‘अजम्मरी अक्षरहरू’ विमोचन

काठमाडौं । साहित्यकार महेशबाबु तिमल्सिनाद्वारा लिखित कविता संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक भएको छ । राजधानीमा कविद्वय गोपाल पराजुली र दिनेश अधिकारीले एक कार्यक्रमबीच उक्त संग्रहको विमोचन गरे । डा.नवराज लम्साल, साहित्यकार महेश पौड्याल, प्रा.डा.लक्ष्मण गौतम लगायतको उपस्थिति रहेको कार्यक्रममा संग्रहभित्रका कविता वाचन गरिएको थियो । सो अवसरमा कवितामाथि बनाइएको भिडियोसमेत प्रदर्शन गरियो ।

कार्यक्रममा लेखक महेशबाबुको शब्द तथा गायक रामकृष्ण ढकालको स्वर रहेको गीतको भिडियोसमेत सार्वजनिक गरियो । अजर जंगमले संगीत भरेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । पुस्तक विमोचनपछि वक्ताले कविता संग्रहमा विश्वबोध, युगबोध र समाजबोधका बाछिटा महशुस गर्न सकिने विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा कवि डा.नवराज लम्सालले सर्जकको पहिचान पृथकतामा हुने बताउँदै कविको रुपमा महेशबाबुका कवितामा बेग्लै शिल्प र शैली रहेको धारणा व्यक्त गरे । उनले कविताले समकालीन विश्व परिवेश र परिदृश्यलाई कलात्मक चित्रण गरेको जिकिर गरे । कवि महेशबाबुले आफूले सरल भाषामा मनका भाव व्यक्त गर्ने प्रयास गरेको बताए ।

उनले ती भाव कविता हुन् कि होइनन् भनेर निक्र्योल गर्ने काम पाठकको जिम्मामा छाडेको जनाउँदै कविताले सकेसम्म समाज र समयको आवाजलाई प्रकट गरेका सुनाए । कार्यक्रममा बाबु त्रिपाठी, तुलसी आचार्य, भोजराज न्यौपाने, ज्योति जंगलले संग्रहभित्रका कविता वाचन गरेका थिए । नेपालीमा लेखिएका कवितालाई मुक्तिनाथ घिमिरेले अनुवाद गरेका हुन् । दुई खण्डमा संग्रहित कविता संग्रहलाई कंगारु क्रिएसन्सले प्रकाशन गरेको हो ।

प्रतिक्रिया