नेदरल्याण्डद्वारा नेपाल पराजित

काठमाडौं । मध्यक्रमका ब्याट्सम्यान बास डी लिडले उत्कृष्ट प्रदर्शन गरेपछि नेदरल्यान्ड्सले त्रिकोणात्मक टि- २० आई सिरिजमा घरेलु टोली नेपालमाथि ३ विकेटको सानदार जित निकालेको छ । जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्ड्सका बास डी लिडले ४२ बलमा ७ चौका र ५ छक्का सहित ८१ रन अविजित रहँदै टोलीलाई सानदार जित दिलाए । यो नेदरल्यान्ड्सले आफ्नो टि२० आई इतिहासकै सर्वाधिक विशाल लक्ष्य पूरा(चेश) गरेको हो । बेन कुपर ३५ बलमा १० चौका सहित ५५ रनमा क्याच आउट भए ।

दोस्रो ओभरको तेस्रो बलमा ओपनर म्याक्स ओडाउडलाई ९ रनमा स्पिनर सन्दीप लामिछानेले एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । छैटौं ओभरको तेस्रो बलमा सन्दीपलेनै टोबियस भिसेलाई १५ रनमा विकेटविकर विनोद भण्डारीबाट स्टम्पिङ आउट गराउँदै दोस्रो सफलता दिलाएका थिए ।

तर, तेस्रो विकेटका लागि लिड र कुपरले ६८ रनको साझेदारी गर्दै नेपाललाई चुनौती दिएको थियो । कप्तान पिटर शिलारले १५ बलमा १ चौका र ३ छक्का सहित ३१ रनमा क्याच आउट भए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चेर ४ विकेट लिए । नेपालका करण केसी, कुशल मल्ल र अभिनाश बोहराले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । नेपालले टि२० आईमा दोस्रो पटक २ सयमाथिको योगफल बनाएको हो । यसअघि नेपालले गतवर्ष टियुमै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । जुन नेपालले टि२० आईमा बनाएको सर्वाधिक ठूलो योगफलमा पर्छ ।

नेपालका ओपनर कुशल भुर्तेल ४६ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६२ रनको योगदान दिए । कुशल भुर्तेलले लगातार तीन अर्धशतक प्रहार गरे । कुशलले १३ औं ओभरको अन्तिम बलमा स्पिनर आर्यन दत्तलाई छक्का साथ ४१ बलमा अर्धशतक पूरा गरेका थिए ।
उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३० बलमा ३ चौका र ५ छक्का सहित आक्रामक ६० रनको योगदान दिए ।

दीपेन्द्रले २८ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । १६ औं ओभरको पहिलो बलमा दीपेन्द्रले कप्तान पिटर शिलारलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । दोस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर भिभिन किंगमाको बलमा आसिफ मिडअनमा बेन कुपर बाट शून्यमा क्याच आउट हुन पुगेका थिए । यस अघि आसिफ र कुशल भुर्तेलले लगातार दुई शतकीय साझेदारी गरेका थिए ।

दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ४३ रनको साझेदारी गरेका थिए । कप्तान तथा स्पिनर पिटर सिलारको बलमा ठूलो सट खेलेका ज्ञानेन्द्र डीप मिडविकेटमा बास डी लिडबाट २० रनमा क्याच आउट हुन पुगेका थिए । ज्ञानेन्द्रले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । तेस्रो विकेटका लागि दीपेन्द्र र कुशल भुर्तेलले ७८ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल बनाएको हो ।

कुशल मल्ल ७ बलमा ३ छक्का सहित १८ रनमा क्याच आउट भए । सोमपाल कामी १३ बलमा २ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे । विनोद भण्डारी ७ रनमा अविजित रहे । कप्तान पिटर शिलारले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । भिभिन किंग्माले ओभरमा रन खर्चेर विकेट लिए । आर्यन दत्त र बास डी लिडले १–१ विकेट लिए । फाइनल वैशाख ११ मा हुने छ ।

प्रतिक्रिया