नेपालगञ्ज । कोरोना संक्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुन पुगेका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्य रूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिए । उनका अनुसार यही वैशाख १ देखि आजसम्म ७३ स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नर्सिङ स्टाफ ३३, चिकित्सक आठ, प्यारामेडिक्स आठ, सहायक कर्मचारी २२ र प्रशासनसँग आबद्ध दुई गरी अहिलेसम्म ७३ जना संक्रमित भएका छन् ।
कैयौँ नर्सिङ स्टाफ संक्रमित भएर पनि आफूजस्तै संक्रमितको उपचारमा खटिएका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिएका सबै कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ । भेरी अस्पतालमा जनशक्तिको कमी हुँदा संक्रमित स्वास्थ्यकर्मी पनि उपचारमा खटिनुपरेको हो । करिब १० स्टाफ नर्स आफँै संक्रमित भएर पनि अरू बिरामीको उपचारमा खटिएको अस्पतालका प्रमुख डा.थापाको भनाइ छ ।
सो अस्पतालमा कोरोना बिरामीका लागि १ सय ४२ शय्या छुट्याइएकामा संक्रमितको चापसँगै त्यसलाई बढाइएको छ । अहिले भेरीमा २ सय १२ बिरामी छन् । शय्या बढ्दै जाने, स्वास्थ्यकर्मी नबढ्ने र भएका पनि संक्रमित भएपछि समस्या भएको छ । पाँच स्टाफ नर्सले सय जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । उनका अनुसार दुई दिनअघि भेरीले जनशक्ति करारमा नियुक्ति गर्ने अधिकार पाएको छ । अस्पतालले ६० कर्मचारी आह्वान गरेको छ । अस्पतालले एनेस्थेसियोलोजिस्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन पाँच र स्टाफ नर्स ४० जना करारमा माग गरेको छ ।
यसै क्रममा बाँकेमा कोरोना संक्रमणका कारण सयभन्दा बढीको ज्यान गएको छ । कोरोना संक्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन् । बुधबार राती ९ देखि बिहान ५ः३० बजेसम्मको अवधिमा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा गरी ६ संक्रमितको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार यही १२ वैशाखमा पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि १५ वैशाखमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी ५८ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको थियो । यसैगरी भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–४ निवासी ६० वर्षीय पुरुष र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिलाको पनि मृत्यु भएको थियोे । यसैगरी नेपालगञ्ज–९ निवासी ४२ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका–८ निवासी ३२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । पछिल्लोपटक शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज–५ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १ सय ९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया