिन्छन् ।’ बलेवाका अधिकांश बालबालिकामा रुघाखोकी र सामान्य ज्वरो छ । जटिल समस्या भएमा अस्पताल पठाउनेगरी घरघरमै सुरक्षित बस्न भनिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

मन्त्रिपरिषद्ले विद्यालय बन्दको निर्णय नमान्दा जोखिम अझै बढेको अभिभावकले बताए । विद्यालय बन्द नगरेपछि जवर्जस्ती बालबालिका पठाउनु परेको स्थानीय सगुन लामिछानेले गुनासो गरिन् । बागलुङ नगरशिक्षा अधिकारी डण्डपाणी शर्माले पहिलो चरणमा जोखिम नदेखिएकोले खोलेको र जोखिम देखिएपछि बन्द गराएको बताए । शैक्षिक सत्रको सुरुआतमा पनि धेरै पढाइ छुटेकोले बन्द गर्न नखोजेको उनले बताए ।

कोरोनाको महामारी सुरु हुँदा विदेशबाट आउनेहरूका कारण बागलुङ सबैभन्दा बढी प्रभावित भएको थियो । दोस्रो लहरमा पनि भारतबाट आउनेहरूका कारण जोखिम बढेको बलेवाका एक स्थानीयले बताए । ‘भारतबाट आएकाहरूले सावधानी नअपनाउँदा हाम्रा बालबालिका संक्रमणमा परे’ ती स्थानीयले भने ‘लाहुरेहरूको शिक्षकसँगको हिमचिम र शिक्षकहरूमार्फत् वालबालिकामा संक्रमण पुग्यो ।’ पहिलो लरहका बेला जिल्लाभर एक जना मात्रै संक्रमित हुँदा सिमानामा स्वयंसेवक खटाएर आवतजावत बन्द गरेका यहाँका स्थानीय तहले अहिले कुनै खालको तयारी र सजगता अपनाएको पाइएको छैन । पहिलेको जस्तो अवस्था नरहेको र सीमामा कडाइ गर्दा विकास र अर्थतन्त्रमा असर गर्ने स्थानीय सरकार प्रमुखहरू बताउँछन् ।

प्रतिक्रिया